ad ad

खेल


काठमाडौं म्याराथनको तयारी पूरा, विजेतालाई ५० हजार पुरस्कार

काठमाडौं म्याराथनको तयारी पूरा, विजेतालाई ५० हजार पुरस्कार

लक्ष्मी जि.सी
पुस ३, २०७६ बिहिबार ७:५२,

आगामी शनिबार प्रो स्पोर्ट्सको आयोजनामा हुन लागेको काठमाडौं म्याराथनको तयारी पूरा भएको छ। उक्त दौडमा सहभागी हुन ५० विदेशीले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ।

प्रो स्पोर्ट्सले गर्नलागेको यो १३औँ काठमाडौं म्याराथन हो। विगत १२ वर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको छ। हरेक वर्ष दशैँअघि नै आयोजना हुने गरेको यो प्रतियोगिता यसपटक भने केही समय ढिलो गरी हुन लागेको हो। नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा त्यसलाई सहयोग गर्ने उद्देश्यले भ्रमण वर्षकै पूर्वसन्ध्यामा आयोजना गर्न लागेको प्रो स्पोर्ट्सले जनाएको छ।

गत नोभेम्बर १० बाट नाम दर्ता सुरु भएको थियो। प्रो स्पोर्ट्सका अनुसार म्याराथन, हाफ म्याराथन र ५ किमि दौडका लागि झण्डै ५ हजार दर्ता हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। यसपटक बढी विदेशी सहभागी गराउने उद्देश्यले युरोप, अमेरिका, जापान र भारतलगायत देशमा एजेन्टमार्फत यसको प्रचार प्रसार समेत गरिएको बताइएको छ।

शुक्रबार रातिसम्म दर्ता गर्न पाइने आयोजकले जनाएको छ।

काठमाडौं म्याराथनमा महिला पुरुष म्याराथन, हाफ म्याराथन, कर्पोरेट रिले, ५ किमि खुला दौड, ५ किमि छात्र÷छात्रा दौड, ३ किमि ह्विलचियर दौड रहनेछ। यस प्रतियोगितालाई प्रदेश ३ सरकारले अपनत्व ग्रहण गरेको छ भने प्रतियोगिताको रुट पर्ने चार नगरपालिका, काठमाडौं महानगरपालिका, ललितपुर महानगर, थिमि नगर र भक्तपुर नगरपालिकाले सहयोग गरेको आयोजकले जनाएको छ।

यो प्रतियोगिताले राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र नेपाल एमेच्योर एथ्लेटिक्स एसोसिएसनको मान्यता पाएको छ। प्रतियोगिताको एयरलाइन्स पार्टनर ड्रागन एयर र पेमेन्ट पार्टनर इसेवा रहेको छ। त्यस्तै डाइनिङ पार्क बेवरेज पार्टनर तथा द हिडन ट्रेजर, इलाम चिया घर र त्रिभुजीय शिक्षाको पनि साथ रहेको आयोजकले जनाएको छ।

सहभागीले कति पाउँछन् पुरस्कार?
म्याराथनमा सहभागी भएर प्रथम, द्वितीय र तृतीय हुनेले पुरस्कार पाउनेछन्। यसअन्तर्गत पुरुष र महिला म्याराथनतर्फ क्रमशः ५०, २० र १५ हजार पहिलो, दोस्रो र तेस्रो हुनेले पाउनेछन् भने हाफ म्याराथन पुरुष र महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २०, १३ र ७ हजार पुरस्कारको व्यवस्था गरिएको छ।

यस्तै, ५ किमि महिला तथा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १०, ६ र ४ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। ५ किमि मास्टर मेन तथा वुमनतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १०, ६ र ४ हजार पुरस्कार पाउनेछन्। ५ किमि छात्र तथा छात्रातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५, ३ र २ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ।

त्यस्तै, ह्विलचेयर मेन तथा वुमनतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५, ३ र २ हजार पुरस्कार पाउनेछन् भने कोअपरेट म्याराथन (रिले)तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई २०, १० र ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ। फेमिली रनतर्फ पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार पुरस्कार पाउनेछन्।

आयोजकका अनुसार म्याराथन ४२.१९५ किमि, हाफ म्याराथन र कर्पोरेट म्याराथन समान २१.०९७ किमिको रहेको छ। यसमा १८ वर्षमाथिकाले सहभागी हुन पाउनेछन्।

म्याराथन शनिबार बिहान ६ बजेदेखि त्रिपुरेश्वरबाट सुरु भएर रुट पूरा गरी दशरथ रंगशालामै आएपछि सकिनेछ।

यस्ताे छ रूट

daud 11

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .