टर्कीमा भूकम्पले भत्किएको भवनको भग्नावेषमा पुरिएका चर्चित फुटबल स्टार क्रिश्चियन अत्सु जीवित भेटिएका छन्। बेलायती अनलाइन डेलीमेलका अनुसार अत्सु जीवितै फेला परेका हुन्।
अहिले उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ।
इङ्लिस क्लब चेल्सी र न्युक्यासलका पूर्व स्टार क्रिश्चियन अत्सु भूकम्पले पूरै ध्वस्त भएको ठूलो भवनमुनि फसेका थिए।
अहिलेसम्म उक्त भूकम्पका कारण ३ हजार ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्।
आत्सु पछिल्लो समय टर्किस सुपर लिग क्लब हातायोस्पोरबाट खेलिरहेका थिए।
३१ वर्षीय उनी यसअघि सन् २०१३ मा इङ्लिस क्लब चेल्सीमा पनि आवद्ध भएका थिए। तर उनले चेल्सीबाट खेल्न पाएनन्। उनलाई क्लबले ऋणमा इङ्लिस क्लबहरु एभर्टन र न्युक्यासलमा पठाएको थियो।
उनी भवनमा पुरिएपछि पूर्वक्लब न्युक्यासलले राम्रो समाचारका लागि प्राथना गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो। उनले न्युक्सासलमा रहँदा १०७ खेल खेल्दै ८ गोल गरेका थिए। त्यसपछि उनी सन् २०२१ मा साउदी अरेबियाको अल रायद क्लबमा आवद्ध भएका थिए।
त्यसपछि अघिल्लो सिजन उनी साउदीबाट टर्की पुगेका थिए। आत्सुले यही आइतवार मात्रै हातायोस्परबाट टर्किस लिग खेलेका थिए।
उक्त खेलमा उनले खेलको अतिरिक्त समयको सातौँ मिनेटमा गोल गर्दै टिमलाई जिताएका थिए।
प्रतिक्रिया