ad ad

खेल


यी निसिम थापाले ज्यान गुमाए, ती एरिक्सन ‘भाग्यमानी’ निस्किए

यी निसिम थापाले ज्यान गुमाए, ती एरिक्सन ‘भाग्यमानी’ निस्किए

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको प्याराग्लाइडिङमा ज्यान गुमाउने निसिम थापा


वाशुदेव मिश्र
असोज ३०, २०७९ आइतबार १८:४५, पाेखरा

गतवर्ष युरो कप फुटबलअन्तर्गत डेनमार्क र फिनल्याण्डबीचको खेलको ७० औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिष्टियन एरिक्सन मैदानमै ढले। 

उनलाई तत्काल अस्पताल पुर्याइयो। कार्डिक एरेष्टका कारण लामो समयसम्म उनको स्वास्थ्य स्थिर रह्यो। विश्वभरबाट उनको स्वास्थ्यलाभको कामना गरियो। ८ महिनापछि उनी स्वस्थ भए। अहिले उनी म्यानचेष्ट युनाइटेडबाट खेल्दैछन्। एरिक्सन भाग्यमानी देखिए। 

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको प्याराग्लाइडिङमा एक खेलाडीको निधन भएपछि खेलकुद क्षेत्रको असुरक्षाबारे विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन्। यद्यपि, खेलकै क्रममा घाइते भएर ज्यान गुमाउने निसिम थापा एक्ला खेलाडी भने हैनन्। 

विश्वभर खेलकै क्रममा घाइते हुँदा ज्यान गुमाउनेहरुको संख्या ठूलै छ। घाइते भएर खेलजीवन नै गुमाउनेको संख्या त कतिकति!

खेलकै क्रममा घाइते भएपछि निधन भएका अष्ट्रेलियन रग्बी खेलाडी जेम्स एकरम्यान हुन् कि भारतमा रणजी ट्रफी खेल्ने क्रममा ज्यान गुमाएका राजेश घोड्गे नै किन नहुन्, उनीहरुले खेलकै क्रममा ज्यान गुमाएका हुन्।

फुटबलको कुरा गर्ने हो भने २००७ मा सिल्भियाबाट खेल्ने एन्टेनियो प्रिटा, २००४ मा बेनिफियाका मिकियोस फिहर, २००३ मा क्यामरुनका माइक भिभिन, २०१२ मा पाल्मिरियो मोरासनी, जोसे एन्टानियो गार्लार्डो, २०१५ मा क्रिष्टियन गोमेजको निधनको कारण खेल नै थियो।

फिफाको एक अध्ययन अनुसार सन् २०१४ देखि २०१८ सम्म खेल वा खेलपछि मृत्यु हुने फुटबल खेलाडीको संख्या ६१७ जना रहेको थियो। विकीपिडियाको एक रिपोर्ट अनुसार सन् २०२२ मा नै ६ जना फुटबलरको खेलकै क्रममा निधन भएको छ। 

फुटबलसँगै एथेलेक्टिसको क्रममा मृत्यु हुने खेलाडीको संख्या पनि उस्तै डरलाग्दो छ। सन् १९८२ मा रिङमै ढलेका दक्षिण कोरियन बक्सर डुक कु किम र अमेरिकी बक्सर इड स्यान्डर्स, घोडचढीको क्रममा ज्यान गुमाएका अमेरिकी खेलाडी फ्रान्क हायस, अमेरिकी बास्केटबल खेलाडी रेग्गी लुइस, हक्की खेलाडी बिल मास्टरटन, रेसिङ कार खेलाडी डाले अर्नाहार्डट् र आर्टन सेनालगायतका खेलाडीहरुले खेलकै क्रममा घाइते भएर ज्यान गुमाएका थिए।

घाइतेको संख्या झन धेरै 
२०७७ सालको फागुन ३ गते सशस्त्र प्रहरी बलकी फुटबल खेलाडी सावित्री भण्डारी (साम्बा) घाइते भइन्। राष्ट्रिय महिला लिगको क्रममा नेपाल प्रहरीकी गोलकिपरसँग ठोक्किँदा उनको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातियो। कतारमा भएको लामो उपचारपछि उनी स्वस्थ भएकी छन्।

चालु नवौं राष्ट्रिय खेलकुदमा उनले जादु देखाएकी छन्। उनी भाग्यमानी हुन्। तर, उनीजस्तै थुप्रै खेलाडीहरुले खेलकै क्रममा घाइते हुँदा खेलजीवनकै अन्त्य गरेका उदाहरणहरु छन्। नवौंं राष्ट्रिय खेलकुदकै क्रममा पनि केही खेलाडीहरु घाइते भएका छन्।

अमेरिकाको स्ट्यानफोर्ड मेडिसिनले जनाए अनुसार अमेरिकामा मात्रै करिब ३५ लाख बालबालिका विभिन्न खेलको क्रममा घाइते भएर अस्पताल पुग्छन्। बिएमजी जर्नलले आइस हक्की खेलको सन् २००६ देखि २०१३ सम्म गरेको एक अध्ययनले करिब १४.२ प्रतिशत खेलाडीहरु खेलकै क्रममा घाइते हुने पुष्टि गरेको थियो। 

सिएनएनका अनुसार २०१० को हिउँदे ओलम्पिकमा २ हजार ५६६ एथेलेक्टमध्ये २७७ जना घाइते भएका थिए भने २०१४ मा भाग लिएका २७८० मध्ये ३९१ घाइते भएका थिए।

२००८ को बेइजिङ ओलम्पिकमा सहभागी १० हजार ९४२ जनामध्ये १ हजार ५५ जनाले चोट बोकेका थिए। तीमध्ये ७२ प्रतिशत प्रतियोगिताकै क्रममा घाइते भएका थिए। यसरी घाइते हुनेमध्ये कतिले बाँकी खेलजीवन नै गुमाएको पनि रिपोर्टहरुमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .