काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) पनि दुई खेल हुँदै छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा शीर्ष चारको दौडबाट बाहिरिसकेको विराटनगर किंग्स र प्लेअफ सम्भावना रहेको काठमान्डु गुर्खाज भिड्दै छन्। दुवै टोलीको यो आफ्नो अन्तिम खेल हो।
दिउँसो १ बजे हुने दोस्रो खेलमा पहिलो क्वालिफायर्सका लागि तयार सुदूरपश्चिम रोयल्स र प्लेअफबाट बाहिरिसकेको पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन्।
शनिबारको दोस्रो खेलमा जनकपुरलाई चितवनले जितेसँगै विराटनगर र पोखरा प्लेअफको दौडबाट बाहिरिएका हुन्।
आज विराटनगरलाई फराकिलो अन्तरले हराए काठमान्डुको प्लेअफ सम्भावना बलियो छ। तर हारे काठमान्डु पनि लिग चरणबाटै बाहिरिने पक्का हुनेछ।
आजको खेल विराटनगरका लागि भन्दा काठमान्डुका लागि बढी महत्त्वपूर्ण छ। आज काठमान्डुले जिते नेट रनरेटका आधारमा बाहिरिने टोलीको लगभग टुंगो लाग्नेछ।
त्यसका लागि सोमबार हुने कर्णाली र सुदूरपश्चिमको समूह चरणको अन्तिम खेल निर्णायक हुनेछ। यो खेल सुदूरपश्चिमले जिते कर्णाली बाहिरिने सम्भावना बढी छ।
सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्सको समान ८ अंक छ। त्यसैले काठमान्डु नेट रनरेटमा अघि भए र कर्णाली याक्स सुदूरपश्चिमसँग हारेको अवस्थामा भने कर्णाली बाहिरिने समीकरण बन्नेछ। तर त्यसका लागि काठमान्डुले आफूले जितेर मात्र हुँदैन, कर्णाली पनि सुदूरपश्चिमसँग हार्नुपर्छ।
समान अंक भए पनि सुदूरपश्चिम नेटरनरेटमा निकै अगाडि छ। चितवनको पनि रनरेट राम्रो छ। काठमान्डुको जित र आफ्नो अन्तिम खेलमा पराजित भए सबैभन्दा जोखिममा कर्णाली पर्नेछ। अब एक खेलको जितले काठमान्डुले ८ अंक बनाए पनि रनरेटमा अगाडि आउन भने सहज देखिएको छैन।
विराटनगर र पोखराले भने आजका खेल जिते पनि समान ६ अंक मात्रै हुनेछ र लिगबाट बाहिरिनेछन्।
लिगका ६ खेलमध्ये ४ मा हार र २ जित गर्दै पोखरा ४ अंकका साथ सातौँ स्थानमा छ।
पोखरा पनि आज बलियो टोली सुदूरपश्चिलाई हराउँदै एनपीएलको सुखद् अन्त्य गर्न चाहन्छ।
लिगमा ५ खेल मात्र खेलेको सुदूरपश्चिमले आजसमेत अझै दुई खेल खेल्न बाँकी छ।
सुदूरपश्चिमले पोखरालाई तथा अन्तिम खेलमा कर्णालीले सुदूरपश्चिमलाई हराए जनकपुर र चितवनले प्लेअफ खेल्ने सम्भावना छ।
५ खेलबाट ८ अंक बनाएको सुदूरपश्चिम एक खेल मात्रै जिते क्वालिफायर पुग्ने निश्चित छ।
शनिबारको खेलमा चितवनसँग हारेपछि जनकपुरको पहिलो क्वालिफायर्स खेल्ने सपनामा केही धक्का पुगेको छ। पहिलो क्वालिफायर्स खेल्न अब उसले अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ।
लिग चरणमा कर्णालीले ६ खेलबाट ८ अंक बनाएको छ। कर्णालीभन्दा एक खेल बढी खेलेको चितवन नेटरनरेटमा अघि रहँदै अंक तालिकाको तेस्रो स्थानमा छ।
एनपीएलमा अब काठमान्डुबाहेक सुदूरपश्चिम र कर्णाली अर्को खेलमा जित्दै क्वालिफायर्स खेल्ने टोली बन्न शीर्ष २ को दौडमा छन्।
त्यसका लागि लिग चरणको अन्तिम खेल नै निर्णायक बन्नेछ।
Shares

प्रतिक्रिया