ad ad

खेल


भलिबलमा किन कमजोर हुँदै छ गण्डकी?

भलिबलमा किन कमजोर हुँदै छ गण्डकी?

लक्ष्मी जि.सी
माघ १७, २०७९ मंगलबार ७:३१, काठमाडौँ

साना ठूला प्रतियोगिताको निरन्तर आयोजना, खेलाडी उत्पादन र दर्शकको रुचिका आधारमा भलिबलका लागि गण्डकी प्रदेश (तत्कालीन पश्चिमाञ्चल क्षेत्र) उर्वर भूमि हो। 

गत शनिबार पोखरामा सम्पन्न तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा पोखरा रंगशालाको हाताभित्र रहेको भलिबल कोर्टमा हजारौँको संख्यामा दर्शकको उपस्थितिले पनि त्यहाँको लोकप्रियतालाई मापन गर्न सकिन्छ। 

अझ महिला भलिबलमा त कुनै बेला गण्डकी अझ त्यसमा पनि कास्की जिल्लाको दबदबा नै थियो। राष्ट्रिय महिला भलिबल टोलीबाट प्रतिनिधित्व गरेका मन्जु गुरुङ, सिपोरा गुरुङ हुन् वा अहिले टोलीकी कप्तान अरुणा शाही, उनीहरुको चर्चाको सुरुवात कास्की अझ भन्दा पोखराबाटै भएको थियो। 

ढोरपाटन क्लबले आयोजना गर्ने महिला लिगमा पोखराकै तीनवटा स्कुलले भाग लिएको इतिहास पनि छ। लिगमा २०६३ देखि लगातार पाँच वर्ष ज्ञानुबाबा च्याम्पियन बनेको थियो। त्यो सफलताको कथा अब इतिहासमा सीमित भएको छ।

माघ १ गते सम्पन्न सातौँ एनभीए क्लब च्याम्पियनसिपका दौरान अरुणाले भनेकी थिइन्, ‘हामीलाई टोलीमा पर्न निकै मिहिनेत र संघर्ष गर्नुपर्थ्यो। अहिले खेलाडी भेट्न पनि मुस्किल छ।’ 

अरुणाको यो भनाइबाट पनि प्रदेशमा महिला भलिबलको अवस्था झल्किन्छ। भलिबललाई राष्ट्रिय खेलको रुपमा निर्णय गरिएको ५ वर्ष नाघिसकेको छ। तर गण्डकीको खास गरी महिला भलिबलको अवस्था हेर्ने हो भने टिठ लाग्दो बन्दै गएको छ।  

कैलाली जन्मथलो भए पनि राष्ट्रिय टोलीकी सरस्वती चौधरीलाई पोखराले नै भलिबल खेलाडीको परिचय दिलाएको थियो। उनी अहिले एपीएफ र राष्ट्रिय टोलीकी सदस्य हुन्। सोही टोलीकी हिरा केसीले पनि पोखराबाट भलिबलको यात्रा सुरु गरेकी थिइन्। अहिले अरुणापछि गण्डकीबाटै भलिबल खेल्न सुरु गरेर राष्ट्रिय टोलीमा पर्ने खेलाडी तयार हुनेमा शंका गर्नुपर्ने अवस्था बनेको छ। 

महिलाभन्दा पछिल्लो समय गण्डकीको पुरुष टोली केही आशालाग्दो र दर्शकले आश गरेको टोली हो। तेस्रो संस्करणसम्म आइपुग्दा गण्डकीको पुरुष टोलीले नै दुई पटक टाइगर कपको उपाधि जित्यो। पहिलो संस्करणको फाइनलमा आर्मीलाई हराएको गण्डकीले यसपटकको फाइनलमा अर्को विभागिय टोली एपीएफलाई हराएको थियो। 

पहिलो संस्करणमा आफ्नै प्रदेशका खेलाडीबाट च्याम्पियन बनेको गण्डकीले यसपटकको सफलताका लागि भने भारतीय खेलाडी पनि टोलीमा समावेश गर्नुपरेको थियो। भलिबलका प्रत्यक्ष प्रसारणका क्रममा देखिने कमेन्टहरुबाट पनि गण्डकीमा भलिबलको लोकप्रियताको अनुमान गर्न सकिन्छ। तर खेलाडी उत्पादनको अहिलेको अवस्था हेर्दा भने निराशाजनक अवस्था छ। 

मञ्जु र सिपोराको पुस्ता अहिले भलिबलमा छैन। उनीहरुसँगै खेल्दै भलिबलमा जमेकी अरुणाले अहिले पनि प्रदेशको चिनारी राखिरहेकी छिन्। तर, खेलाडी उत्पादन हुन नसक्ने हो भने विभागबाट खेल्नेबाहेक अब गण्डकीका खेलाडी महिलाको राष्ट्रिय टोली पुग्ने सम्भावना एकदमै कम देखिन्छ। उषा भण्डारी गण्डकीकै भए पनि नेपाल पुलिस क्लब हुँदै उनी राष्ट्रिय टोलीमा पुगेकी हुन्। 

तीन साताको बीचमा गण्डकीको महिला र पुरुष टोलीले दुई प्रतियोगितामा भाग लिए। टाइगर कपमा पुरुष टोलीले जितेको उपाधिबाहेक सन्तुष्ट हुने अर्को ठाँउ छैन। भारतीय खेलाडी राखेर च्याम्पियन बनेको गण्डकी माघ १ मा काठमाडौंमा भएको एनभीए क्लब च्याम्पियनसिपमा कमजोर थियो। शीर्ष ८ मा परेर एनभीए लिगका छनोट भए पनि गण्डकी सेमिफाइनल पुग्न सकेन। 

महिला टोलीको अवस्था त्योभन्दा कमजोर रह्यो। टाइगर कपमा सहभागी ४ टोलीमा गण्डकी पुछारमा रह्यो। एनभीए क्लब च्याम्पियनसिपमा पनि तुलनात्मक रुपमा निकै कमजोर टोलीमाथि जित निकाल्दै एनभीए लिगका लागि बल्लतल्ल छनोट भएको छ।

यसकारण महिला भलिबलमा बलियो थियो गण्डकी
एक समय थियो जहिले गण्डकीमा महिला खेलाडी उत्पादन र प्रतियोगितामा सहभागिताका लागि प्रतिस्पर्धा थियो। महिला भलिबलका प्रतियोगितामा कास्की ३ वटा टोलीसम्म सहभागी हुन्थे। अहिले एउटा टोली तयार पार्न पनि गण्डकीलाई धौधौ परेको छ। सफलताका लागि भन्दा पनि अहिले सहभागितामै मात्र गण्डकीको उपस्थिति हुने गरेको छ। 

भलिबलकै कारण पोखराका ज्ञानुबाबा, टप्स, फिस्टेल स्कुलले राष्ट्रियस्तरमा परिचय बनाएका थिए। तर अहिले ती स्कुल भलिबलबाट टाढा छन्। त्यहाँ लगभग भलिबलको अवस्था शून्य छ। 

ढोरपाटन महिला लिगमा २०६३, २०६४, २०६५, २०६६ र २०६७ लगातार ज्ञानुबाबा च्याम्पियन बनेको थियो। २०६८ मा प्रतियोगितामा धाँधली भएको ज्ञानुबाबाको गुनासो रह्यो। नेपाल भलिबल संघ र राष्ट्रिय खेलकुद परिषद्मा निवेदन दिए पनि त्यसको सुनुवाइ नभएपछि ज्ञानुबाबाले विस्तारै आफूलाई भलिबलबाट अलग बनाउँदै लग्यो।

प्रतियोगिता सकिएको ६ महिनापछि पेनाल्टी फि दिए पनि त्यो घटनाले मानसिक रुपमा आफूहरु नखेल्ने अवस्थामा पुगेको ज्ञानुबाबाका संस्थापक कृष्ण बहादुर गुरुङले स्मरण गरे। त्यसपछिका प्रतियोगितामा ज्ञानुबाबाले सहभागिता नै जनाए। 

ढोरपाटन महिला लिग खेल्न छाडे पनि ज्ञानुबाबाले अन्य प्रतियोगितामा पनि भाग लिएन। अभिभावकले पनि खेलेर केही नहुने भन्दै विद्यार्थीलाई खेलभन्दा पढाइमा जोड दिन सुझाव दिए पनि ज्ञानुबाबा त्यसरी नै अघि बढ्यो। 

त्यसअघि विद्यालयले आवासिय सुविधासहित भलिबल खेल्नेलाई छात्रवृत्ति दिन्थ्यो। भलिबलमा लगानी गरे पनि सरोकारवाला क्षेत्रबाट कुनै सहयोग र मूल्याङ्कन नभएपछि ज्ञानुबाबाले भलिबलमा लगानी गर्न छाड्यो। 

मञ्जु, अरुणाजस्ता खेलाडी स्कुलले उत्पादन गरे पनि सरोकारवाला निकायबाट क्रेज नभएको गुरुङको गुनासो छ। त्यसले नयाँ पुस्ताका विद्यार्थीहरुमा उत्साह हराउँदै गयो। 

उनले भने, ‘अनि हामीले पनि भलिबल सिकाउन, खेलाउन छाड्यौँ। खेलेर विद्यार्थीको भविष्य पनि सुरक्षित नहुने, विद्यालयको कामको कतैबाट कदर नहुने भएपछि त्यसबाट अलग हुनु नै उपयुक्त ठान्यौँ।’ 

भलिबलकै लागि २ प्रशिक्षक राखेर प्रशिक्षण दिने गरेको ज्ञानुबाबाले २०७० को आसपासबाट भने पूर्णरुपमा बन्दै गर्यो। 

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाउन सफल अरुणा नै ज्ञानुबाबाको पछिल्लो पुस्ताकी खेलाडी हुन्। अरुणाको पुस्तापछि खेलाडी उत्पादन नगर्दा दुःख लागे पनि आफूहरुसँग कुनै विकल्प नभएको गुरुङ बताउँछन्। 

ज्ञानुबाबाजस्तै फिस्टेल एकेडेमीका खेलाडी एक समय पश्चिमाञ्चलसँगै राष्ट्रको शान थिए। सिपोरा गुरुङपछि सरस्वती र हिरा जस्ता खेलाडी उत्पादन गर्यो। कैलालीकै सरस्वतीलाई आवासीय सुविधासहितको छात्रवृत्ति दिएर फेस्टरले खेलाडीका रुपमा तयार पारेको थियो। 

सरस्वती र हिरापछिको पुस्ता तयार पार्नमा एकेडेमी उत्साहित भएन। एकेडेमी अहिले खेलाडी उत्पादनको योजना छाडेर शिक्षालाई नै जोड दिने योजनामा पुगेको छ। तर खेल पूर्वाधार निर्माणमा भने स्कुल पछि हटेको छैन। नवौँ राष्ट्रिय खेलकुदका क्रममा स्विमिङको खेल यही स्कुलमा आयोजना भयो। 

खेलाडी उत्पादन गर्ने तर सरोकारवालाबाट सहयोग, प्रशंसा वा कामको कदर नहुँदा दुःख लागेको फिस्टेलका अध्यक्ष चिनु रानाभाटको अनुभव छ। 

‘खेलाडीले पाउनुपर्ने सम्मान पाउन नसकेपछि नयाँ पुस्ता आकर्षित हुँदैनन्’, उनले भने, ‘अब भलिबल खेलाडी उत्पादन गर्ने योजना फिस्टेलसँग छैन।’ 

विद्यालयले पहिलेजस्तो भलिबललाई प्राथमिकतामा नराख्दा खेलाडी उत्पादनमा कठिनाइ भएको गण्डकी प्रदेश परिषद्का भलिबल प्रशिक्षक रमेश केसी सुनाउँछन्। 

गण्डकीलाई दुई पटक टाइगर कपमा च्याम्पियन बनाएका केसी भलिबल खेलाडी उत्पादनका लागि विद्यालयहरुलाई पुनः तयार पार्न सकिएको अवस्था भविष्यमा खेलाडी उत्पादन गर्न सकिनेमा आशावादी छन्। 

तर, त्यसको पहल कसले गर्ने भन्ने ठोस जवाफ उनीसँग पनि छैन। प्रदेशबाट सीमित मात्रामा उत्पादन हुने खेलाडीले पनि रोजीरोटीको ग्यारेन्टीका लागि विभागको मुख ताक्नुपर्ने अवस्था रहेकाले पनि प्रदेशमा भलिबल टोली कमजोर हुने केसीको अनुभव छ। 

भलिबलमा अलग छाप बनाएको गण्डकीलाई पुरानै अवस्थामा फर्काउन अहिले नै पहल नगर्ने हो भने आउने दिनमा महिला पुरुष दुवै प्रतियोगितामा हुने सहभागिता औपचारिकतामा सीमित हुने खतरा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .