ad ad

खेल


काभा नेसन्स लिगः आज नेपाल र भारत भिड्दै

काभा नेसन्स लिगः आज नेपाल र भारत भिड्दै

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०८१ शनिबार ५:५८, काठमाडौँ

घरेलु मैदानमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज (शनिबार) नेपाल र  भारत भिड्दैछन्। भारत नेपालको बलियो प्रतिद्वन्दी हो। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन्। यो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। 

लिग चरणमा एक खेल मात्र खेलेको नेपालको खातामा ३ अंक मात्र छ। नेपालले लिगको उद्घाटन खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पारेको थियो। 

लिग चरणको दुई खेलमा अपराजित रहेको भारत ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा इरानमाथि ३–१ को सेटमा विजयी भएको भारतले लिग चरणको दोस्रो खेलमा मालदिभ्सलाई सोझो सेटमा पाखा लगाएको थियो। 

जारी लिगमा भारत नेपालका लागि बलियो प्रतिद्वन्दी मानिन्छ। यसअघिका भेटमा नेपालमाथि भारतीय टोली हाबी हुँदै आएको छ। 

यद्यपी आजको खेलमा नेपाली टोली भारतीय टोलीको कडा चुनौती पन्छाउने रणनीतिसहित कोर्टमा उत्रनेछ। 

घरेलु मैदानमा लगातार दुईपटक भारतसँग पराजित महिला टोली आजको खेलमा त्यो हारको बदला लिने योजनामा हुनेछ। 

सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारतलाई १ सेट मात्र पराजित गरेको थियो। त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा हो। तर पनि नेपाल सागमा भारतसँग पराजित भएको थियो। 

यस्तै अघिल्लो संस्करण घरेलु मैदानमा नै भएको काभामा नेपाल भारतसँग पराजित भएको थियो। लगातार दुई पटक भारतले दिएको चोट बिर्सिएर नेपाली टोली आजको खेलमा शसक्त प्रर्दशन गर्ने योजनामा छ। 

भारतीय टोलीका नियमीत ३ खेलाडीले एभरेष्ट भलिबल क्लबबाट एनभीए लिग खेल्न नेपाल आएका थिए। नेपाली टोलीकी कप्तान अरुणा शाही सम्मिलित क्लबमा भारतिय खेलाडी हुँदा त्यसको केही फाइदा आजको खेलमा हुने अपेक्षा गरिएको छ। 

लिगमा तिन खेलाडीलाई नेपाली खेलाडीले राम्रोसँग अध्ययन गर्ने मौका पाएकाले पनि आजको खेलमा त्यसको फाइदा नेपाली खेलाडीले लिन सक्नेछन्। 

काभा लिग अघि नेपाली टोलीले रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। त्यसको फाइदा पनि नेपाली टोलीले लिन सक्नेछ। 

आजै हुने दोस्रो खेलमा इरान र मालदिभ्स खेल्नेछन्। सोही कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुने तालिका छ। 

५ टोली सहभागी लिगको राउण्ड रोविनपछि शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। पुछारको टोली बाहिरिनेछ। 

अंक तालिकाको शीर्ष र चौथो स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। यस्तै दोस्रो र तेस्रो स्थानमा रहने टोली फाइनल प्रवेशका लागि खेल्नेछन्। 

दुई सेमिफाइनलका विजेताले उपाधिका लागि खेल्दै पराजित हुने टोलीले भने तेस्रो स्थानका लागि खेल्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .