ad ad

खेल


विश्वकपमा बंगलादेशले दर्ता गर्‍यो पहिलो जित, श्रीलंकाको लगातार दोस्रो हार

विश्वकपमा बंगलादेशले दर्ता गर्‍यो पहिलो जित, श्रीलंकाको लगातार दोस्रो हार

नेपालखबर
जेठ २६, २०८१ शनिबार ११:१३, काठमाडौँ

आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह डीको खेलमा श्रीलंका बंगलादेशसँग हारेको छ।

शनिबार अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा भएको खेलमा श्रीलंकालाई २ विकेटले पराजित गर्दै बंगलादेशले विश्वकपमा पहिलो जित हासिल गरेको हो। 

श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। यो हारसँगै श्रीलंकाको सुपर ८ मा पुग्ने सम्भावना कमजोर बनेको छ।

श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो।

बंगलादेशका लागि तोहिड ह्डोयले सर्वाधिक ४० रनको योगदान दिए। लिटोन दासले ३६ रन थपे। 

मोहमुदुल्लाहले १६ रनमा अविजित रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

श्रीलंकाका नुवान तुसाराले ४ विकेट लिए। वानिन्दु हसरंगाले २ तथा मथिसा पाथिरना र धनन्जय डि सिल्भाले १/१ विकेट आफ्नो नाममा गरे।

त्यसअघि बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २४ रनको योगफल तयार पारेको थियो। 

श्रीलंकाका ओपनर पाथुम निशंकाले सर्वाधिक ४७ रन बनाए। उनले २८ बलमा ७ चौका र १ छक्का हाने। धनन्जय डि सिल्धाले २१, कारिथ अशांलांकाले १९, एगेंलो म्याथुले १६ बनाए। कुशल मेन्डिसले १० रन बनाए। 

बंगालदेशका लागि मुस्ताफिजर रहमान र रिसद हुसैनले समान ३ विकेट लिए। तास्किन अहमदले २ विकेट लिए। तान्जिम हसन सकिबले १ विकेट आफ्नो नाममा गरे। 

जितसँगै समूह डी्मा रहेको रहेको बंगालदेश तेस्रो स्थानमा उक्लेको छ। यो समूहमा समान २ अंक भएको दक्षिण अफ्रिका शीर्ष, नेदरल्यान्डस् दोस्रो स्थानमा छन्। 

अंकविहीन नेपाल चौथो र श्रीलंका पाचौँ स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .