ad ad

खेल


साग विजेताको पुरस्कारबारे अन्योल कायमै, राखेप र मन्त्रालयकै भनाइ दुईथरी

साग विजेताको पुरस्कारबारे अन्योल कायमै, राखेप र मन्त्रालयकै भनाइ दुईथरी

यज्ञराज जोशी
मंसिर २६, २०७६ बिहिबार १३:३६,

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरुका लागि घोषणा गरेको पुरस्कार रकमबारे भएको अलमल अझै प्रष्टिएको छैन।

नेपाली खेलाडीले जारी सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेका थिए। ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडीहरुलाई बोलाएर पुरस्कार घोषणा गरेका हुन्।

‘एक स्वर्ण पदक ल्याउने खेलाडीले ९ लाख, एउटा भन्दा बढी स्वर्ण पदक ल्याउने खेलाडीले ११ लाखका दरले पुरस्कार पाउनेछन्,’ प्रधानमन्त्रीले घोषणा गरेका थिए, ‘हरेक रजत पदक वापत ६ लाख र हरेक कास्य पदक विजेतालाई ३ लाखका दरले पुरस्कार दिइनेछ।’

प्रधानमन्त्रीले घोषणा गरेसँगै एकभन्दा बढी स्वर्ण, रजत र कास्य जित्ने तथा टिम इभेन्ट्समा जित्ने खेलाडीले पाउने पुरस्कार रकममा अन्योलता कायमै छ। दुई स्वर्ण विजेता खेलाडीलाई एकमुष्ट ११ लाख दिइने भनिएको हो कि प्रत्येक स्वर्णको ११ लाखका दरले पुरस्कार दिइने हो भन्ने मुख्य दुविधा प्राय: मा छ।

१३ औं सागमा नेपालबाट पौडीकी गौरिका सिंहले ४ स्वर्ण, दुई रजत र टिम इभेन्ट्समा तीन कास्य जितेकी थिइन। त्यसबारे प्रष्टाउँदै राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले भने, ‘दुई वा सोभन्दा बढी स्वर्ण जित्ने खेलाडीले प्रत्येक स्वर्ण पदकको ११ लाखको दरले पाउने हो। त्यसो गर्दा गौरिकाले ५९ लाख रुपैयाँ पाउनेछिन्।’

pm with playersपुरस्कार घाेषणा कार्यक्रममा प्रधानमन्त्रीसँग खेलाडीहरू।

सिलवालका अनुसार गौरिकाले ४ स्वर्णको ४४ लाख, दुई रजतको ६ लाखका दरले १२ लाख र तीन कास्यको ३ लाख रुपैयाँमात्रै गरि ५९ लाख रुपैयाँ पाउनेछिन्। अर्थात सिलवालका अनुसार कास्य विजेताहरुले भने प्रति कास्य बराबर नभई समग्रमा ३ लाखमात्रै पाउनेछन।

तर, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले भने प्रति पदक भनेपछि कास्य विजेतालाई पनि त्यही अनुसार हुने बताउँछन्। त्यसो गर्दा गौरिकाले पाउने रकममा थप ६ लाख थपिएर ६५ लाख हुनेछ।

‘प्रति पदक भनेपछि कास्य जित्नेलाई पनि त्यही हिसाबले हुन्छ। प्रधानमन्त्रीले निर्णय गर्ने बेलामा त्यो कुरालाई मिलाएर गर्नु भन्नुभएको छ। प्रधानमन्त्रीले बोलेको कुरा नै हुन्छ,’ सचिव थपलियाले नेपालखबरसँग कुरा गर्दै भने।

सचिव थपलियाले प्राविधिक समितिले छलफल गरिरहेको र उनीहरुले अन्तिम प्रस्ताव तयार पारेपछि आधिकारिक रुपमा कसले कति पाउने भनि बाहिर आउने बताए।

‘अहिले प्राविधिक साथीहरुले छलफल गर्दैछन्। उनीहरुले प्रस्ताव ल्याएपछि म त्यसमा हस्ताक्षर गर्नेछु अनि कसले कति पाउँछ भनेर आधिकारिक रुपमा आउँछ,’ उनले भने। उक्त प्रस्ताव चाडैँ आफूकहाँ आइपुग्ने उनको दाबी थियो।

टिम इभेन्ट्सका खेलाडी निराश
सरकारले स्वर्ण जितेपनि ५ लाख रुपैयाँमात्रै दिने भनेपछि टिम इभेन्ट्सका खेलाडीहरु भने निराश देखिएका छन्। टिम इभेन्ट्समा यसपटक फुटबलले स्वर्ण जितेको थियो। त्यसबाहेक अन्य टिम इभेन्ट्सहरु बास्केटबल, भलिबल, बीच भलिबल, क्रिकेट लगायतका खेलहरुले रजत र कास्य पुरस्कार जितेपनि उनीहरुका लागि कुनै पुरस्कार घोषणा नहुँदा उनीहरु निराश बनेका हुन्।

प्रधानमन्त्री ओलीले घोषणा गरेको पुरस्कार रकममा टिम गेमलाई भेदभाव गरेको फुटबलतर्फ स्वर्ण जितेका गोलकिपर विकेश कुथुले बताए। ‘पुरस्कारमा सरकारले टिम गेमलाई हेला नै गर्यो। स्वर्ण जित्नेले ५ लाख पाएपनि रजत र कास्य जित्नेलाई पुरस्कार नै घोषणा भएन। टिममा हामीले स्वर्ण जित्नुभन्दा व्यक्तिगत रुपमा रजत जितेका खेलाडीहरुले बढी रकम (६ लाख) पुरस्कार पाए। यो असमान व्यवहार भयो।’

‘यसअघि पनि हामीले सरकारबाट ५ लाख (१२औं साग र बंगबन्धु जिते वापत्) पाएका थियौं। यसपटक कम्तीमा ७ लाखसम्म पाउने अपेक्षा थियो,’ विकेशले गुनासो पोखे। ‘हामीले लगातार स्वर्ण जित्दै इतिहास रचेका छौं। पुरस्कार जति दिएपनि त्यसमा सन्तुष्ट छौं।’

पुरुष बास्केटबलमा पहिलो पटक कास्य जित्दै ऐतिहासिक प्रदर्शन गरेका नेपाली बास्केटबल टोली पनि प्रधानमन्त्रीको कार्यक्रममा निराश देखियो। ‘टिम इभेन्टमा स्वर्ण जित्नेको पुरस्कार घोषणा भयो, तर हाम्रा (कास्य विजेता) का लागि केही भएन’ बास्केटबल पुरुष टिमका कप्तान सदिश प्रधानले भने, ‘हामीले चारवटै इभेन्टमा पदक जितेका थियौं। केही घोषणा होला भनेर आश गरेका थियौ, तर केही भएन।’

सागमा बास्केटबल खेलेका महिला सिनियर टोलीले रजत पदक हात पारेको थियो। पुरुष सिनियर टोलीले कास्य जित्दा ३ बाइ ३ तर्फ पुरुष टोलीले रजत र महिला ३ बाइ ३ टोलीले कास्यपदक हात पारेको थियो। तर, उनीहरु सबै प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार कार्यक्रममा निराश बनेका थिए।

राखेपका सदस्यसचिव सिलवाल भने अन्तर्राष्ट्रिय प्रचलन अनुसार टिम इभेन्ट्स र व्यक्तिग स्पर्धाको पुरस्कार रकम फरक परेको बताउँछन्।

‘टिम इभेन्ट्समा आउने गोल्डमेडल त एउटै हो नी,’ सिलवालले भने, ‘फुटबलमा २३ जनाको गलामा गोल्डमेडल झुण्डियो होला। तर, गन्तीमा त्यो एउटामात्रै हुन्छ। २३ जनाले ५ लाखका दरले पाउने १ करोड १५ लाख रुपैयाँ हुन्छ। त्यो हिसाबले व्यक्तिगत र टिम गेममा फरक पर्न आएको हो। यो अन्तर्राष्ट्रिय प्रचलन पनि हो।’

‘हामी केही प्याकेज घोषणा गरेर टिम इभेन्ट्सका अन्य खेलाडीलाई पनि सम्बोधन गर्नसक्छौं,’ उनले भने।

पुरस्कार कहिले दिने?
प्रधानमन्त्रीले पुरस्कार घोषणा गरेपनि खेलाडीलाई पुरस्कार हस्तान्तरण कहिले गर्ने निश्चित छैन। यसअघि पनि २०१६ को सागमा भारतलाई हराउँदै स्वर्ण जितेको नेपाली फुटबल टोलीलाई गत बैशाखमा मात्रै ३ वर्षपछि सरकारले पुरस्कार दिएको थियो।

मन्त्रालयका सचिव थपलिया राखेपले जति छिटो गर्यो त्यति छिटो पुरस्कारका लागि मन्त्रीपरिषद्मा प्रस्ताव पठाउने बताउँछन।

‘हामीले राखेपमा पदक जित्ने खेलाडीहरुको नामावली मागेका छौं,’ उनले भने, ‘उहाँहरुले नामावली उपलब्ध गराएपछि त्यो प्रक्रियामा जान्छ। ढिलो हुन नदिन सबैको नागरिक निगरानी चाहियो। हामी कहाँ नाम आएपछि मैले मन्त्रीको स्वीकृतिले त्यो प्रस्ताव मन्त्री परिषद्मा पठाउँछु।’

राखेपका प्राविधिक समिति संयोजक गंगाबहादुर थापाले आफूहरुले पदक प्राप्त खेलाडीहरुको नामावली तयार पारिसकेको बताए। ‘हामीले पदकधारीहरुको नामावली तयार पारिसकेका छौं। भोली विजेताहरुको र्याली भएकाले नहुनसक्छ। पर्सीसम्म साग सचिवालयमा बुझाउँछौं। उहाँहरुले मन्त्रालयमा पठाउनुहुनेछ,’ उनले भने।

यो पनि: जसले साग सम्भव बनाए

यो पनि- साग समिक्षा: उत्कृष्ट नतिजा, औसत व्यवस्थापन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .