भारतीय कप्तान विराट कोहली सचिन तेन्दुल्कर र ब्रायन लाराको कीर्तिमान तोड्न ३७ रनले चुकेका छन्।
अफगानिस्तानविरुद्धको शनिबार जारी खेलमा ३७ रन बढी बनाएको भए उनले सचिन र लाराको नाममा रहेको सर्वाधिक छिटो २० हजार अन्तर्राष्ट्रिय रन बनाउँने कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउँने थिए।
तर, ६७ रनमा आउट भएसँगै कोहलीले उक्त रेकर्ड तोड्न अर्को खेल कुर्नु पर्ने भएको छ। साउथहप्टनमा खेल शुरु हुनुअघि कोहलीलाई २० हजार अन्तर्राष्ट्रिय रन पूरा गर्न १०४ रनको आवश्यकता थियो। तर ६७ रनमा मोहम्मद नाबीबाट आउँट भएसँगै कोहली उक्त कीर्तिमान तोड्न ३७ रन टाढा रहे।
अहिलेसम्म सबैभन्दा छिटो २० हजार रन बनाउँने कीर्तिमान भारतका सचिन र वेस्ट इंण्डिजका लाराको नाममा छ। दुबैले ४५३ पारीमा उक्त २० हजार रनको आँकडा पूरा गरेका थिए।
तर कोहलीले यसखेल अघिसम्म ४१४ पारीमात्रै खेल्दै १९ हजार ८ सय ९६ रन बनाइसकेका छन्। जसमा १३१ टेस्ट, २२१ वान डे र ६२ टि-२० अन्तर्राष्ट्रिय खेल सामेल छन्।
कोहलीले गत आइतबारमात्रै पाकिस्तानविरुद्ध ७७ रनको पारी खेल्दै सबैभन्दा छिटो ११ हजार वानडे रन बनाउँने कीर्तिमान समेत आफ्नो नाम लेखाएका थिए।
Shares

प्रतिक्रिया