खेल


साग : यी हुन् आज हुने १२ खेल

साग : यी हुन् आज हुने १२ खेल

नेपालखबर
मंसिर १६, २०७६ सोमबार २:५९,

सागमा सोमबार तेक्वान्दो, कराँते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो-खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुँदै छन्। ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन पोखरामा हुनेछन् भने अन्य खेल काठमाडौंमा हुनेछन्।

सोमबार तेक्वान्दो, कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्णको छिनोफानो हुनेछ।

पुरुष फुटबल : पुरुष फुटबलमा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका भिड्नेछन्। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंंगशालामा हुनेछन्। बंगलादेश र भुटानबीचको पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ। माल्दिभ्स र श्रीलंकाबीचको दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ।

भलिबल : भलिबलमा महिला र पुरुष दुवै स्पर्धामा कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। सेमिफाईनलमा हारेका दुई टिम तेस्रो स्थानका लागि भिड्नेछन्। पुरुष भलिबलमा तेस्रो स्थान हासिलका लागि बंंगलादेश र श्रीलंका भिड्नेछन्। त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ। महिला भलिबलमा तेस्रो स्थानका लागि श्रीलंका र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन्। खेल अपराह्न ४ बजे सुरु हुनेछ।

खो खो : खो-खोमा दोस्रो दिन पुरुष स्पर्धामा श्रीलंका र बंगलादेश तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। श्रीलंका र बंगलादेश अहिले बिहान ९ बजे र नेपाल र भारत बिहान १० बजे प्रतिस्पर्धा गर्नेछन्। कीर्तिपुरको नयाँ बजारमा सोही दिन श्रीलंका र नेपाल अपराह्न ४ बजे र भारत र बंगलादेश साँझ ५ बजे भिड्नेछन्।

महिला स्पर्धामा नेपाल र भारत बिहान ११ बजे र श्रीलंका र बंगलादेश मध्यान्न १२ बजे प्रतिस्पर्धा गर्नेछन्। सोही दिन श्रीलंका र नेपाल साँझ ६ बजे र भारत र बंगलादेश साँझ ७ बजे भिड्नेछन्। आइतबार नेपालका दुवै टिमले सफलता हात पारेका थिए। नेपालको पुरुष र महिला टिमले बंगलादेशलाई हराएका थिए।

कराँते : सागअन्तर्गत कराँते सोमबार सुरु हुनेछ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुने खेल अहिले बिहान ९ बजे सुरु हुनेछ । सोमबार ५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। जसमा नेपालका ९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

तेक्वान्दो : सागमा नेपालले सर्वाधिक स्वर्णको आशा गरेको तेक्वान्दो सोमबार सुरु हुँदै छ। सातदोबाटोस्थित तेक्वान्दो हलमा खेल बिहान ९ बजे सुरु हुनेछ। तेक्वान्दोमा सोमबार सर्वाधिक १३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

ब्याडमिन्टन : पोखरामा हुने ब्याडमिन्टनतर्फ सोमबार पुरुष टिम इभेन्ट र महिला टिम इभेन्टको सेमिफाइनल र फाइनलको खेल हुँदै छ। नेपालले सेमिफाइनलमा श्रीलंकासंग प्रतिष्पर्धा गर्नेछ। नेपालको लागि पुरुष टिम इभेन्टमा दीपेश धामी, प्रिन्स दाहाल र रत्नजित तामाङले खेल्ने छन् भने महिला टिम इभेन्टमा रसिला महर्जन, नङ्सल तामाङ र जेसिका गुरुङले प्रतिस्पर्धा गर्ने छन्। यस्तै टिम इभेन्टको फाइनल खेल पनि भोलि नै हुने छ। सेमिफाइनल पुगेको नेपालले यसअघि नै टिम इभेन्टमा पदक पक्का गरिसकेको छ। सेमिफाइनलको खेल पोखरा रंगशालाको कभर्ड हलमा बिहान १० बजे सुरु हुनेछ।

महिला क्रिकेट : पोखरामा हुने महिला क्रिकेटमा नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ। पोखरा रंगशालामा हुने खेल बिहान ११ बजे सुरु हुनेछ। यस खेल नेपाली महिला क्रिकेट टिमका लागि घरेलु मैदानमा पहिलो अन्तराष्ट्रिय खेल समेत हुनेछ। महिला क्रिकेटको १२ वर्षे इतिहासमा महिला क्रिकेट टिमले घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्ने अवसर पाएको छैन। टेबल टेनिस : टेबल टेनिसका खेल सोमबारबाट सुरु हुनेछ। बिहान १० बजे औपचारिक उद्घाटन गरेर टेबल टेनिसका खेलहरुको सुरुवात गरिनेछ।

खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुनेछ।

टेनिस : लन टेनिसको प्रतिस्पर्धा पनि सोमबारबाट सुरु हुनेछ । सातदोबाटोस्थित टेनिस कोर्टमा नेपालले महिला तथा पुरुष दुवैतर्फ प्रतिस्पर्धा गर्नेछ । बिहान नेपालले टिम इभेन्टको पुरुष र महिलामा क्वाटरफाइनल खेल खेल्नेछ। पुरुषतर्फ नेपालले बंगलादेशको सामना गर्नेछ भने महिलातर्फ माल्दिभ्सको सामना गर्दै छ।

गल्फ : साग अन्तर्गत गल्फ सोमबारबाट सुरु हुनेछ। गल्फको प्रतिस्पर्धा गोकर्ण गल्फ क्लबमा हुनेछ।

उसु : उसुको औपचारिक उद्घाटन सोमबार हुनेछ। उद्घाटन लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ।

ट्रायथलन : पोखरामा आयोजना हुने ट्रायथलन खेलको प्रतिस्पर्धा सोमबार बिहान हुनेछ। सोमबार ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलंका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन्। पुरुषतर्फ नेपालका नितेश मानन्धर र बशन्त थारु तथा महिलातर्फ सोनी गुरुङ र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad