ad ad

खेल


१३ वर्षपछि पाकिस्तान टी–२० विश्वकपको फाइनलमा

दुवै ओपनरको अर्धशतक
१३ वर्षपछि पाकिस्तान टी–२० विश्वकपको फाइनलमा

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १७:११, काठमाडौँ

मोहम्मद रिजवान र बाबर अजामको विस्फोटक ब्याटिङमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान १३ वर्षपछि आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ। 

न्युजिल्याण्डलाई पराजित गरेसँगै पाकिस्तान तेस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो। सन् २००९ पछि पहिलो पटक फाइनल पुगेको पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्याण्डको विजेतासँग खेल्नेछ।  

२००९ मा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले पराजित गर्दै विश्वकपको उपाधि उचालेको थियो। त्यसयता पाकिस्तान फाइनल पुग्नसकेको थिएन। सन् २००७ को पहिलो संस्करणमा पाकिस्तान भारतसँग ५ रनले पराजित भएको थियो। सन् २०१० मा पाकिस्तान अष्ट्रेलियासँग ३ विकेटले पराजित हुँदै उपाधिको नजिक पुगेर पनि टाढिएको थियो। 

गत वर्षको विश्वकपमा पनि पाकिस्तान अष्ट्रेलियासँग नै ५ विकेटले पराजित हुँदै अन्तिम ४ बाटै बाहिरिएको थियो। समूह चरणमा उत्कृष्ट प्रर्दशन गर्न नसकेको पाकिस्तान भाग्यमानी टोली बन्दै विश्वकपको उपाधि यात्रा तय गर्न सफल भएको थियो। 

पाकिस्तानसँग पराजित भएसँगै लगातार दोस्रो पटक विश्वकप फाइनल खेल्ने योजनामा रहेको न्युजिल्याण्डको सपना भने अधूरै रहेको छ। न्युजिल्याण्ड गत वर्ष अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो। 

न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९‍‍‍.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। 

पाकिस्तानका लागि दुवै ओपनरले अर्धशतक पूरा गरे। 

पहिलो विकेटका लागि ओपनर रिजवान र कप्तान बाबर अजामले १०५ रनको साझेदारी गरे।  कप्तान बाबर ५३ रनमा पवेलियन फर्के। ४२ बलमा ७ चौका हानेका बाबर लामो सट खेल्ने धुनमा ट्रेण्ड वोलको बलमा डेर्ली मिचेलबाट क्याच आउट हुन पुगे। 

रिजवान ५७ र मोहम्मद हरिस ३० रनमा आउट भए।  मसुद ‍‍३ र इफ्तिखार अहमद शून्य रनमा नटआउट रहे। 

त्यसअघि अष्ट्रेलियाको सिड्नीमा टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४  विकेटको क्षतिमा १ सय ५२ रनको योगफल तयार पारेको थियो।  

चौथो विकेटका लागि कप्तान केन विलियम्स र डार्ली मिचेलले ६८ रनको साझेदारी गर्दै इनिङ्स उकालेका थिए। 

डेली मिचेल ५३ र जेम्स निसाम १६ रनमा नटआउट रहे। 

कप्तान केन ४६ रन बनाउँदा शहिन शा अफ्रिदीको बलमा बोल्ड आउट भए। ४२ बलको सामना गरेका केनले १ चौका र १ छक्का हान्दै ४६ रन हाने। 

ओपनर फिन एलिन ४ रनमा सहिन शाह अफ्रिदीको बलमा एलबीडब्लु धरापमा परे। डिभोन कोनवे २१ रन बनाउँदा रनआउट भए। ग्लेन फिलीप ६ रनमा क्याच आउट भए। पाकिस्तानका सहिन शा अफ्रिदीले २ विकेट झारे। मोहम्ममद नवाजले १ विकेट आफ्नो नाममा गरे। 

न्युजिल्याण्ड समूह एुको विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। पाकिस्तान भने समूह बी को उपविजेताको हैसियतमा अन्तिम ४ को यात्रा तय गरेको थियो। 

दोस्रो सेमिफाइनलमा बिहिबार भारत र इङल्याण्ड खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .