खेल


विश्वकप लिग-२ मा नेपालको दोस्रो जित

स्कटल्यान्ड ५ विकेटले पराजित
विश्वकप लिग-२ मा नेपालको दोस्रो जित

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार ५:३८, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले दोस्रो जित दर्ता गरेको छ। 

अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै लिग २ मा नै दोस्रो जित दर्ता गरेको हो। 

नेपालले यसअघि गत फेबु्रअरीमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्डलाई ९ विकेटले हराएको थियो। त्यसयता लगातार जित विही रहेको नेपालले पहिलो जित निकालेको हो। 

जारी सिरिजमा नेपालले पहिलो जित दर्ता गर्दा स्कटल्यान्डले भने पहिलो हार व्यहोरेको छ। 

सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको थियो।  स्कटल्यान्डले भने सिरिजको आफ्नो पहिलो खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित निकालेको थियो।

स्कटल्यान्डले दिएको १ सय ५५ रनको मध्यम लक्ष्य नेपालले २९.५ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। 

छैटौँ विकेटका लागि आरिफ शेख र गुल्सन झा ले ५७ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो। 

आरिफ ५१ र गुल्सन २५ रनमा अविजित रहे। आरिफले ४२ बलमा ८ चौका हाने। गुल्सनले ३० बलमा ३ चौका र १ छक्का हाने। 

नेपाल एक समय २१.३ ओभरमा ५–१०० को अवस्थामा थियो। ओपनर अनिल शाह १३ र आशिफ शेख २१ रनमा पेभेलियन फर्के। कुशल भुर्तेल २५ र कुशल मल्ल ७ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कप्तान रोहित पौडेल १ रनमा क्याच आउट भए। 

स्कटल्यान्डका लागि ब्रान्डोनले २ तथा ब्राड कुरी, मार्क वाट र ज्याकले समान एक विकेट लिए।  त्यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा १ सय ५४ रनमा अलआउट भयो। 

मार्क वाटले बनाएको ३४ रन नै स्कटल्यान्डका लागि सर्वाधिक रह्यो।  

स्कटल्यान्डलाई सस्तैमा रोक्न नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २ विकेट लिए। आरिफ शेखले १ विकेट आफ्नो नाममा गरे। 

जितसँगै नेपालले अंक तालिकामा ५ अंक पुर्याएको छ। लिग २ मा १० खेल खेलेको नेपालले २ खेलमा जित र सात खेलमा हार भोगेको छ। नेपालले क्यानडामा ओमानसँगको १ खेल रद्द हुँदा अंक बाँडेको थियो। 

सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले शनिबार अमेरिकासँग र सोमबार स्कटल्यान्डसँग खेल्ने तालिका छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad