ad ad

खेल


मेस्सीको सम्झौता थप्न पीएसजी बोर्ड छलफलमा छ : प्रशिक्षक गाल्टियर

मेस्सीको सम्झौता थप्न पीएसजी बोर्ड छलफलमा छ : प्रशिक्षक गाल्टियर

नेपालखबर
पुस २७, २०७९ बुधबार ११:४९, काठमाडौँ

अर्जेन्टिनी स्टार लियोनल मेस्सी अन्य क्लबसँग सम्झौताका लागि खुला भएपछि पेरिस सेन्ट जर्मन (पीएसजी) ले छलफल अगाडि बढाएको छ। पीएसजीमा मेस्सीको सम्झौता अन्तिम ६ महिना मात्रै बाँकी छ। यही जनवरीमा मेस्सीले जुनसुकै क्लबसँग पूर्वसम्झौता गर्न सक्नेछन्। 

पूर्व क्लब बार्सिलोनामा फर्किन सक्ने चर्चाका बीच पीएसजीले पनि सम्झौता थपका लागि छलफल अगाडि बढाएको छ। पीएसजी र मेस्सीबीच सम्झौता थप गर्ने सहमति भइसकेको दाबी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरिरहेका थिए। 

तर पीएसजीकै प्रशिक्षक क्रिस्टोफ गाल्टियरले क्लबले मेस्सीसँग छलफल गरिरहेको जानकारी दिएका छन्। बुधबार राति घरेलु मैदानमा हुने १८औं चरणको खेलअघि सञ्चारमाध्यमसँग गाल्टियरले भने, ‘वार्ता जारी छ। हाम्रो बोर्डले मेस्सीसँग नयाँ सम्झौताका लागि छलफल गरिरहेको छ। बाँकी के भइरहेको छ मलाई पनि थाहा छैन।’

पीएसजीमा मेस्सीलाई खुसी देखेको पनि प्रशिक्षक गाल्टियरले बताए। ‘लियोलाई धेरै खुसी देखिरहेको छु। मलाई लाग्छ- क्लबको परियोजनामा उनी थप रहने देखेको छु’, उनले थपे।

पीएसजीमा मेस्सीको सम्झौता आगामी जुलाईसम्म मात्रै छ। तर सम्झौता सकिनु ६ महिना पहिले खेलाडी अन्य क्लबसँग पूर्वसम्झौता गर्न खुला हुन्छन्। मेस्सीले पनि अहिले नै अन्य क्लबसँग सम्झौताका लागि छलफल गर्न सक्नेछन्।

विश्व च्याम्पियन बनेर परिस फर्किएपछि मेस्सीले बुधबार राति पहिलो खेल खेल्दै छन्। गत सिजन खराब अवस्थामा गुजारेका उनले यो सिजन पीएसजीमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .