ad ad

खेल


सिनियर टोलीको प्रदर्शनले उत्साहित युवा क्रिकेटर, एसिया कप पुग्ने लक्ष्य

सिनियर टोलीको प्रदर्शनले उत्साहित युवा क्रिकेटर, एसिया कप पुग्ने लक्ष्य

तस्बिर/भिडिओ : सरोज नेपाल


लक्ष्मी जि.सी
असोज २४, २०८० बुधबार ७:५०, काठमाडौँ

बिहीबारदेखि मलेसियामा हुने एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। 

करिब १ महिना घरेलु मैदानमा तयारी गरेको नेपाली टोली प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा छ। प्रिमियर कपमा लागि नेपाल क्रिकेट संघ (क्यान) ले गत साता नै अन्तिम टोलीको घोषणा गरिसकेको छ। 

मलेसिया जानुअघि टोलीका कप्तान देव खनालले प्रिमियर कपका लागि आफूहरुको तयारी एकदमै राम्रो भएको बताए। एसिया कपमा पुग्नलाई यो प्रतियोगिता राम्रो अवसर रहेकाले सबै जना आत्मविश्वासी रहेको सुनाए। 

प्रिमियर कपका लागि नेपालले गत फागुनमा आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको उपाधि जित्दाको टोलीलाई नै निरन्तरता दिइएको छ। 

गत मार्चमा आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र उपाधि जित्दै नेपालले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाएको थियो। एसिया क्षेत्र उपाधि जितेपछि नेपाली टोलीले पहिलो प्रतियोगिता खेल्न लागेको हो। 

कप्तान देव खनालले टोलीमा सबै खेलाडी लयमा रहेको सुनाउँछन्। देवले भने प्रिमियर कपका लागि खेलाडीहरू तयारीमा थिए, केही खेलाडीले भारतमा गएर अभ्यास गरेका थिए त्यसैले टोली लयमा नै छ। 

नेपालको सिनियर टोलीले एसिया कप र एसियन गेम्समा भारतलाई कडा टक्कर थियो। जसको कारणले नेपालको उमेर समूहका खेलाडीको मनोबलमा पनि फरक पर्ने बताउँछन्। 

‘सिनियर टोलीको प्रदर्शनले यू–१९ को मनोबलमा पनि एकदमै फाइदा पुग्छ। हामीले टिभीमा हेर्दै आएका छौं। सिनियर टोलीले जसरी खेलेका छन्। त्यो चाहीँ विश्वकै आखाँमा परेको छ,’ उनले भने, ‘सिनियर दाईहरुले जसरी खेलिराख्नु भएको छ। त्यस्तै हामी यू–१९ पनि पनि टेस्ट टोलीलाई कडा प्रतिस्पर्धा दिएर सकेसम्म हराउन प्रयास गर्छौं।’ 

प्रिमियर कपको शीर्ष ३ मा रहने टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कपका स्थान बनाउनेछ।

टोलीका स्पिनर दिपेश कँडेलले विश्वकप छनोटमा जादुमय प्रर्दशन गरेका थिए। यो बीचमा उनले आफूलाई तयारीमा राखिरहेको सुनाए। यो अघिको प्रर्दशनमा आफ्नो लागि विगत भएका कारण आउने प्रर्दशनमा नै आफूले ध्यान दिइरहेको सुनाए। 

सिनियर टोलीसँगको अभ्यास खेलले आफूहरूमा छुट्टै इनर्जी आएको अनुभव गरेका छन्। प्रिमियर कपका लागि सबै टोली तयारीमा व्यस्त रहेकाले विश्वकप अघिका यी प्रतियोगिताले आफूलाई ठूलो सहयोग पुग्ने खनाल सुनाउँछन्।

उनले भने, ‘प्रिमियर कपमा आफ्नो भूमिकामा राम्रो गर्ने हो। यसलाई दबाबभन्दा पनि राम्रो अवसरको रुपमा लिएको छु। विश्वकपमा छनोट भएको भएर च्याम्पियन जसरी नै खेल्नेछौँ।’

नेपाल रहेको समूह ‘ए’ मा बहराइन, साउदी अरेबिया र ईरान छन्। समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन तथा समूह ‘सी’मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन्। समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन्।

समूहका शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनमा स्थान बनाउनेछन्। 

गत मार्चमा आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र उपाधि जित्दै नेपालले आगामी फागुनमा श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाएको थियो। एसिया क्षेत्र उपाधि जितेपछि नेपाली टोलीले पहिलो प्रतियोगिता खेल्न लागेको हो। 

नेपालले यो प्रतियोगितालाई विश्वकपको तयारीका रुपमा लिएको छ। प्रिमियर कप असोज २५ देखि कार्तिक ७ गतेसम्म चल्नेछ। 

समूह चरणको पहिलो खेलमा नेपालले २५ गते इरानसँग खेल्दै प्रिमियर कपको सुरुवात गर्नेछ। असोज २८ गते घटस्थापनाको दिन बहराइनसँग तथा समूह चरणको अन्तिम खेलमा कार्तिक २ गते साउदी अरेबियासँग खेल्ने तालिका छ।

पछिल्लो समयको प्रदर्शनले युवा टोली उत्साहित रहेको टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले बताए। नेपालले समूह चरणमा पहिलो पटक बहराइन, साउदी अरेविया र इरानसँग खेल्नेछ। 

त्यसैले समूह चरणका तिनै खेल आफूहरूका लागि महत्त्वपूर्ण रहेको प्रशिक्षक टमाटाले बताए। 

उनले भने, ‘राम्रो नराम्रो जस्तो टोली भएपनि हामी च्याम्पियन बनेर आउने भनेर सोच बनाएका छौँ। वर्षाका कारण तयारीमा केही असर परेपनि इन्डोर तयारीमा गरेका थियौँ।’

७ वर्षपछि विश्वकपमा छनोट भएको टोली राम्रो कारण नै निरन्तरता दिइएको टमाटा बताउँछन्। यो बीचमा अन्य खेलाडीलाई हेरे पनि पुरानै टोलीलाई नेपालले निरन्तरता दिएको हो। 

प्रिमियर कप एसिया कपमा छनोट हुने राम्रो अवसर हो, मानसिक रुपमा टोली बलियो रहेको कारण राम्रो प्रर्दशन गर्ने आशामा मुख्य प्रशिक्षक टमाटा छन्। 

प्रिमियर कपलाई नेपालले यू–१९ विश्वकपको तयारीका रुपमा समेत लिएको छ। विश्वकपमा नेपाल कठिन समूहमा परेको छ। नेपाल अफगानिस्तान, न्युजिल्याण्ड र पाकिस्तान रहेको समूहमा छ। 

तर यसअघि नेपालले टेष्ट राष्ट्रलाई हराएको इतिहास भएपनि अहिलेको अवस्था फरक हुन सक्ने भन्दै प्रिमियर कपपछि त्यसको तयारीमा जुट्ने सुनाउँछन्। प्रिमियर कप र एसिया कप नेपालका लागि विश्वकपको राम्रो तयारी हो। 

सिनियर टोलीको प्रर्दशनले पनि यू–१९ टोलीको प्रदर्शनमा प्रभाव पर्ने प्रशिक्षक टमाटा सुनाउँछन्। यू–१९ टोली भनेको सिनियर टोलीका लागि ढोका खोल्ने बेला हो। आफूहरू पनि तयार रहेको देखाउने बेला भएका कारण खेलाडीहरु उच्च मनोबलमा रहेको सुनाए। 

नेपाली टोलीः
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल (कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा

वैकल्पिक खेलाडी:
प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .