वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डेभिड फ्राटेसीको गोलमा इन्टर मिलानले यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
गएराति भएको क्वार्टरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखलाई २–१ ले पराजित गर्दै इन्टर मिलानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो।
खेलको ३८ औँ मिनेटमा लाउटारो मार्टिनेजको गोलमा इन्टरले सुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफमा १–० ले पछि परेको बायर्नले दोस्रो हाफमा पुनरागमनको राम्रो अवसर बनाएको थियो। खेलको ८५ औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थोमस मुलरले गोल गर्दै बायर्नलाई बराबरीमा ल्याएका थिए।
तर खेलको ८८ औँ मिनेटमा फ्राटेसीको गोलमा इन्टरले २–१ को अग्रता बनायो।
इन्टरविरुद्धको हारसँगै बायर्नले च्याम्पियन्स लिगमा २२ खेलको अपराजित यात्रा पनि समाप्त गरेको छ। बायर्नले सन् २०२१ देखि घरेलु मैदानमा हार भोगेको थिएन।
क्वार्टरफाइनलको दोस्रो लेग १६ अप्रिलमा सान सिरोमा हुनेछ। यो खेलको विजेताले सेमिफाइनलमा बार्सिलोना वा बोरुसिया डर्टमन्डसँग खेल्नेछ।
Shares

प्रतिक्रिया