१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको दोस्रो खेलमा नेपालले आज (शुक्रबार) भारतको सामना गर्दैछ।
समूह ‘ए’को अन्तिम खेलमा नेपालले भारतलाई पराजित गर्न नसके प्रतियोगिताबाट बाहिरिनेछ। बिहीबार पहिलो खेल जित्दै ३ अंक रहेको भारत भने सेमिफाइनलमा पुगिसकेको छ। दोस्रो स्थानमा रहेको बंगलादेशको २ छ भने पुछारमा रहेको नेपालको १ अंक छ।
सागको भलिबलको प्राविधिक समितिको सदस्य तथा रेफ्री टहलसिंह थापामगरका अनुसार भारतसँगको खेल पाँचौ सेटसम्म लम्बिएर नेपालले एक अंक जोडे पनि नेपाल सेमिफाइनलमा पुग्नेछैन।
‘यसअघि भएको पहिलो खेलमा बंगलादेशले नेपाललाई पराजित गरेकाले समान अंक भए पनि बंगलादेश सेमिफाइनलमा पुग्नेछ,’ थापामगरले भने।
भारतसँगको खेल पाँच सेटसम्म लम्बाउन सकेको खण्डमा भने नेपाल र बंगलादेशको समान २–२ अंक हुने स्थिति थियो। सोहीकारण दक्षिण एसियाली भलिबलको पावर हाउस मानिएको भारतसँगको खेल नेपाललाई ‘गर या मर’को अवस्थामा छ। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा साँझ ५ बजे हुनेछ।
भारतविरुद्धले हालसम्म जित हात पार्न सकेको छैन। सागको तयारीका लागि नेपालले भारतीय अघिल्लो महिना ३ वटा मैत्रीपुर्ण खेल खेलेको थियो। तीन वटै खेलमा नेपाल पराजित भयो।
नेपाली प्रशिक्षक लेस्ले डि जोङ हामीले भारतविरुद्ध डटेर प्रदर्शन गर्ने बताउँछन। ‘भारतविरुद्ध मैत्रीपूर्ण खेलमा ३ खेल खेल्दा हामीले एक सेटमात्रै जित्न सकेका थियौं। त्यसबाट पनि उनीहरुको स्तर थाहा हुन्छ,’ प्रशिक्षक जोङले भने, ‘हामी बिना दबाब उनीहरुसँग डटेर कोर्टमा उत्रनेछौं।’
नेपालका कप्तान ईम रानामगरले भारत निकै बलियो प्रतिद्वन्द्वी भएकाले उनीहरुलाई हराउन भन्दा पनि कडा चुनौती दिने आफूहरुको लक्ष्य रहने बताए। साथै उनले नेपालको सेमिफाइनल सम्भावना पनि निकै कठिन रहेको स्वीकारे।

प्रतिक्रिया