ad ad

खेल


यमाललाई हात पार्न तीन देशबीच चलेको घम्साघम्सी

यमाललाई हात पार्न तीन देशबीच चलेको घम्साघम्सी

नेपालखबर
असार २८, २०८१ शुक्रबार २०:२०,

१६ वर्षे किशोर लमिन यमालले चमत्कारी प्रदर्शन गरेर यस वर्षको युरोकपमा तहल्का मच्चाइरहेका छन्। खासगरी जर्मनीविरुद्ध उनको प्रदर्शनको विश्वव्यापी चर्चा भयो। 

तर, यी खेलाडीबाट हात पार्न उनको सम्बन्ध गाँसिएका तीनवटा मुलुकबीच प्रतिस्पर्धा चलेको खुलासा भएको छ।

इक्वेटरियल गिनीकी आमा र मोरक्कोका बुवाका सन्तान उनी हाल स्पेनबाट खेलिरहेका छन्।

उनी बार्सिलोनामा जन्मेका हुन्। त्यहीँ हुर्केका उनले बार्साको ला मासिया एकेडेमीबाट फुटबल सिके। सोही क्लबबाट डेब्यु गरेका उनले एक सिजन भर्खरै पूरा गरेका छन्।

‘लमिन इक्वेटरियल गिनीका लागि खेलिरहेका छैनन्। तैपनि हामी उनलाई आफ्नो हृदयबाट एकदमै नजिक ठान्छौँ। र, उनले यहाँको फुटबलका लागि धेरैथोक गर्नेछन् भन्ने सोच्छौँ,’ इक्वेटरियल गिनीको फुटबल संघका अध्यक्ष भेनेन्सियो तोमास मिचा भन्छन्, ‘युरोमा हामी उनको असाधारण प्रदर्शनको मजा लिइरहेका छौँ। उनको मूल हामीसँग जोडिएको छ। यसले देखाउँछ, यो राम्रा फुटबलरको देश हो।’

किशोर वयका भए पनि युरोपको सबैभन्दा महत्वपूर्ण खेलमा उनलाई विश्वास गरेर टोलीमा राखियो। र, यमालले गतिलो प्रदर्शन गर्दै फ्रान्सविरुद्ध आकर्षक गोल गरे भने क्रोएसिया, जर्जिया र जर्मनीविरुद्ध गोलमा सहायता गरे।

आइतबार १७ वर्ष पूरा भएको एक दिनपछि उनले इंग्ल्यान्डविरुद्धको फाइनल खेल्ने पक्का छ। यससँगै युरोको फाइनल खेल्ने सबैभन्दा कान्छा खेलाडी बन्नेछन् उनी।

विश्वकप फाइनल खेल्ने सबैभन्दा कान्छा खेलाडी पेले थिए। जसले १७ वर्ष २४९ मा दिनमा १९५८ को फाइनल खेल्दा ब्राजिलले स्विडेनलाई ५–२ ले हराएको थियो। पेलेले २ गोल गरेका थिए।

१६ वर्ष ३६१ दिनको उमेरमा युरोमा गोल गरेर यमालले राखेको कीर्तिमान तोड्न निकै कठिन हुनेछ। त्यस्तै बार्सिलोनामा उनले १६ वर्ष ३८ दिनमा खेल सुरु गरे र १६ वर्ष ८७ दिनमा ला लिगामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने। यी कीर्तिमान पनि तोड्न कठिन छ।

‘आफ्नो मूल नबिर्सेका खेलाडी’
इक्वेटर गिनी दुई भागमा विभाजित छ। राजधानी मालाबो एउटा टापुमा छ भने सबैभन्दा ठूलो सहर बाटा अफ्रिकाको मुख्यभूमिमा पर्छ। यमालकी आमा त्यहीँ जन्मेकी हुन्।

उनी स्पेन पुगिन् र वेटरको काम गर्न थालिन्। त्यहीँ उनले यमालका बुवा भेटिन्। पछि उनीहरू अलग भए।

यमालका आमा र हजुरआमा बार्सिलोनामै बस्छन् भने उनको मावलीपट्टिको परिवार सबै इक्वेटरियल गिनीमै छ। जुन मुलुक सानो भइकन गत दुई अफ्रिका कपमा नकआउट चरणमा पुगेको थियो।

तीन वर्षअघि इक्वेटरियल गिनीको फुटबल संघले यमाललाई आफ्नो मुलुकबाट खेल्न प्रस्ताव गरेको थियो। तर, त्यतिबेला उनीहरू निकै ढिला भइसकेका थिए।

‘हामीले उनको परिवारसँग २०२१ मा सम्पर्क गर्‍यौँ। तर, स्पेनी फुटबल संघसँग उनीहरूको कुरा धेरै अघि बढिसकेको रहेछ,’ मिचा भन्छन्, ‘तैपनि हामीले कोसिस गर्‍यौँ। किनकि, संयोगले त्यो परिवारसँग मेरो गहिरो मित्रता छ, खासगरी यमालका मावली हजुरबासँग। हामीपछि मोरक्कोले पनि उनलाई आफूतिर तान्ने कोसिस गर्‍यो। तर, स्पेनीहरूले हामीलाई उछिने।’

मोरक्को फुटबल संघका अध्यक्ष फाउजी लेक्जाले गत वर्ष यमालसँग सम्झौता गर्न खोज्दा उनले स्पेनबाटै खेल्ने दृढता देखाएका कारण आफूहरू असफल भएको बताए।

जे भए पनि यी दुवै अफ्रिकी मुलुकलाई यमाल प्रेम गर्छन्। ती देशका झण्डा उनको फुटबल बुटमा पनि देख्न सकिन्छ।

‘यसले देखाउँछ, उनले स्पेनका लागि खेले पनि इक्वेटरियल गिनीलाई बिर्सेका छैनन्,’ मिचा भन्छन्।

मिचालाई विश्वास छ, यमालले आफ्नी आमाको देशलाई विश्व रंगमञ्चमा पुर्‍याएका छन्। आगामी दिनमा यमालजस्ता खेलाडी आफ््नो देशमा उत्पादन हुने उनको आशा छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .