ad ad

खेल


लय गुमाएको मछिन्द्र : ए डिभिजन लिगमा गर्ला पुनरागमन?

प्रमुख प्रशिक्षक र कप्तानले बीचैमा छाडे क्लब
लय गुमाएको मछिन्द्र : ए डिभिजन लिगमा गर्ला पुनरागमन?

ए डिभिजन लिगमा मछिन्द्रका खेलाडी बल अघि बढाउँदै। तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
चैत २४, २०७९ शुक्रबार १८:३९, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिगको छैटौं चरणका खेलहरु शुक्रबारदेखि सकिएका छन्। 

लिगको छैटौँ चरण सकिँदासम्म मनाङ मर्स्यााङ्दी क्लब अंक तालिकाको शीर्ष स्थानमा छ। 

लिगको दोस्रोमा जावालाखेल युथ क्लब र तेस्रो स्थानमा चर्च ब्वाइज युनाइटेड क्लब रहेका छन्। 

घरेलु फुटबलको मेरुदण्डको मानिने ए डिभिजन लिगको छैटौँ चरणसम्मलाई हेर्दा गोल निस्कन मुस्किल परिरहेको छ। 

नवप्रवेशी चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटारले स्पर्धा गरिरहेका छन्। लिगमा अहिलेसम्म चर्च ब्वाइज र मनाङ दुई टोली अपराजित छन्। 

चर्च ब्वाइजले लिगको ३ खेलमा जित र समान ३ खेलमा बराबरीको नतिजा निकालेको छ। ६ खेलबाट १२ अंक जोडेको चर्च ब्वाइज तालिकाको तेस्रो स्थानमा छ। 

अपराजित मनाङले ४ खेलमा जित र २ खेलमा बराबरीको नतिजा निकाल्दै १४ अंकमा तालिकाको शीर्ष स्थानमा छ। 

लिगको अहिलेसम्मको यात्रालाई हेर्ने हो भने दुई पटकको च्याम्पियन मछिन्द्र फुटबल क्लबले सम्झनलायक प्रर्दशन गर्न सकेको छैन। 

मछिन्द्रले ६ खेलमा १ खेलमा मात्रै जित निकाल्दा ३ खेलमा बराबरी र २ खेलमा हारको सामना गरेको छ। 

हिमालयन शेर्पासँगको बराबरीपछि मछिन्द्रका सहायक प्रशिक्षक सन्तोष न्यौपानेले आफूहरुको टोली सेट हुन समय लागेका सोचेअनुसारको नतिजा निकाल्न नसकेको बताए। 

'हाम्रो टोलीका मुख्य खेलाडीहरु चोटका कारण राम्रो सेट हुन पाएका छैनन्', उनले भने, 'त्यसैले फिनिसिङमा समस्या भइरहेको छ।' 

उनले टोलीमा प्रतिभाशाली खेलाडी भएकाले अझै आश गर्ने ठाउँ रहेको बताए। 'हामीसँग धेरै प्रतिभाशाली खेलाडी छन्, उनीहरु जुन पोजिसनमा पनि राम्रो खेल्न सक्छन्', उनले भने, 'भुटानका चेन्चो ग्याल्जेन आएपछि टोलीमा केही सुधार हुने आशा हामीले लिएका छौँ।'

चेन्चो टोलीमा अनुबन्ध भएपछि सेट हुन केही समय लाग्छ। अबका खेलहरुमा राम्रो हुन सक्ने विश्वास उनले लिएका छन्। 

साविक विजेता मछिन्द्रबाट यो पटक पनि गत सिजनको जस्तै खेलको अपेक्षा थियो। तर क्लबले सोचे अनुसारको नतिजा दिन नसक्दा फ्यानहरु पनि निराश छन्। 

लिग जारी रहँदा क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएपछि सहायक प्रशिक्षकले टोली सम्हालिरहेका छन्। अबका बाँकी खेलमा पनि न्यौपानेले नै टोली सम्हाल्ने बताइएको छ।
 
यो सिजन राम्रो नतिजा ल्याउन नसके पनि आफूहरु उपाधिका लागि खेल्ने न्यौपानेले बताएका छन्। उपाधि जित्न नकसेको अवस्थामा दोस्रो र तेस्रो स्थानका लागि भिड्ने न्यौपानेले बताए। 

लिगकै बीचमा टोलीका कप्तान सुजल श्रेष्ठ लगायत खेलाडीको विदेश पलायनका कारण पनि मछिन्द्रले आफूअनुकुल नतिजा दिन सकेको छैन। 

कप्तान सुजल श्रेष्ठ बीचमै लिग छाडेर अष्ट्रेलिया लागेपछि मछिन्द्रले अन्य खेलाडी अनुबन्ध प्रयास गरिरहेको छ। 

मछिन्द्रले पुरानै विरासत फर्काउन भुटानी राष्ट्रिय टोलीका कप्तान चेन्चोलाई टोलीमा अनुबन्ध गरेको छ। 

चेन्चोले छैटौँ चरणमा हिमालयन शेर्पाविरुद्धको खेलमा नेपालको घरेलु लिगमा बिहीबार डेब्यु गरे। चेन्चोले डेब्यु गरेको खेलमा मछिन्द्रले शेर्पासँग बराबरी नतिजा निकाल्यो।

खेलको इन्ज्युरी समयमा फरवार्ड विमल घर्तीमगरले गोल गरेपछि मछिन्द्रले शेर्पासँग अंक खोस्न सफल भएको थियो। 

दुई पटकको लिग च्याम्पियन मछिन्द्रले यो पटकको लिगको सुरुवातमै जावलाखेल युथ क्लबसँग ३–१ को हार व्यहोरेको थियो। 

दोस्रो राउण्डमा त्रिभुवन आर्मी फुटबल क्लबसँग २–० ले पराजित भएको मछिन्द्रले तेस्रो चरणमा मनाङ मर्स्याङ्दी क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो।

गत सिजन शानदार सुरुवात गरेको मछिन्द्रलाई यस पटक अंक जोड्न तेस्रो राउण्डसम्म पर्खनु परेको थियो। जितको स्वाद भने मछिन्द्रले चौथो चरणमा लिन पायो। 

मछिन्द्रले चौथो चरणमा नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले हराएको थियो। पाँचौ चरणमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो। 

छैटौँ चरणमा हिमालयन शेर्पासँग एक एक गोलको बराबरी खेल्दै मछिन्द्रले अंक खोसेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .