ad ad

खेल


श्रीलंकामा एसिया कप हेर्दा बालेनले जे देखे...

श्रीलंकामा एसिया कप हेर्दा बालेनले जे देखे...

श्रीलंकाको केन्डीस्थित पालेकेलेमा सोमबार नेपाल–भारतको खेल हेर्दै मेयर बालेन शाहलगायत।


नेपालखबर
भदौ १९, २०८० मंगलबार ११:३३, काठमाडौँ

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल–भारतको खेल प्रत्यक्ष हेरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आफूले गरेका अनुभव बाँडेका छन्।

उनले त्यहाँ देखिएका दृश्य र आफूले गरेका अनुभूति मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सेयर गरेका हुन्। 

उनले त्यहाँ श्रीलंकाको अध्यागमन नै चकित पर्ने गरी विभिन्न देशबाट क्रिकेटप्रेमी नेपाली ओइरिएको उल्लेख गरेका छन्। यस्तै उनले अहिलेसम्म टीभीमा मात्र देखिएका भारतीय क्रिकेट खेलाडी विराट कोहली, रोहित शर्माहरूलाई आँखै अगाडि देख्न पाएको खुसी पनि व्यक्त गरेका छन्।    

सुरुमा उनीहरूले नेपाललाई यसै जित्छौँ भन्ने हाउभाउ देखाएको तर नेपालको ब्याटिङ बढ्दै गएपछि भारतीय खेलाडी रक्षात्मक बनेको उनले बताएका छन्। 

उनी भन्छन्, ‘ठीक त्यही बेला हामीले क्रिकेट जित्यौँ। अन्तिम नतिजा जे आए पनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ।’

यस्तै उनले श्रीलंकाको क्रिकेट रंगशाला पनि हाम्रै त्रिविमा रहेको क्रिकेट स्टेडियमजस्तै लागेको अनुभव सुनाएका छन्। योसँगै उनले त्यस्तै रंगशाला बनाउन सकिने आँट पनि गरेका छन्। सरकारले जग्गाको व्यवस्था गरे त्यस्तो रंगशाला बनाउन महानगरपालिकाले पहल गर्ने घोषणा उनले गरेका छन्।  

उनले भनेका छन्, ‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ।’

अब उनको अनुभव उनकै शब्दमा

फ्यानको रूपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमन (Immigration) को कर्मचारीको प्रश्न थियो- ‘यति धेरै नेपालीहरू एक्कासि श्रीलंका किन आइरहेका छन्?’ श्रीलंकाको अध्यागमन चकित पर्नेगरीको संख्यामा नेपालीहरू त्यहाँ पुग्दै थिए। 

त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०/५० जनाजति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरूको संख्या १५०० देखि २००० को बीचमा थियो। नेपाली क्रिकेट फ्यानहरू विभिन्न देशबाट श्रीलंका पुगेका थिए। अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरूको मात्रै खर्च ३० करोड पुग्यो होला। 

टीभीमा देखिने विराट, रोहितहरूलाई आँखाअगाडि मैदानमा देख्न पाएका थियौँ। उनीहरूको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो। खेलको सुरुमा उनीहरूको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भएजस्तो देखिन्थ्यो। विश्वकै उत्कृष्ट खेलाडिहरूमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वाभाविक पनि थिएन। तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडीहरूको हाउभाउ पूरै रक्षात्मक बनिसकेको थियो। ठीक त्यही बेला हामीले क्रिकेट जित्यौँ। अन्तिम नतिजा जे आए पनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ। 

गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियमजस्तै थियो, केही प्याराफिट र अलि बढी सुविधा। नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८०/९० करोडमा नै बन्छ सायद। 

यसैले नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ। यस्तो मात्रै रंगशाला र केहि ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ। र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुनसक्छ। त्यो बाहेक खेलाडी र तल्लोतह (Grassroot) मा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुनेगरी बलिङ नेट (Bowling Net) राख्ने प्रबन्ध पहिले नै गरिसकेको छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .