ad ad

खेल


आक्रामक ब्राजिललाई डिफेन्सको चिन्ता

आक्रामक ब्राजिललाई डिफेन्सको चिन्ता

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १०:४४, काठमाडौँ

विश्व फुटबलमा सबै विश्वकप खेल्ने एक मात्रै र सर्वाधिक विजेता टिम हो–ब्राजिल। यो टोलीले सन् १९३० पछिका सबै विश्वकप खेलेको छ। उसले ५ पटक उपाधि जितेको छ। साथै दुईपटक फाइनलसम्म पुगेको छ। 

पेलेको नेतृत्वमा तहल्का मच्चाएको ब्राजिल अहिले नेयमारको युगमा आइपुगेको छ। आज पनि ब्राजिलको टोली सशक्त छ। ब्राजिलसँग बलियो इतिहास मात्रै होइन, वर्तमान पनि उत्तिकै दमदार छ।

दक्षिण अमेरिकाबाट ब्राजिल शीर्षस्थानमा रहँदै २०२२ को विश्वकपमा छनोट भएको हो। छनौटका १७ मध्ये १४ खेलमा जित हात पारेको थियो। 

३ खेलमा बराबरी गर्‍यो। अर्जेन्टिनासँग एक खेल रद्द भयो। १७ खेलमा ४० गोल गर्दा ब्राजिलले ५ गोल मात्रै खाएको छ। दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना अपराजित रहँदै विश्वकपमा छनोट भएका हुन्। 

विश्वकप सुरु भएको २० वर्षपछि सन् १९३० मा ब्राजिल पहिलोपटक फाइनलमा पुगेको थियो। घरेलु मैदानमा उरुग्वेसँग २–१ ले पराजित हुँदै उसले उपाधि गुमायो। तर १९५८ मा घरेलु टिम स्वीडेनलाई पराजित गर्दै ब्राजिलले पहिलोपटक विश्वकपको उपाधि उचालेको थियो।

त्यतिबेला स्वीडेन फाइनलमा ५–२ ले पराजित भयो। 

ब्राजिल त्यतिमै रोकिएन। १९६२ को विश्वकप पनि जित्यो। जतिबेला ब्राजिल इटालीपछि लगातार दोस्रोपटक विश्वकप जित्ने टिम बन्यो। १९३४ र १९३८ को विश्वकप लगातार इटालीले जितेको थियो। 

१९६६ मा विश्वकप उपाधिमा ह्याट्रिक गर्न चुक्यो। त्यो विश्वकपमा इङ्ल्याण्डले इतिहास रच्यो। इङ्ल्याण्डले पहिलो पटक उपाधि जित्दा जर्मनी ४–२ ले पराजित भएको थियो। 

तर मेक्सिकोमा १९७० मा भएको विश्वकपको फाइनलमा ब्राजिलले इटालीलाई हराएर सर्वाधिक विजेताको नाम लेखायो। त्यसपछिका ५ वटा विश्वकप ब्राजिलका लागि सुखद रहेनन्। जर्मनी र अर्जेन्टिनाले २/२ तथा इटालीले एकपटक जित्यो र फेरि ब्राजिलसँग उपाधिमा बराबरी गर्‍यो। १९९४ मा भने फेरि ब्राजिल उदायो। 

फाइनलमा ब्राजिल र इटाली पुगेका थिए। निर्धारित समय र अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन्। ट्राइब्रेकरमा ब्राजिलले ३–२ ले खेल आफ्नो पक्षमा पार्यो। अर्को चार वर्षपछि फ्रान्समा भएको विश्वकपमा पनि ब्राजिल फाइनलसम्म पुगेको थियो। तर घरेलु टोलीसँग पराजित हुँदै लगातार उपाधि उचाल्ने सपनामा धक्का लाग्यो। 

२००२ मा फेरि ब्राजिलको विश्वविजेतामा उदय भयो। जापानमा जर्मनीलाई २–० ले पराजित गर्दा ब्राजिलले सर्वाधिक विजेताको रुपमा आफूलाई उभ्याएको हो। अहिलेसम्म पनि यो रेकर्ड अरुले तोड्न सकेका छैनन्। जर्मनी र इटालीले समान चारपटक उपाधि जितेका छन्। उरुग्वे, फ्रान्स र अर्जेन्टिनाले समान दुईपटक जित्दा इङ्ल्याण्ड र स्पेनले एक एक पटक उपाधि जिते। 

विश्वकपमा अहिलेसम्म ब्राजिलियन रोनाल्डोले १५ गोल गर्दा पेलेको नाममा १२ गोल छ। 

ब्राजिलबाट तीन पटक विश्वकप जित्ने पेले एक्ला खेलाडी हुन्। पेलेले १९५८,१९६२ र १९७० को उपाधि ब्राजिललाई दिलाउँदा कुल १२ गोल गरेका थिए। रोनाल्डोले १९९४ र २००२ को उपाधि उचाले। 

ब्राजिलसँग आजको टिममा ३९ वर्षीय अलाभेसदेखि २१ वर्षीय रोड्रिगोसम्म अटाएका छन्। केही दिनमा कतार पुग्दा ब्राजिलसँग उपाधि चुम्नुबाहेक अर्को सपना हुने छैन। 

ब्राजिल समूह जी मा छ। ब्राजिल रहेको समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन्। ब्राजिलले पहिलो खेल मंसिर ८ गते मध्यराति सर्बियासँग खेल्नेछ। 

एउटै क्लबका तीन डिफेन्डर, ३९ वर्षीय अलभेस र ३८ वर्षीय सिल्भा पनि 

ब्राजिलको रक्षा पंक्तिमा इटालियन क्लब युभेन्टसका खेलाडीको वर्चश्व छ। युभेन्टसका तीन जना डिफेन्डर ब्राजिलको रक्षापंक्तिमा छन्। यस्तै मेक्सिकन क्लब पुगेका ३९ वर्षीय डानी अल्भेस पनि ब्राजिलको टिमबाट कतारमा हुनेछन्। 

बार्सिलोनाका लिजेन्ट खेलाडी अल्भेस केही वर्षपछि फेरि एक सिजन बार्सिलोनामा बिताएर मेक्सिकन क्लब पुगेका थिए। तर ३९ वर्षीय अल्भेसलाई एक सिजनका लागि ल्याएको बार्सिलोनाले सम्झौता थप गरेन र बिदा गर्‍यो। त्यसपछि उनी मेक्सिकोको टप क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। जारी सिजन १२ खेल खेलेका अलभेसले ४ गोलमा असिस्ट गरेका छन्। उनी पनि विश्वकपमा ब्राजिलको प्रमुख हिस्सा हुनेछन्। 

अहिलेको ब्राजिलियन टिममा तुलनात्मक रुपमा रक्षापंक्ति नै कमजोर रहेको आकलन छ। ब्राजिलको रक्षापंक्तिमा युभेन्टसका डानीलो, एलेक्स सान्द्रो र ब्रेमिर छन्। यस्तै सेभियाका एलेक्स टेल्स, चेल्सीका थिएगो सिल्भा, पीएसजीका मार्किनोस, रियल मड्रिडका एडिर मिलिटाओ पनि डिफेन्डरमा अटाएका छन्। 

३८ वर्षीय थिएगो सिल्भाले जारी सिजन चेल्सीबाट १२ खेल खेल्दा २ गोलमा असिस्ट गरेका छन्। उनी पीएसजीबाट चेल्सी पुगेपछि पनि पहिलो रोजाइमा खेल्दै आएका छन्। फ्रेन्च क्ल्ब पीएसजीका कप्तान समेत रहेका मार्किन्हस २८ वर्षका भए। 

उनले यो सिजन पीएसजीका १४ खेल खेलेका छन्। एक गोल उनको नाममा छ। रियल मड्रिडका २४ वर्षीय मिलिटाओ सेन्टर डिफेन्डर हुन्। उनी पनि रियलको पहिलो रोजाइमा छन्।

यो सिजन १२ खेलमा संलग्न मिलिटाओले ३ गोल गरेका छन्। सेन्टरब्याकका रोजाई मिलिटाओ राइट ब्याक र डिफेन्सिव मिडफिल्डमा पनि खेल्न सक्छन्। तर रियल र ब्राजिलले उनलाई सेन्टर डिफेन्डरमै प्रयोग गरिरहेका छन्। 

मिडफिल्डमा इङ्लिस क्लबको वर्चश्व
ब्राजिलको मिडफिल्डमा प्रिमियर क्लबका खेलाडीको वर्चश्व छ। ६ मिडफिल्डरमध्ये ५ जना इङ्लिस क्लबमा आवद्ध छन्। त्यो मध्य पनि क्यासिमिरो र फ्रेडसँगै म्यानचेस्टर युनाइटेडबाट खेल्छन्। क्यासिमिरो यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट युनाइटेडमा आवद्ध भएका हुन्। ३० वर्षीय क्यासिमिरोले युनाइटेडबाट ११ खेल खेल्दा एक गोल गरेका छन्। 

एक गोलमा असिस्ट छ। उनी ब्राजिलको डिफेन्सिभ मिडफिल्डमा पहिलो रोजाइमा हुनेछन्। फ्रेडले पनि ११ खेल नै खेलेका छन् र एक गोल नै गरेका छन्। तर क्यासिमिरो युनाइटेड पुगेपछि उनले कम समय पाउन थालेका छन्। वैकल्पिक खेलाडीका रुपमा मात्रै उनले अवसर पाउन थालेका छन्। फ्रेड अट्याक्ङि मिडफिल्डर हुन्। 

२९ वर्षीय फाबिन्हो प्रिमियर क्लब लिभरपुलमा आबद्ध छन्। जारी सिजन लिभरपुलको अवस्था खराब छ। फाविन्होले पनि १४ खेलमा गोलको खाता खोल्न सकेका छैनन्। तर काउटिन्हो टिममा नपर्दा फाविन्होले टिममा राम्रो अवसर पाउने देखिन्छ। अट्याकिङ मिडफिल्डरमा वेस्टह्यामका लुकास पाक्वेटा छन्। २५ वर्षीय पाक्वेटा प्रिमियर लिगमा खासै जम्न सकेका छैनन्।

प्रिमियर क्लब न्युक्यासल यो सिजन शीर्ष ५ मा छ। त्यहाँ ब्राजिलियन मिडफिल्डर ब्रुनो गुइमरेस छन्। उन यो सिजन राम्रो लयमा देखिएका छन्। यसअघि ब्राजिलियन टिममा पहिलो रोजाइमा नपरे पनि कतारमा उनी पहिलो रोजाइमा पर्न सक्छन्। 

जारी सिजन १२ खेलमा ३ गोल गरेका ब्रुनोले २ गोलमा असिस्ट पनि गरेका छन्। ब्राजिलियन टिमको मिडफिल्डमा घरेलु लिगका एभर्टन रिबेइरो मात्रै छन्। 

फरवार्ड नै ९ जना 


यसपटकको विश्वकपमा सबैभन्दा धेरै फरवार्ड भएको टिम हो ब्राजिल। ब्राजिलसँग यसपाली ९ जना फरवार्ड टिममा छन्। जो विश्वका ठूला क्लबमा खेलिरहेका छन्। यसका बाबजुद पनि ब्राजिलियन टिममा लिभरपुलका रोबेर्टो फिरमिन्होले स्थान पाएनन्। 

ब्राजिलियन टिमका प्रमुख खेलाडी हुन् नेयमार जुनियर। नेइमार फ्रेन्च क्लब पीएसजीमा आबद्ध छन्। जारी सिजन उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। गत सिजन खराब प्रदर्शनका कारण पीएसजी समर्थकको आलोचनाको निसानामा परेका नेयमार यो सिजन गोल र असिस्ट दुवैमा अब्बल छन्। ३० वर्षीय नेयमारले यो सिजन १४ खेलमा ११ गोल गरेका छन्। 

लिग १ मा पीएसजीकै एमबाप्पेपछि शीर्षस्थानमा छन् नेयमार। उनले ९ गोलमा असिस्ट पनि गरिसकेका छन्। रोचक त यो छ कि असिस्टमा पनि उनी दोस्रो स्थानमै छन् र सबैभन्दा धेरै असिस्ट गर्ने पीएसजीकै मेसी हुन्। नेयमारले ९ गोलमा असिस्ट गरिसकेका छन्। 

ब्राजिलियन फरवार्ड लाइनमा अर्का तीव्र गतिका विङ्गर भिनिसियस जुनियर छन्। रियल मड्रिडमा आबद्ध भिनिसियसले जारी सिजन १४ खेलमा ६ गोल र ३ असिस्ट गरेका छन्। उनी रियलको पहिलो रोजाइका फरवार्ड हुन्। 

गाब्रियल जेसस म्यानचेस्टर सिटीबाट यसै सिजन प्रिमियर लिगकै अर्को क्लब आर्सनलमा पुगेका हुन्। सिटीले हल्याण्ड भित्र्याएपछि समय नपाउने बुझेपछि उनले क्लब छाड्ने निर्णय लिए। अहिले उनकै प्रदर्शनमा प्रेरित आर्सनल लिगको शीर्षस्थानमा छ। उनले प्रिमियर लिगका १४ खेलमा ५ गोल गरेका छन्। आर्सनलको पहिलो रोजाइका फरवार्ड हुन् जेसस। 

म्यानचेस्टर युनाइटेडका एन्टोनी, बार्सिलोनाका राफिन्हा, टोटेनह्यामका रिचार्लिसन, रियल मड्रिडका रोड्रिगो, फ्लामेङ्गोका पेड्रो र आर्सनलका मार्टिनेली पनि ब्राजिलको फरवार्डलाइनमा उपलब्ध हुन्। फरवार्डमा ब्राजिलसँग प्रसशस्त विकल्प भएपनि डिफेन्स र मिडमा भने मजबुद नभएको टिमका रुपमा ब्राजिललाई हेरिन्छ। 

गोल रक्षकमा पनि ब्राजिलसँग उत्कृष्ट टिम छ। लिभरपुलका एलिसन ब्राजिलको पहिलो राजाइका गोलरक्षक हुन्। म्यानचेस्टर सिटीका पहिलो रोजाइका गोलरक्षक इडेरसन पनि ब्राजिलको टिममा उपलब्ध छन्। पालमेइरसका गोलरक्षक वेभर्टन तेस्रो विकल्पका रुपमा ब्राजिलसँग हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .