नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार संकटा क्लबमाथि ३–० गोलको सहज जितका साथ त्रिभुवन आर्मीले सेमिफाइनमा मनाङमर्स्याङ्दीसँगको भेट पक्का गरेको हो।
गएको सिजनमा आर्मीले ट्राइबेकरमा उपाधि थ्रिस्टारलाई सुम्पेको थियो। आर्मी आठौँ संस्करणको आहा रारा गोल्डकपको विजेता हो। सो प्रतियोगितामा आर्मीले पुलिसलाई १–० गोल अन्तरले हराएको थियो । सातौँमा भने आर्मी पुलिससँग फाइनलमा ५–० गोल अन्तरले हारेका थियो।
आर्मीको जितमा नवयुग श्रेष्ठ, विवेक बस्नेत र सुधिल राईले गोल गरे। सुधिलले खेलको १४ औँ मिनटमा नवयुगको पासमा गोल गरेका हुन् । नवयुगले स्वयंले भने खेलको ७० औँ मिनटमा व्यक्तिग गोल गरे। खेलको ७४ औँ मिनटमा विवेक बस्नेतको गोलले आर्मीले ३–० को अग्रता लियो । अन्तत: त्यही नतिजा नै खेलको अन्तिमसम्म कायम रह्यो ।
एक गोलले अग्रता लिएको आर्मी खेलको २३ औँ मिनटमा गोल गर्नबाट चुक्यो। भरत खवासको पासमा जर्ज प्रिन्स कार्कीले गरेको प्रहार संकटाका गोलरक्षक राजाबाबुले बचाउँदा आर्मी त्यो अवसरबाट बञ्चित बनेको हो । पटकपटक गोलको प्रयास गरेको आर्मीको लागि खेलको २९ औँ मिनटमा नवयुगले गरेको प्रयास पनि सफल भएन ।
गोलको लागि प्रयासरत संकटाको लागि ड्याडी अम्बाले ४० औँ मिनटमा गरेको प्रहार पनि आकासियो । ५९ औँ मिनेटमा संकटाका मासिके पिएरीले उत्कृष्ट ड्रिब्लिङसहित बल प्रहार गरेपनि गोल भएन । ६१ औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गरेको प्रहार पोष्ट माथिबाट बाहिरियो । नवयुग खेलको म्यान अफ दि म्याच भए ।
प्रतियोगितामा क्वाटरफाइनलका खेल सकिएका छन् । सेमिफाइनलमा आर्मीसँगै मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब र थ्री स्टारले प्रतिस्पर्धा गर्नेछन् । नेपाल पुलिस क्लबले क्वाटरफाइनलमा घरेलु क्लब सहारा क्लब पोखरालाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो भने साविक विजेता समेत रहेको थ्री स्टारले भारतीय क्लब गान्टोक सिटी एफसी सिक्किमलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
पहिलो सेमिफाइनलमा फागुन २८ गते बुधबार नेपाल पुलिस क्लब र थ्री स्टारबीच खेल हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा फागुन २९ गते बिहिबार मनाङ र आर्मी भिड्नेछन् ।

प्रतिक्रिया