काठमाडौँ महानगरपालिकाले नेपाल र बंगलादेशबीच बुधबार साँझ हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ गर्ने भएको छ।
काठमाडौँ महानगरपालिकाको टँडिखेल, सानो गौचरण र सिफल चौरमा खेल लाइभ गर्ने तयारी भइरहेको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ।
मेयर बालेनको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले दिएको जानकारी अनुसार, लाइभ गर्नका लागि आवश्यक तयारीको कामहरू भइरहेको छ।
‘टुँडिखेल, सानौगौचरण र सिफल चौरमा लाइभ गर्नका लागि तयारी भइरहेको छ,’ बजगाईंले नेपालखबरसँग भने।
साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको उपाधिका लागि आज घरेलु टोली नेपाल र साविक विजेता बंगलादेश भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ६ बजे सुरु हुनेछ।
बिहानैदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, जाउलाखेल र आर्मी ब्यारेक नजिक गरी तीन ठाउँबाट टिकट बिक्री भइरहेको छ। खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि पुग्दैछन्।
बिहानैदेखि टिकट लिनेको भिड बढेको छ।
Shares

प्रतिक्रिया