ad ad

खेल


भारोत्तोलनमा चार नयाँ राष्ट्रिय कीर्तिमान

भारोत्तोलनमा चार नयाँ राष्ट्रिय कीर्तिमान

नेपालखबर
असार १८, २०८१ मंगलबार २०:५६, काठमाडौँ

पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा आज चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्। चारै कीर्तिमान पुरुष स्पर्धामा बनेका हुन्।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगितामा पुरुष ७२ किलोमाथिको तौलमा बागमती प्रदेशका आशिष मानन्धरले एक सय ४५ किलो भार उठाएर आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे। उनले यसअघि एक सय ३० किलो भार उचालेका थिए। सो स्पर्धामा कर्णाली प्रदेशका किरणकिशोर सापकोटा दोस्रो तथा कोशी प्रदेशका सुपर राई तेस्रो भए।

प्रतियोगितामा पुरुष ५९ किलोमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ किलो तौल उठाउँदै राष्ट्रिय कीर्तिमान बनाए। यसअघि ८५ किलो भार उठाएका दीपक तिमल्सिनाको नाममा उक्त कीर्तिमान थियो। सो स्पर्धामा कोशीका सोमनाथ राई दोस्रो तथा बागमतीका मानबहादुर राना मगर तेस्रो भए।

यस्तै पुरुष ६५ किलोमा बागमतीका दीपक खड्काले एक सय एक किलो भार उचाल्दै राष्ट्रिय कीर्तिमान बनाए। उनले यसअघि ठाकुर श्रेष्ठको नाममा रहेको ९० किलोको कीर्तिमान भङ्ग गरे। उक्त स्पर्धामा बागमतीका विरु ढुङ्गाना दोस्रो तथा लुम्बिनीका लक्ष्मण नेपाली तेस्रो भए।

पुरुष ५४ किलोमा बागमतीका ठाकुर श्रेष्ठले एक सय  किलो भार उचाल्दै नयाँ कीर्तिमान बनाए। उनले आफ्नै नाममा रहेको ९० किलोको कीर्तिमानमा सुधार गरेका हुन्। उक्त स्पर्धामा गण्डकी प्रदेशका पवन घर्ती मगर दोस्रो तथा बागमतीका दीपक तिमल्सिना तेस्रो भए।

यसैगरी पुरुष ४९ किलोमा बागमतीका मनिष पुन मगर पहिलो भए। उनले ५० किलो भार उठाए। कर्णालीका रुपलाल बस्नेत दोस्रो तथा कोशीका अजित खाती तेस्रो भए। पुरुष ७२ किलोमुनिको तौलमा बागमतीका राजाराम सिलवाल पहिलो भए। उनले ८० किलो तौल उचाले। लुम्बिनीका नारायण तिमल्सिना दोस्रो तथा बागमतीका रामकाजी मगर तेस्रो भए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारत्तोलन खेलकुद सङ्घ नेपालको व्यवस्थापनमा दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा मधेसबाहेक ६ प्रदेशका ४२ खेलाडी सहभागी भएका थिए। पुरुषतर्फ ६ तथा महिलातर्फ तीन तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .