ad ad

खेल


अब्दुल्लाह अल्मुताइरीले छाडे नेपाली प्रशिक्षकको जिम्मेवारी

अब्दुल्लाह अल्मुताइरीले छाडे नेपाली प्रशिक्षकको जिम्मेवारी

नेपालखबर
भदौ २६, २०७९ आइतबार १६:३३, काठमाडौँ

अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट बाहिरिएको घोषणा गरेका छन्। 

उनले आइतवार सामाजिक सञ्जालमार्फत नेपाली फुटबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको घोषणा गरेका हुन्। 

तर उनले २०७८ कात्तिकमा तीन वर्षसम्म नेपालमै रहने गरी अखिल नेपाल फुटबल संघ (एन्फा) सँग करार सम्झौता गरेका थिए। 

नेपाली टोलीका १० जना सिनियर खेलाडीलाई प्रशिक्षण क्याम्पबाट बाहिरको बाटो देखाएसँगै अल्मुताइरी विवादमा परेका थिए। 

नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए । 

१० खेलाडीलाई क्याम्पबाट जान बाध्य पारेसँगै विवादमा मुछिएका उनीमाथि एन्फामा राजनीतिक गरेको आरोप पनि लाग्ने गरेको थियो। 

यही विवादबीच एसिया कप छनोट खेलका लागि टिमलाई लिएर कतार गएका थिए। तर उनी उक्त प्रतियोगितामा निराशाजनक प्रदर्शनसँगै उतै बसेका थिए। 

यता एन्फामा कर्माछिरिङ शेर्पा पराजित भएर पंकजविक्रम नेम्वाङ विजयी भएसँगै उनी आउने नआउनेमा प्रश्न उठेको थियो।

उनलाई नेपाल फर्काउने गरी एन्फाको नयाँ नेतृत्वले छलफलका लागि टोली पनि बनाएको थियो।

यससँगै एन्फाले अल्मुताइरीले गत वैशाख १३ गते टिमबाट निकालेका १० खेलाडीलाई फिर्ता बोलाएपछि उनी फर्किने नफर्किनेमा झनै प्रश्न उब्जिएको थियो।

उनले आफू उपचारका लागि बसिरहेको भन्दै नेपाल फर्किन सक्ने उल्लेख गरेका थिए। तर उनले आइतवार नेपालसँगको ५२५ दिन लामो प्रशिक्षण यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन्। 

'प्रमुख प्रशिक्षकका रुपमा नेपाली फुटबलसँगको ५२५ दिन लामो सहकार्य अब टुंगिएको छ', उनले भनेका छन्, 'मलाई सहयोग गर्दै हाम्रो सहयात्रालाई यहाँसम्म ल्याइदिएकोमा सबै जनालाई धन्यवाद! खुसी, उत्साह, पीडा र दु:खसहितको यो यात्रा तपाईंहरुको साथबिना सम्भव थिएन। जय नेपाल!' 

एन्फाले वि.सं २०७७ साल चैत २२ गते कतार एफएको सहयोगमा कुवेतका प्रो-लाइसेन्स प्राप्त प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

अल्मुताइरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो भने गत असोजमा माल्दिभ्समा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदा उपाधिबाट वञ्चित बनेको थियो।

अल्मुताइरीको नेतृत्वमा नेपालले एएफसी एशियन कप छनोटको दोस्रो चरण खेलेको थियो।

अल्मुताइरीको प्रशिक्षणमा नेपालले १९ अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमध्ये पाँच खेलमा जित निकालेको नेपालले दुई खेलमा बराबर र १२ खेलमा हार व्यहोरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .