अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार घरेलु टोली नेपाल र म्यानमार भिड्दैछन्। काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ।
खेलअघि नेपाली टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाले घरेलु मैदान र घरेलु दर्शकको अगाडि केही दबाबमा रहेको बताइन्। नेपाली समर्थकको अघि समयमा नै गोल नआउँदा मैदानमा टोली दबाबमा हुने बताएकी हुन्।
घरेलु मैदानमा केही दबाब हुने तर उत्साहित भएको उनको भनाइ छ। फाइनलअघिको खेलमा टोलीमा 'फाइटिङ स्प्रिट' देखिएकाले प्रशिक्षणको रणनीतिअनुसार खेल्ने साम्बाले सुनाएकी छन्।
प्रशिक्षणमा व्यवसायिक लिगका लागि बाहिर रहेका तीन खेलाडीलाई प्रशिक्षकले अन्य टोलीसँग घुलमिल हुन सहज वातावरण बनाएकाले पनि सहज भएको उनको अनुभव छ।
फाइनलअघि समर्थकलाई सन्देश दिँदै साम्बाले भनिन्, 'हिजोको दिनसम्म जति नै सपोर्ट गरिदिनु भयो त्यसका लागि हामी ऋणी छौँ। अब एक स्टेप र ए चुनौती छ। यहाँ हुनेले हामीलाई आएर सहयोग गरिदिनुहोस् देश बाहिर र उपत्यका बाहिर हुनेले सामाजिक सञ्जालबाट हेरिदिनु होला तपाइहरूको खुसीका लागि नै हामी लड्नेछौँ।'
समूह चरणमा अपराजित रहेका नेपाल र म्यानमार दुवैको नजर उपाधिमाथि छ। घरेलु मैदानमा लगातार दोस्रोपटक फाइनल खेल्न लागेको नेपाली टोली उपाधिका लागि मैदान उत्रँदैछ।
बलियो टोली म्यानमारको चुनौती पन्छाउँदै महिला टोली नेपाली समर्थकलाई उपाधिको खुसी दिन चाहान्छ। उता म्यानमार पनि नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्दै उपाधि जित्ने रणनीतिमा छ। नेपालविरुद्ध पहिलो खेलमा आफ्ना मुख्य खेलाडीलाई विश्राम दिएको म्यानमारले बुधबार बलियो टोली मैदान उतार्नेछ।
फाइनलअघि समूह चरणको अन्तिम खेलमा दुवै टोलीले २–२ को बराबरी गर्दै अंक बाँडेका थिए। म्यानमार समूहको विजेता र नेपाल उपविजेता हुँदै फाइनल पुगेको हो।
Shares

प्रतिक्रिया