खेल


१० खेलाडीमा सीमित बुटवलले झापालाई बराबरीमा रोक्यो (तस्बिर)

१० खेलाडीमा सीमित बुटवलले झापालाई बराबरीमा रोक्यो (तस्बिर)

सरोज नेपाल
चैत १७, २०८१ आइतबार २०:५३, काठमाडौँ

१० खेलाडीमा सीमित बुटवल लुम्बिनी एफसीलाई हराउँदै झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा सुखद सुरुआत गर्ने अवसर गुमाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा झापाले आइतबार बुटवलसँग गोलरहित बराबरीमा खेल्दै अंक बाँडेको हो। कप्तान इरिक बिष्टले रातो कार्ड बेहोरेपछि बुटवल अन्तिम २० मिनेट १० खेलाडीमा सीमित भएको थियो। तर, झापाले त्यसको फाइदा लिन सकेन। एक खेलाडी कम भए पनि बुटवलले महत्त्वपूर्ण एक अंक प्राप्त गर्यो। 

गत सिजनको भेटमा झापाले बुटवललाई हराएको थियो। यस सिजन भने झापाले त्यो लय जारी राख्न सकेन। यद्यपि, झापाले खेल अवधिभर दबाब राखे पनि बुटवलको डिफेन्स तोड्न भने असफल भयो। यससँगै यस सिजनको पहिलो दुई खेलमा नै बराबरीको नतिजा निस्कियो। पहिलो खेलमा ललितपुर सिटी र काठमाडौं रेजर्सले २–२ को बराबरीमा सकिएको थियो।  

खेलको आठौँ मिनेटमा झापाले पहिलो आक्रमण बन्यो। तर, बुटवलका गोलकिपर दीप कार्कीले अलहाजी गेरोको गोल गर्ने प्रयास असफल बनाए। रितिक खड्काको थ्रु बललाई अलहाजीले १२ यार्डबाट गरेको सशक्त प्रहार दीपले असफल बनाए। 

फेरि, झापाले १३औँ मिनेटमा गरेको अर्को उत्कृष्ट अवसरलाई पनि दीपले नै पन्च गर्दै असफल पारे। इसाइभ मुखामदले पेनाल्टीबक्स बाहिरबाट गरेको उत्कृष्ट लेफ्ट फुटेट सटलाई दीपले पन्च गर्दै बाहिर पठाइदिए। झापाले एकपछि अर्को आक्रामण बुनेपछि लुम्बिनीका गोलकिपर दीप निकै ब्यस्त रहे। उनले २३औं मिनेटमा झापाका इरसिक लाजारको लामो दूरीबाट गरेको सशक्त प्रहार पनि सफल हुन दिएनन्।

३१औँ मिनेटमा बुटवलले फ्रिकिकमार्फत आक्रामण बुन्यो। तर, इजेकिइल तामाराले करिब २५ यार्डबाट गरेको फ्रिकिक पोस्टभन्दा माथिबाट बाहिरिन पुग्यो। ३६औँ मिनेटमा रितिकको नजिकै दूरीबाट गरेको सट पनि असफल हुँदा झापा अग्रता लिनबाट चुक्यो। त्यसको दुई मिनेटपछि बुटवलको गोल गर्ने सुन्दर अवसर सदुपयोग हुन सकेन। 

मध्यभागबाट प्रदीप लामाको लामो पास नियन्त्रणमा लिँदै फिलिप एडजाहले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार झापाका गोलकिपर नेमान्जा लेमाजिचले मुस्किलले रोके। नेमान्जाले बल फुत्काए पनि झापाका लागि चुनौती भने भएन।

पहिलो हाफको थप समयमा पनि झापाको फ्रिकिक सफल भएन र गोलरहित बराबरी भयो। दोस्रो हाफमा दुवै तर्फबाट खासै राम्रो खेल हुन सकेन। ७०औँ मिनेटमा कप्तान एरिक बिष्टले रातो कार्ड सामना गरेपछि बुटवल १० खेलाडीमा सीमित भयो। एरिकले झापाका इसाइभलाई लडाएपछि दोस्रो पहेँलो कार्ड सामना गरेका हुन्। ८९औँ मिनेटमा इसाइभले हेड गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन्। 

त्यसपछि केही आक्रमण बुने पनि गोल भएन र खेल गोलरहित बराबरीमा नै सकियो। उद्घाटन खेलमा पनि ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्सले २–२ को बराबरी खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad