खेल


कप्तानीको भार थेग्न नसकेका ज्ञानेन्द्र

कप्तानीको भार थेग्न नसकेका ज्ञानेन्द्र

यज्ञराज जोशी
फागुन २४, २०७६ शनिबार १०:३१,

सन् २००० को दशकमा उमेर समूहको क्रिकेटमा नेपालले एकछत्र राज जमाएको थियो। सन् २००१, २००३, २००५ र २००७ मा गरी लगातार चारपटक एसीसी यू–१९ कपको उपाधिमाथि कब्जा जमाउनुले पनि त्यही प्रमाणित गर्थ्यो।

अर्को संस्करण(२००९)मा पावर हाउसका रुपमा उदाएको नेपाललाई लगातार पाँचौं पटक च्याम्पियन बन्ने अवसर थियो। सो संस्करणमा पारस खड्काबाट नेपाली युवा टोलीको नेतृत्वमा ज्ञानेन्द्र मल्लमा हस्तान्तरण भएको थियो।

तर बिडम्बना ज्ञानेन्द्रले पाँचौं पटक नेपाललाई लगातार च्याम्पियन बनाउने अवसर गुमाए। त्यस संस्करणमा सेमिफाइनलमै रोकिएसँगै नेपालको उपाधि यात्रामा समेत पूर्णविराम लाग्यो। नेपाल त्यसपछि यस क्षेत्रीय प्रतियोगिताको उपाधिसम्म कहिलै पुग्न सकेको छैन।

ज्ञानेन्द्र मल्लको कप्तानीमा २००९ को एसीसी यू-१९ खेलेको नेपाली टोली। तस्बिर: एसीसी

सन् २००९ मा राष्ट्रिय टोलीको कप्तानमा पारस चुनिएसँगै ज्ञानेन्द्र उपकप्तान चुनिएका थिए। त्यसपछिका दश वर्ष पारसले नेपाली टोलीको नेतृत्व गरे। यू-१९ हुँदै राष्ट्रिय टोलीको सहायक र त्यसपछि  पूर्ण कप्तान बनिसक्दा पनि ज्ञानेन्द्रको कप्तानीमा नेपालको नतिजा सकरात्मक कम र नकरात्मक बढी देखिन्छ।

पारसको नेतृत्व गर्दा नेपाली क्रिकेटले ठूला उपलब्धिहरु हात पार्‍यो। विश्व क्रिकेट लिगमा डिभिजन ५ मा रहेको नेपालले पारसको नेतृत्वमा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता प्राप्त गर्यो। पारसकै नेतृत्वमा नेपालले डिभिजन ५, ४ र ३ को उपाधि उचाल्यो। २०१४ मा त नेपालले विश्व ट्वान्टी–२० मै खेल्दै हङकङ र अफगानिस्तानमाथि जित समेत हात पार्यो।

पारसकै कप्तानीको छत्रछायाँमा दश वर्ष हुर्किएका ज्ञानेन्द्रले यसबीच पारस अस्वस्थ हुँदा वा उपलब्ध नहुँदा नेतृत्वको अवसर पाएका थिए।

२०१४ को विश्वकप छनोटमा यूएईविरुद्धको पहिलो खेलमा पारस घाइते भएपछि स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा ज्ञानेन्द्रले स्वतः कप्तानी सम्हालेका थिए। त्यही खेलमा नेपाल ९० रनले पराजित भयो। त्यसपछि पारस टोलीमा फर्किएपछि उनले उनले नै नेतृत्व गरेका थिए।

पारस अस्वस्थ भएपछि २०१७ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दुई खेलमा समेत ज्ञानेन्द्रले कप्तानी सम्हालेका थिए। कीर्तिपुर मैदानमा पहिलो खेलमा ५ विकेटले नेपाल पराजित भएपनि दोस्रो खेलमा ७ विकेटको जित्यो।

त्यही वर्ष बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स कप यस्तो प्रतियोगिता थियो, जहाँ ज्ञानेन्द्रले एउटा प्रतियोगिता भरि नै पहिलोपल्ट कप्तानी गरेका थिए। त्यही प्रतियोगितामा पाकिस्तान र बंगलादेशको यू–२३ टोलीसँग पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो।

यसैवर्ष असोजमा पारसले राष्ट्रिय टोलीको कप्तान छाड्ने निर्णय गरेपछि ज्ञानेन्द्र पूर्ण कप्तान बनेका थिए। उनको नाम उत्तम कर्माचार्य, लेखबहादुर क्षेत्री, पवन अग्रवाल, गणेश शाही, राजु खड्का, परेश लोहनी, विनोद दास, पारसपछि राष्ट्रिय टोलीको कप्तानमा जोडिएको थियो।

Image may contain: 5 people

उनी कप्तान भएसँगै नेपालले इंग्ल्याण्डको पूरानो क्लब एसीसी नेपाल भ्रमणमा आएको थियो। एमसीसीविरुद्धको एकदिवसीय खेलमा भने नेपालले ५ विकेटको जित हात पार्यो तर लगत्तै भएको प्रथम श्रेणीको क्रिकेटमा नेपाल २०८ रनको फराकिलो अन्तरले पराजित भयो।

उक्त टूरपछि बंगलादेशमा ज्ञानेन्द्रको नेतृत्वमा नेपाल एसीसी इमर्जिङ टिम्स कप खेल्न गएको थियो। उक्त प्रतियोगितामा पनि नेपाल समूह चरणभन्दा अघि बढ्न सकेन। यस्तै घरेलु मैदानमा डिसेम्बर २०१९ मा भएको साग क्रिकेटमा स्वर्णको लक्ष्य राखेपनि नेपाल कास्यमै सीमित भयो।

अघिल्लो महिना भएको विश्व क्रिकेट लिग–२ मा ओमानसँगका दुई खेलमा हारेपनि अमेरिकाविरुद्धका दुई खेलमा भने ज्ञानेन्द्रको कप्तानीमा नेपालले जितेको छ।

तर, त्यसलगत्तै भर्खरै सम्पन्न एसीसी इस्टर्न रिजन ट्वान्टी–२० मा भने तुलनात्मक कमजोर टोलीविरुद्धको खराब प्रदर्शनले ज्ञानेन्द्रको कप्तानीसँगै नेपाली टोलीको प्रदर्शनको आलोचना भइरहेको छ।

उपाधि जित्ने लक्ष्य लिएर सिंगापुर पुगेको नेपाल पाँच टोलीमध्ये चौथो स्थानमा रहेपछि टेस्ट राष्ट्रसँग एसिया कप खेल्ने नेपालको सपना समेत तुहिएको थियो।

कुनै खेलाडीको कप्तानी नराम्रो हुन सक्छः विनोद दास
ज्ञानेन्द्र मल्ललाई नेपालले हालसम्म पाएका ब्याट्सम्यानमध्ये प्राविधिक रुपमा सबैभन्दा निपूण ब्याट्सम्यान मानिन्छ। तर, पछिल्ला दुई–तीन वर्षमा केही खेल छाडेर उनी रनका लागि लगातार संघर्ष गरिरहेका छन्।

राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास कुनै खेलाडीको कप्तानीमा राम्रो नतिजा नआएको उदाहरण दिन्छन्। सचिन तेल्कुल्करको उदाहरण दिँदै उनी कप्तानीका कारण आफ्नो खेलमा असर परिरहेको छ भने खेलाडी स्वयमले कप्तानी छोड्नुपर्ने वा व्यवस्थापकले अर्को कप्तान घोषणा गर्नुपर्ने बताउँछन्। 

‘कुनैबेला केही खेलाडीको कप्तानीमा सकरात्मक नतिजा आउँदैन। सचिन तेन्दुल्करहरुसँग पनि त्यस्तै भएको छ,’ दासले भन्छन्, ‘यदि उहाँ(ज्ञानेन्द्र)लाई कप्तानीका कारण आफ्नो खेलमा असर परिरहेको लाग्छ वा टिम व्यवस्थापकलाई उहाँका कारण नतिजालाई फरक परेको लाग्छ भने कि ज्ञानेन्द्रले कप्तानी आफै छोड्न सक्नुपर्छ वा टिम व्यवस्थापकले अरु कसैलाई कप्तान घोषणा गर्नुपर्छ।’

दासले ज्ञानेन्द्रको कप्तानीमा कसैले बाहिर बसेर प्रतिक्रिया गर्नु उचित नहुने बताए। ‘जबसम्म सिस्टममा बसिदैँन् त्यतिसम्म कमेन्ट गर्नु ठिक हुँदैन। टिम व्यवहार उनीप्रति के छ कस्तो छ? भन्ने न थाहा नपाइकन कमेन्ट गर्नु उचित हुँदैन,’ दासले भने, ‘उनले खेलाडीहरुलाई म्यासेजहरु कसरी दिइरहेका छन्। उनीप्रति खेलाडीहरुले विश्वास गरिरहेका छन् कि छैनन्। टिम मिटिङमा सबैजना ‘एक्टिभ्ली’ भाग लिइरहेका छन कि छैनन? बुझ्नुपर्छ।’

पछिल्लो समय नेपाली टोलीमा मौलाएको गुटगत प्रवृत्तिले एक अर्काप्रतिको विश्वासको वातावरणमा कमी आएको मानिन्छ। दास भने नेपाली टोलीको गुट उपगुट रहेकोबारे आफू अनविज्ञ रहेको र त्यसो हो भने टिम व्यवस्थापनले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताउँछन्।

‘टिममा कुनै समस्या छैन, एकअर्का प्रति विश्वास छैन् भने त्यो प्रदर्शनमा देखिन्छ,’ दासले भने, ‘कुनैपनि क्रिकेटर गेमभन्दा ठूलो हुँदैन्। एकले अर्कोमाथि विश्वास भएपछिमात्रै टिमले राम्रो खेल्न सक्छ।’

गम्भीर समिक्षा गर्छौः क्यान
नेपाल क्रिकेट संघ(क्यान)ले एसीसी इस्टर्न रिजन प्रतियोगितामा नेपालको खराब प्रदर्शनको गम्भीर समिक्षा गर्ने जनाएको छ। क्यानले टोली फर्केपछि प्रशिक्षक, कप्तान तथा व्यवस्थापकसँग छलफल गर्ने जनाएको छ।

‘एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको टिमको प्रदर्शन झनझन उचोँ हुँदै जानुपर्नेमा खस्कदै गएको छ। यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ क्यानका कोषाध्यक्ष रोशन सिंहले भने, ‘के कस्तो कारणले यस्तो भइरहेको छ, हामी सबैसँग बसेर गम्भीर समिक्षा गर्छौ।’

सिंहले छलफलमा आवश्यक परे कप्तानीको विषय पनि उठ्नसक्ने बताए। ‘सरोकारवालाको छलफलपछि हामी निष्कर्षमा पुग्छौं,’ उनले भने।

ज्ञानेन्द्रको कप्तानीमा नेपालको नतिजा
२०१४ ट्वान्टी–२० विश्वकप छनोटः विरुद्ध स्कटल्याण्ड ९० रनले पराजित
२०१७ डब्लुसिएलः विरुद्ध केन्या, ५ विकेटले पराजित
२०१७ डब्लुसिएलः विरुद्ध केन्या, ७ विकेटको जित
इमर्जिङ टिम्स कप २०१७ः समूह चरणबाट बाहिर
एमसीसीको नेपाल भ्रमणः प्रथम श्रेणीमा २०८ रनको हार, एकदिवसीयमा ५ विकेटको जित
इमर्जिङ टिम्स कप २०१९ः समूह चरणबाट बाहिर
साग २०१९ः काँस्य पदक
विश्वकप क्रिकेट लिग २ः दुई जित, दुई हार
एसीसी इस्टर्न रिजनः ५ टोलीमध्ये चौथो स्थानमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .