पोखरा प्रिमियर लिगमा आइतबार पारस खड्काको टोली चितवन राइनोजले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको विराटनगर टाइटन्स ८.२ ओभरमा ४२–६ को दयनीय अवस्थामा थियो।
त्यसपछि सातौं विकेटका लागि क्रिजमा आएका १७ वर्षे किशोर लोकेश बमले दबाबका बीच खेलेको पारीलाई राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले शानदार भनि अर्थ्याए।
एक समय आक्रामक पारी खेल्दै चितवनलाई दबाबमा पारेका लोकेशले विराटनगरका लागि जितको आशा जगाएका थिए तर १९औं ओभरको तेस्रो बलमा उनी ब्याटको माथिल्लो किनारा लाग्नु उनी र टोली दुवैका लागि दुर्भाग्य बन्यो। विराटनगरले १८ रनले खेल हारेपनि लोकेशले सबैको मन जितेँ।
अनुभवी करण केसीको बाउन्सरको सिकार भएर पवेलियन फर्कदा लोभलाग्दो पारी खेलेको भन्दै नेपालका पूर्व कप्तान पारससँगै चितवनबाटै खेलिरहेका यूएईका कप्तान रोहन मुस्तफा लगायतका खेलाडीले लोकेशलाई बधाई दिए।
‘म्याच फसिरहेको थियो। क्रिजमा पुग्ने बित्तिकै मैले विकेट राम्रो भएको ठानिसकेको थिए,’ ६ विकेट गुमाइसकेको अवस्थामा क्रिजमा उत्रदाको मनस्थिति सुनाउँदै लोकेशले भने, ‘त्यसैले आफ्नो रेञ्जमा बल पाउने बित्तिकै बाउन्ड्री कटाउँछु भन्ने विश्वास थियो। त्यही अनुसार खेल्दै गए।’
लोकेशमा मनस्थिति अनुसार नै प्रस्तुत भए। उनले चितवनका अनुवभी बलरहरु पारस खड्का, रोहन मुस्तफा, भुवन कार्की, विक्रम सोबको बल सीमा पार कटाए।
क्रिजमा आएको छैटौं बलमा खेलका म्यान अफ द म्याच भुवन कार्कीलाई छक्का प्रहार गर्दै उनले आक्रामक रुप देखाए। लगत्तै एक ओभर विराएर विक्रम सोबलाई दुई चौका र एक छक्का प्रहार गरे।
लोकेशले पारसको बलपनि निर्धक्कसँग खेले। १३औं ओभरमा बलिङमा आएका पारसको तेस्रो बलमा लोकेशले लामो छक्का प्रहार गरे। खेलपछि प्रतिक्रिया दिदैँ पारसले लोकेशको इनिङ्सलाई शानदार भन्दै अर्थ्याए।
‘शानदार। उसको प्रदर्शनबाट म निकै खुशी छु। विकेटले राम्रो खेलेको थियो। तर विकेट भएरमात्रै हुँदैन् ब्याटिङ पनि राम्रो गर्नुपर्छ। लोकेशले निकै राम्रो खेल्यो,’ पारसले खेलपछि लोकेशबारे भने।
लोकेशलाई इनिङ्स उकास्न अर्काेतर्फबाट अनुभवी चितवनका दिल्लीका खेलाडी पुनित मेहराले साथ दिइरहेका थिए। यी दुबैको जोडीले ७७ रनको साझेदारी गर्दै विराटनगरलाई उकासेका थिए। रोहन मुस्तफाले गरेको अठारौं ओभरको दोस्रो बलमा एक रन लिदैँ लोकेशले आफ्नो अर्धशतक ३३ बलमा पूरा गरे। तर, तेस्रो बलमा पुनितलाई बोल्ड पार्दै रोहनले लोकेशमाथि दबाब थुपारे। लगत्तै भर्खरै क्रिजमा आएका जितेन्द्र मुखिया पनि दोस्रो बलमै बोल्ड भए। त्यसले लोकेशमाथि दबाब झनै चुलियो।
त्यो १९ औं ओभर
आठ विकेट गुमाइसकेको अवस्थामा विराटनगरलाई अन्तिम १२ बलमा जितका लागि ३३ रन आवश्यक थियो। १९औं ओभरमा पारसले करण केसीको हातमा बल थमाए। करणलाई त्यो ओभरमा लोकेशको विकेट लिने जिम्मेवारी थियो। उता लोकेशलाई भने त्यहाँबाट खेल जिताउँन सक्छु भन्ने मनमा थियो।
‘यो मैदान(पोखरा रंगशाला)मा १२ बलमा ३० रन केही हैन। ४–५ छक्का मज्जाले हान्न सक्छु र जिताउँन भन्ने लागेको थियो,’ लोकेशले करण केसी १९ औं ओभरमा आउँदा मनमा सोचेको कुरा सुनाए।
पहिलो दुई बलमा उनले सोचेजस्तै भयो। करणले फुलर लेन्थमा फालेको पहिलो बललाई लोकेशले लगअन क्षेत्रमा ६ रनका लागि हिर्काइदिए। दोस्रो बल करणले छोटो फाले। लोकेशले डिप स्क्वायर लेगमा अर्को छक्का प्रहार गर्दै खेलमा रोमाञ्च थपे।
राष्ट्रिय टोलीका मुख्य तीव्र गतिका अनुभवी बलर करण र उदीयमान लोकेशबीचको घम्साघम्सी रोचक भइरहेका बेला तेस्रो बलमा करणले चलाखी गरे। थर्डम्यान र फाइन लेगका फिल्डरलाई अगाडि बोलाए। बलरले त्यस्तो फिल्डिङ सेटअप प्रायः स्लोवर वा यार्कर बल फाल्नुपर्दा गर्छन। त्यही अनुसार लोकेशले माइन्ड सेटअप बनाए। तर, अपेक्षा विपरित करणले बाउन्सर फालेँ।
‘मैले स्लोवर वा योर्कर आउँछ ठानेको थिए तर करण दाईले योर्कर फाल्नुभयो। त्यसका लागि म तयार थिएन। ब्याट उठाउँदा ढिलो भैसकेको थियो। माथिल्लो किनारा लाग्दै विकेटकिपरको हातमा गयो,’ लोकेशले खेल जिताउँने अधुरो इच्छासहितको भाव झल्काउँदै भने।
लोकेश ३६ बलमा उनले ५ चौका र ५ छक्कासहित ६२ रनको इनिङ्स खेल्दै पवेलियन फर्किए। फर्कदा विपक्षी कप्तान पारससँगै चितवनबाट खेलिरहेका यूएईका कप्तान रोहन मुस्तफाले समेत उनलाई राम्रो खेलेको भन्दै बधाई दिए। खेल विराटनगरले १८ रनले गुमायो तर लोकेशले मन जितेँ।
पाँचवर्षको तपस्या
सन् २०१४ मा नेपालले टि–२० विश्वकप खेलेपछि देशमा क्रिकेटमय वातावरण बनेको थियो। त्यही माहौलमा मिसिदैँ आठ कक्षामै पढ्दा गर्दा लोकेशले बल ब्याट समाउन थाले।
क्रिकेटमा पाँच वर्षको तपस्या पछि धनगढीका लोकेशले यसपटक पहिलो फ्रेन्चाइजी लिग खेल्ने अवसर पाए। यसअघि पनि उनले धनगढी प्रिमियर लिग तथा एभरेष्ट प्रिमियर लिगको खेलाडी अक्सनमा नाम दर्ता नगरेका हैनन् तर कसैले उनीमाथि भाउ लगाएको थिएन।
धनगढी क्रिकेट एकेडेमीको अभ्यास र स्थानीय प्रतियोगिताहरुमा नियमित प्रदर्शनपछि उनले अघिल्लो वर्ष काठमाडौंमा भएको ट्यालेन्ट हन्टमार्फत यू–१९ टोलीमा स्थान बनाए। त्यसयता एसिया कप, आइसीसी एसिया पुर्वी क्षेत्रीय छनोट तथा हैदरावादमा नेपाली यू–१९ टोलीले भारतीय टोलीसँग खेलेको शृंखलाबाट आफूलाई परिपक्व बनाउँदै लगेपछि यसपटक विराटनगरले उनीमाथि पैसा खर्चिएको हो।
क्रिकेटमै लागेर उनको कक्षा १२ को पढाई समेत अड्कियो। क्रिकेटकै कारण एक्लो छोराले पढाईमा ध्यान नदिएपछि उनका बुबा उनीसँग कम रिसाएका थिएनन। तर, बिस्तारै राम्रो गर्दै गएपछि बुबा पनि खुशी भएको लोकेश सुनाउँछन।
लोकेशले उत्कृष्ट प्रदर्शन गरेपछि पारसले धनगढीकै अर्का क्रिकेटर तथा चितवनका सहकर्मी भुवन कार्कीबाट उनीबारे जानकारी लिएका थिए।
‘खेलअघि पनि लोकेशले निकै मेहनत गरेका मैले थाहा पाएको छु। जुन आज देखियो पनि,’ पारसले भने, ‘आफूले आफूलाई प्रस्तुत गर्ने यस्तै प्रतियोगिताको बेला हो। लगातार प्रदर्शन गर्ने हो भने पहिलेपनि प्रिमियर लिगमा प्रदर्शन गर्ने खेलाडीहरु राष्ट्रिय टिममा परेका छन्। तर, एउटा प्रदर्शनले मात्रै केही ग्यारेन्टी गर्दैन। लगातार प्रदर्शन दिनैपर्छ। उ कडा मेहनत गर्ने खेलाडी भएकाले उसले आफूलाई अगाडि बढाउँदै लैजाने विश्वास छ।’
विश्वकप खेलाउने सपना
गत अप्रिलमा भएको आइसीसी यू–१९ विश्वकप छनोटमा वर्षाले प्रभावित खेलमा नेपाल यूएईसँग डकविथ लुविस पद्धतिका आधारमा एक रनले पराजित भएको थियो। उक्त पराजयसँगै नेपाल लगातार तेस्रो पटक नेपाल यू–१९ विश्वकपमा पुग्नबाट रोकियो।
सोही कुरा लोकेशलाई समेत खड्किएको छ। दुई वर्ष अझै यू–१९ खेल्न योग्य उमेर बाँकी रहेका लोकेशको नेपाललाई विश्वकपमा पुर्याउने सपना छ।
‘विश्वकप ठूलो प्लेटफर्म हो। हामीले पछिल्लो तीन विश्वकप गुमाएका छौं। यू–१९ टोलीबाट पछिल्लोपटक लगातार खेलिरहेकाले पनि टोलीलाई विश्वकप खेलाउने मेरो सपना छ,’ लोकेशले टुंग्गाए।
यो पनि: क्रिजमा जम्दै ज्ञानेन्द्र
Shares
प्रतिक्रिया