पहिलोपल्ट घरेलु भूमिमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी-२०२४ मा प्रतिस्पर्धा गर्न लागेको नेपालको महिला र पुरुष टोली सुखद् प्रदर्शन गर्ने लक्ष्यमा छ।
नेपालको पुरुष या महिला टोली पहिलोपल्ट सिनियरस्तरको एसिया रग्बी सेभेन्स ट्रफी घरेलु भूमिमा शुक्रबारदेखि खेल्दै छ। दुई दिनसम्म एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी-२०२४ काठमाडौँमा हुँदै छ। जहाँ नेपाली टोलीले आफ्नो प्रदर्शन सुधार गर्ने अपेक्षासहित लामो समयदेखि तयारी पनि गरेको छ।
सिर्जना राईको कप्तानीमा रहेको नेपाली महिला टोली र विक्रम पुरीको कप्तानीमा रहेको पुरुष टोलीले यसपल्ट सुखद् प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। घरेलु भूमिमा हुने सेभेन्स ट्रफीलाई विशेष बनाउन नेपाली टोलीले करिब तीन महिनादेखि बन्द प्रशिक्षणसमेत गरेको छ।
न्युजिल्यान्डका प्रशिक्षक फ्रेड मोए, नेपालका पूर्वकप्तान तथा प्रशिक्षक कृष्ण क्षेत्री र विनोद तामाङले नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए। नेपालमा तेस्रोपल्ट एसियाली स्तरको रग्बी प्रतियोगिता हुन लागेको हो। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी-२०२४ हुन लागेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताका लागि खेल्ने सबै राष्ट्र नेपाल आइसकेको संघका महासचिव गोविन्द घिमिरेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
यस सेभेन्स ट्रफीमा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। पुरूषमा १४ र महिलामा ७ राष्ट्र प्रतिस्पर्धी छन्। महिलामा ८ राष्ट्रको चुनौती तय भएको थियो। महिला टोलीलाई सहभागी गराउन लागेका बेला इरानको आन्तरिक कारणले सहभागिता हुन सकेन।
पुरुषतर्फ चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेभएको छ। नेपाल रहेको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तानले चुनौती प्रस्तुत गर्ने भएका छन्।
समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह ‘सी’ मा काजाकिस्तान, कतार, साउदी अरब र श्रीलंका तथा समूह ‘डी’ मा अफगानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेई छन्।
महिलातर्फ ७ राष्ट्रलाई दुई समूहमा बाँडिएको छ। समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स र गुआम, उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इन्डोनेसियाले खेल्नेछन्।
सेभेन्स ट्रफीको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले काँस्य पदक प्राप्त गर्नेछन्।

यो प्रतियोगिता एसिया रग्बी सेभेन्स सिरिज-२०२५ को छनोटसमेत हो। संघका अध्यक्ष दीपक देवकोटाले कार्यक्रमलाई सफल र भव्य बनाउन सरोकारवालाई अनुरोध पनि गरेका छन्।
उनले ५६ दिनको बन्द प्रशिक्षण गरेको नेपाली टोलीको लक्ष्य पाँचौँ स्थान हासिल गर्नु रहेको बताए।
सेभेन्स ट्रफीको पहिलो दिन ३० तथा दोस्रो दिन २० गरी कुल ५० खेल हुनेछन्। सिनियर स्तरको एसियाली रग्बी नेपालमा पहिलोपटक हुन लागेको हो। यसअघि एसिया यु–१८ र एसिया यु–२० रग्बी सेभेन्स ट्रफी नेपालले आयोजना गरेको थियो। आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड १० लाख रुपैयाँ रहेको छ।

Shares

प्रतिक्रिया