गण्डकी प्रदेशलाई हराउँदै साविक विजेता टिपटप हेल्प नेपाल काठमाडौँमा जारी आठौँ आरबीबी एनभीए महिला पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिाषद्को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा गण्डकीलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको हो।
हेल्प नेपालले गण्डकीलाई २५–१९, २७–२५ र २५–१९ को सोझो सेटमा पाखा लगायो। प्रतिस्पर्धात्मक दोस्रो सेटमा गण्डकीले उत्कृष्ट प्रर्दशन गरेपनि दोस्रो सेट गुमाउन पुग्यो।
हेल्प नेपालले अब उपाधिका लागि शनिबार आर्मी र पुलिस क्लब बीचको विजेतासँग खेल्नेछ।
गण्डकीले भने दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ।
शुक्रबार नै हुने दोस्रो सेमिफाइनलमा आर्मी र पुलिस क्लब भिड्नेछन्।
आजै भएको महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले चन्द्रागिरी नगरपालिका न्यु डायमण्डलाई ३–१ को सेटमा हराएको हो।
Shares
प्रतिक्रिया