खेल


अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि एन्जिलाको कप्तानीमा २३ खेलाडी छनोट

मनमाया र सुष्मा पहिलो पटक राष्ट्रिय टिममा
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि एन्जिलाको कप्तानीमा २३ खेलाडी छनोट

नेपालखबर
फागुन १, २०८१ बिहिबार १५:४८, काठमाडौँ

‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ खेल्ने नेपाली टोली घोषणा भएको छ। एन्फाको आयोजनामा फागुन ५ गतेदेखि १४ गतेसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा अधिकांश पूरानै खेलाडीले स्थान पाएका छन्।

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको २३ सदस्यीय टोलीमा दुई जना नयाँ खेलाडी समेटिएका छन्। मनमाया दमाई र सुष्मा तामाङ पहिलोपटक राष्ट्रिय टिममा छनोट भएका हुन्। 

चन्द्रा भण्डारी र रेनुका हमाल पनि टोलीमा फर्किएका छन्। उनीहरूले वाफमा डेब्यु गरे पनि साफको टोलीबाट बाहिरिएका थिए। 

फर्वाड अमिसा कार्कीसहित रजनी थोकर, हिरा भुजेल र दीपा शाही भने टोलीमा हुने छैनन्। अमिसा नेपाली सेनाको तालिममा छिन्। हिरा र दीपा चोटका कारण टिममा अटाउन सकेनन्।

राजेन्द्र तामाङ मुख्य प्रशिक्षक रहेको महिला टोलीमा गोलरक्षक एन्जिलासँगै, अन्जना राना मगर र उषा नाथ छन्। डिफेन्डरमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई छन्। 

मिडफिल्डरको जिम्मेवारीमा अनिता बस्नेतसँगै, रेनुका नगरकोटी, प्रिती राई, सरु लिम्बू, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन्। 

फर्वाडमा सावित्रा भण्डारीसँगै रेखा पौडेल, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी र अनिता केसीलाई समेटिएको छ। एएफसी महिला एसिया कप र फिफा महिला विश्वकपको तयारीका लागि हुने प्रतियोगितामा चार टोली सहभागी हुनेछन्।

बिहीबार किर्गिस्तानको टोाली आइपुग्ने छ। शुक्रबार म्यानमार र लेवनानको टिम काठमाडौँ आइपुग्ने छन्।  उनीहरूलाई प्रशिक्षणका लागि एन्फा कम्प्लेक्सको मैदान र नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित खेल मैदानमा व्यवस्था मिलाइएको छ।

नेपालमा पहिलो पटक चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुन लागेको हो। खेलहरू सुरुमा राउन्ड रोबिन आधारमा हुनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरू दिउँसो २ बजे र साँझ ६ बजे सञ्चालन हुनेछन्।  

प्रतियोगिताका लागि साधारण पाराफिटतर्फ टिकट ५ सय रुपैयाँ र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिने एन्फाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad