कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईजले पहिलो जित दर्ता गरेको छ। काठमाडौको दशरथ रगंशालामा शुक्रबार भएको खेलमा ललितपुरे डर्बीमा ब्रिगेडले फ्रेण्ड्स क्लवलाई २–० ले पाखा लगाउँदै ३ अंक जोडेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ब्रिगेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो।
ब्रिगेडका लागि जया गुरुङले ८७ औं मिनेटमा गोल गर्दै अग्रता बनाएका हुन्। दोस्रो हाफको इन्जुरी समयमा रोशन राना मगरले गोल गर्दै जित सुनिश्चित गरे।
शुक्रबार नै ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा च्यासल युवा क्लव र मछिन्द्र क्लवले १–१ गोलको बराबरी गर्दै अंक बाँडे। खेलको २८ औं मिनेटमा च्यासलका कप्तान सन्तोष साहुखलले अग्रता बनाएपनि ८८ औं मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले बराबरी गोल फर्काए।
पेनाल्टी क्षेत्रबाट तामाङको प्रहार गोलमा परिणत भएको थियो। पहिलो खेलमा जित दर्ता गरेका दुवै टोलीको समान ४ अंक छ। लिगको पहिलो खेलमा सहज जित दर्ता गरेका दुवै टोली उपाधिका मुख्य दाबेदारका रुपमा उभिएका छन्।

प्रतिक्रिया