ad ad

खेल


खेल मैदानमा गाडी पार्किङ

खेल मैदानमा गाडी पार्किङ

नेपालखबर
मंसिर २८, २०७९ बुधबार १९:४, रेसुङ्गा

गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान गाडी पार्किङले कुरूप बन्दै गएको छ। केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी गाडीको पार्किङ बढेको हो। 

खेल मैदानमा गाडी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको स्थानीय मणि पाण्डेले बताए। खेल मैदानलाई पार्किङका रूपमा प्रयोग गर्दा विभिन्न खेल खेल्न पनि समस्या भइरहेको उनले बताए। 

चिदिचौर खेल मैदानमा यसअघि रेसुङ्गा नगरपालिका–८ ले सवारीसाधन पार्किङ, सिक्न र सिकाउन निषेध गरेको छ। तर यसको कार्यान्वयन भएको छैन। आज दिनभर यहाँ १५ देखि २० सम्म जीप र १० देखि १५ सम्म मोटरसाइकल पार्किङ गरिएको थियो। सवारीसाधन आएपछि चिदिचौरमा पार्किङ गर्दा खेल्ने समयमा नै असर गरेको छ। 

पार्किङ गर्ने अन्यत्र ठाउँ नभएकाले बढी सवारी हुँदा सवारीधनी आफैँले चिदिचौरमा पार्किङ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले बताए। उनले आफूहरूले चाहेर पनि हटाउन नसकेको गुनासो गरे। सर्वपक्षीय छलफलबाट पार्किङको स्थान तोकिने उनको भनाइ छ। तम्घासमा रहेको जीप पार्कमा गाडी पार्किङ कममात्रामा गरिएको छ। बसपार्क निकै साँघुरो छ। 

खेल मैदानमा गाडी पार्किङ गर्न नहुने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली बिलेले बताए। उनले सम्बन्धित निकायबाट पार्किङ स्थल अन्यत्र तोक्न आग्रह गरे। 

रेसुङ्गा नगरपालिका–८ का वडाध्यक्ष निरञ्जन काउछाले वडाको तर्फबाट निषेध गरिएकाले सवारी सिक्न, सिकाउन र पार्किङ गर्न नहुने बताए। उनले यसको कार्यान्वयन हुने जानकारी दिए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .