तीन देश सम्मिलित नेपाल वुमन्स टी२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई पराजित गरेको छ।
पहिलो खेलमा नेपालविरुद्ध जित निकालेको डच महिला टोलीविरुद्ध थाइल्यान्डले ८ विकेटको जित निकालेको हो।
त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ६ विकेट गुमाएर २० ओभरमा १२२ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको थाइल्यान्डले १८ ओभरमै २ विकेट मात्र गुमाएर १२५ रन बनाउँदै शृंखलामा पहिलो जित दर्ता गरेको हो।
नेदरल्यान्ड्सका ओपनरद्वय फेब मकनबोअर २ र स्टिर क्यालिस ४ रनमै आउट भएका थिए। दुवै रन आउट भए पनि कप्तान बबिट डी लिडले ५२ रन र आइरिस ज्विलिङले २८ रन बनाउनु नै डच टोलीको लागि ठूलो रन थियो। अरुले दोहोरो स्कोर गर्न सकेनन्।
थाइल्यान्डकी थिपाचा पठाओङले २ र अनिचा काम्चोम्फुले १ विकेट लिए।
१२३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डका लागि नटाया बुचाथमले १०, अफिसरा सुवनचोन्राठीले २८, नानापाट कोन्चारोएन्काईले ५६, नाथकान चान्थामले २३ रन बनाए। नेदरल्यान्डका आइरिस र क्यारोलिन डी ल्यांगले समान १ विकेट लिए पनि अरुले विकेट लिन सकेनन्।
Shares

प्रतिक्रिया