ad ad

खेल


कविराज नेगी लामा अर्थात् कांस्य पदकपछाडिका नायक

कविराज नेगी लामा अर्थात् कांस्य पदकपछाडिका नायक

पलेसा र उनका प्रशिक्षक कविराज नेगी लामा


लक्ष्मी जि.सी
भदौ १९, २०८१ बुधबार ६:३७, काठमाडौँ

पारालिम्पिकका लागि फ्रान्स उड्नुअघि नेपालकी ‘तेक्वान्दो क्विन’ पलेशा गोवर्धनले नेपालखबरसँग भनेकी थिइन् -

‘यो पटक पदक ल्याएर देशलाई एक उपहार दिन चाहन्छु, त्यसका लागि छनोटभन्दा धेरै मिहिनेत गरिरहेकी छु।’

पारालिम्पिकमा उनको मिहिनेत राम्रैसँग देखियो। पेरिस जानुअघिको आफ्नो वचन पूरा गर्दै कांस्य पदक जितिन्। 

नेपाली खेलकुदका लागि पलेशाले जितेको यो अहिलेसम्मकै ठूलो पदक हो। आफूले पारालिम्पिकमा जितेको पदक उनले सबै नेपालीलाई समर्पण गरेकी छिन्।

पलेशाले सन् २०२० मा वाइल्ड कार्डमार्फत पारालिम्पिक खेलेकी थिइन्। त्यो बेला उनी ऐतिहासिक पदक नजिक पुगेर असफल भएकी थिइन्।

तर यो पटक उनले अझ कडा मिहिनेत गरिन्। फलस्वरुप नेपाली इतिहासमा नै सबैभन्दा ठूलो पदक जित्न सकिन्। 

‘हामीले मिहिनेत गरेअनुसार देशका लागि कांस्य पदक जितेका छौँ। हामीले पनि अब गर्वका साथ भन्न सक्छौँ- पारालिम्पिकमा हामीसँग पनि पदक छ’, पदक जितेपछि उनले भनिन्, ‘सबैभन्दा पहिला मेरो आमा र बुबालाई धन्यवाद, दोस्रोमा मेरो प्रशिक्षकलाई धेरैलाई धन्यवाद। तेक्वान्दोमा हामी तीन जना खेलाडी भए पनि पदक ल्याउन सक्छौँ।’ 

पदकपछाडिका नायक नेगी
पलेशाले एसियाली छनोट पार गर्दै ओलम्पिकका लागि स्थान बनाएकी थिइन्। पारालिम्पिकमा उनको कीर्तिमानी प्रदर्शनको श्रेय प्रशिक्षक कविराज नेगी लामालाई जान्छ।  

आफ्नो खेल जीवनमा पलेशाले जति पनि कीर्तिमानी प्रदर्शन गरिन्, त्यसको पछाडि नायक बन्दै आएका छन् प्रशिक्षक लामा। 

आफ्नो खेलाडीको प्रदर्शन सुधारमा लामा आफैँ पनि कडा मिहिनेत गर्छन्। र पलेशाले पनि ऐतिहासिक पदक जित्दै लामाको मिहिनेतको गुन तिरेकी छिन्। 

पारालिम्पिकमा पदक जितेपछि पलेशाको लगावमा आफूले गरेको मिहिनेतबाट प्रफुल्ल छन् लामा। 

प्रशिक्षक लामाले भने, ‘यो देशको जित हो, हामीले ऐतिहासिक पदक ल्याउन सफल भएका छौँ। यो नेपालीलाई उपहार हो।’ 

पलेशाले पदक जितेर सबै नेपालीको शिर उच्च राखेको उनी बताउँछन्। आफूलाई पर्दापछाडि रहेर काम गर्न दिने संघलाई लामाले धन्यवाद दिए। 

‘नेपाली भएर पदक जित्न सक्छौँ भन्ने उदाहरण पलेशाले दिएकी छिन्। सबै नेपालीलाई बधाइ र धन्यवाद’, लामाले भने, ‘पलेशाको पछाडि संघर्ष गर्ने पलेशाको परिवार र संघलाई पनि धेरै धन्यवाद। सबैको आशीर्वादले नै यो सम्भव भएको हो।’ 

लामाको प्रशिक्षणमा ११ अन्तर्राष्ट्रिय पदक
सन् २०१३ मा नेपाल तेक्वान्दो संघले पारालिम्पिकका लागि काम गर्न सुरु गरेको थियो। लामाले त्यही बेलादेखि प्रशिक्षण सम्हालिरहेका थिए। 

उनले प्रशिक्षण सम्हालेयता नेपालले ११ अन्तर्राष्ट्रिय पदक जितिसकेको छ। लामा स्वयंसेवकको रुपमा पारातेक्वान्दोमा प्रशिक्षण गर्छन्।

उनको एउटै सपना थियो– ओलम्पिकमा पदक ल्याउने। पारालिम्पिकको पदक तालिकामा नेपालको शून्य देख्दा दुःखी हुने गरेको लामा सुनाउँछन्। 

‘म आफैँ पनि निकै दुःखी हुन्थेँ। त्यसका लागि खेलाडीसँगै मिहिनेत गरिरहेँ’, उनले भने।  

सन् १९९८ मा विधान लामाले तेक्वान्दोका लागि ओलम्पिकको ढोका खोलेका थिए। 

पारालिम्पिकमा तेक्वान्दो भने सन् २०२० को टोक्यो ओलम्पिकबाट राख्न थालिएको हो। सन् २०२३ मा भएको हाङझाओ एसियाडमा पनि तेक्वान्दोले पहिलोपटक स्थान पाएको थियो। 

सन् २०२० को पारालिम्पिक खेलेकी पलेशाले भनिन्, ‘पहिलोपटक सरप्राइज गिफ्टजस्तो आएको थियो। यो पटक छनोट भएर नै खेलेको हो।’ 

पारालिम्पिकको तयारीका लागि पलेशाले चीनको सांघाईमा अध्ययन गरिरहेको इन्जिनियरिङ छाडेकी थिइन्। यसकै लागि तेक्वान्दो टोलीले १ महिना बेलायतको म्यानचेस्टरमा अभ्यास गरेको थियो। 

पारालिम्पिकमा कांस्य पदक जितेको तेक्वान्दो टोली बुधबार स्वदेश फर्किँदै छ। कांस्य पदक विजेता खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्ले नगर परिक्रमा गराउँदै छ। 

यो पनि -

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .