घरेलु क्रिकेटमा कान्छो कर्णाली प्रदेशका स्मरणीय प्रदर्शन एकदमै कम छन्। तर अघिल्लो साता सम्पन्न प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा उसले पहिलो खेलमै उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबलाई ११६ रनमा रोकिदियो।
एकातिर राष्ट्रिय टोलीले भरिएको विभागीय टोलीविरुद्ध कर्णालीको यो स्मरणीय प्रदर्शन त हो नै, साथै त्यस खेलमा आर्मी १० खेलाडीमै सीमित हुनुको फाइदा पनि। आर्मीले ज्वरो आएका कारण मैदान नउत्रिएका भने पनि प्लेइङ सेटमा राखेका सोनु तामाङबारे स्पष्ट जानकारी नदिएको भन्दै अम्पायरले उनका स्थानमा अरू कसैलाई मैदान छिर्न दिएका थिएनन्।
१० खेलाडी अनि ११६ रनको सामान्य लक्ष्य रक्षा गर्नु आर्मीलाई चुनौती थियो। यो चुनौतीबाट आर्मीलाई सहजै पार लगाएका थिए– मध्यम तीव्र गतिका बलर जितेन्द्र मुखियाले।
जितेन्द्रले ४ ओभरमा १५ रन मात्रै खर्चेर ४ विकेट लिए। परिणाम– आर्मीले खेल ६३ रनले जित्यो। जितेन्द्र खेलका म्यान अफ द म्याच चुनिए।
यी मिडियम पेसरको बलिङ कर्णालीका कमै मात्र ब्याट्सम्यानले ‘रिड’ गर्न सकिरहेका थिए। सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध आफ्नो करिअरको पिकमा हुँदा जसरी उनले योर्कर फालेका थिए, कर्णालीविरुद्ध पनि जितेन्द्र उही शैलीमा प्रस्तुत भए। परिणाम– उनको योर्करसामु कर्णालीका ब्याट्सम्यान एकपछि अर्को गर्दै पवेलिएन फर्किए।
त्यही प्रदर्शन देखेपछि मुख्य प्रशिक्षक पुबुदु दासानायकेले यी नेपाली योर्कर किङलाई आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीमा बोलाएका छन्। र, यो उनको राष्ट्रिय टोलीमा ७ वर्षपछि भएको पुनरागमन हो।
जितेन्द्र लामो समयपछिको पूनरागमनलाई आफूप्रति गरेको विश्वास मान्छन्। हतोत्साही नभएकै कारण पुनरामगन सम्भव भएको उनी बताउँछन्।
‘मैले आफूमाथि गरेको विश्वास हो। जस्तो परिस्थिति आए पनि मैले हार मानिनँ’, उनी भन्छन्, ‘समय लाग्ला, तर लक्ष्यमा पुग्छु भनेर निरन्तर मिहिनेत गरिरहेँ। आफूले आफूलाई उप्रेरित पारिरहेका कारण आज म पुनः टोलीमा फर्कन सफल भएको छु।’
सन् २०१४ को टी–२० विश्वकपमा योर्कर बलिङकै कारण जितेन्द्रको चर्चा चुलिएको थियो। अफगानिस्तानविरुद्धको खेलमा नेपालले जम्मा १४१ रन मात्रै बनाउन सकेको थियो। तर जितेन्द्रले ४ ओभरमा १८ रन मात्रै दिएर ३ महत्त्वपूर्ण विकेट लिएपछि अफगानिस्तानले १३२ रनमै समेटियो। उनी म्यान अफ द म्याचसमेत चुनिएका थिए। त्यही खेलबाट जितेन्द्रलाई योर्कर किङको उपनाम पाएका हुन्।
तर त्यसपछिका २ वर्ष भने जितेन्द्रका लागि निकै सकसपूर्ण रहे। अहिले ती दिन उनी सम्झन पनि चाहँदैनन्। सन् २०१५ मा आयरल्यान्डमा भएको विश्वकप ग्लोबल क्वालिफायरपछि उनलाई ढाडको समस्याले सताउन थालिसकेको थियो। त्यसबेला राम्रो फिजियोको व्यवस्था थिएन। यस्तो गर्नुपर्छ भनेर गाइड गर्दिने पनि कोही थिएन।
तर उनले लोकल फिजियासँग नियमित सम्पर्कमा गरि उपचार गए। थुप्रै अस्पताल धाए। आयुर्वेदिक औषधि गराए। तर समस्या ज्यूँका त्यूँ। अर्कातिर नेपाली टोलीको साथ छुटिसकेको थियो।
अन्ततः उनले प्रशिक्षक पुबुदु दासानायकेसँग सल्लाह मागे। दासानायकेले आफ्नो चिनजानको मुम्बईका फिजियोसँग उनको सम्पर्क गराइदिए। जितेन्द्र मुम्बई गराए। एक महिना निरन्तर फिजियो गराए। आफ्नो शारीरिक अभ्यास जारी राखे। बल्ल उनलाई ढाडको समस्यामा राहत मिल्यो। फिजियोले नेपाल फर्केपछि पनि फलो गर्नु भनेर एउटा रुटिन बनाएर पठाएका थिए। त्यही रुटिन फलो गर्दै उनी घरेलु क्रिकेटमा देखिन थाले।
तर यतिबेलासम्म उनले बल नछोएको २ वर्ष बितिसकेको थियो। परिणाम– घरेलु प्रतियोगितामा पनि उनको पुनरागमन सोचेजस्तो भएन। सन् २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्ध खेल्ने नेपालको प्रारम्भिक टोलीमा पनि उनी परे। तर प्रदर्शनकै कारण अन्तिम १४ मा स्थान बनाउन सकेनन्। तर उनी हार मान्ने पक्षमा थिएनन्।
‘इन्जुरीबाट फर्किएपछि घरेलु प्रतियोगिता त खेल्न थाले, तर प्रदर्शन सोचेअनुसार निस्किरहेका थिएन’, उनी भन्छन्, ‘प्रदर्शन जस्तो भए पनि प्रतियोगिताहरू खेल्न पाइरहँदा खुसी लागिरहेको थियो। कमसे कम म क्रिकेटबाट टाढा थिइनँ। एक न एक दिन लय समात्छु भन्ने आत्मविश्वासले निरन्तर मिहिनेत गरिरहेँ।’
उनको त्यही आत्मविश्वासले यसपटक परिणाम देखाएको छ। सात वर्षपछि उनी पुनः राष्ट्रिय टोलीमा फर्किएका छन्। नेपालले आगामी महिना ओमान टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ। त्यसका लागि बिहीबार मात्रै क्यानले घोषणा गरेको टोलीमा उनको पुनरागमन भएको हो।
‘आफ्नो लक्ष्य हासिल गर्न केही समय त लाग्छ, तर लक्ष्य प्राप्तिको बाटो छोड्नु हुँदैन’, उनी भन्छन्, ‘हरेकको जीवनमा एकचोटि निकै अप्ठ्यारो समय आउँछ। क्रिकेटबाट टाढा रहँदाको त्यो समय मेरा लागि पनि त्यस्तै थियो। त्यो समयमा आफूले आफूलाई मोटिभेट गर्न सकियो भने एकदिन लक्ष्य प्राप्त गर्न सकिन्छ।’
ठीक यही बेला अर्का तीव्र गतिका बलर सोमपाल कामी अनफिट छन्। सोही कारण पनि उनलाई सजिलो भएको हो। अहिले टोलीमा स्थान बनाउन तीव्र प्रतिस्पर्धा रहेको उनले बुझेका छन्। त्यसैले आफ्नो पुनरागमनबाट मात्रै उनी सन्तुष्ट छैनन्। टोलीमा निरन्तरता पाउनु आफ्नो ध्येय रहेको उनले सुनाए।
‘नयाँ नयाँ खेलाडीको आगमनसँगै टोलीभित्र तीव्र प्रतिस्पर्धा छ। टोलीमा कमब्याक गर्नु ठूलो कुरो होइन, नियमित खेल्नु ठूलो कुरा हो,’ उनी भन्छन्, ‘यो मेरा लागि दोस्रो इनिङ्स हो। म अब पुराना दिन फेरि देखुँ भन्ने चाहन्नँ। मलाई प्रशिक्षकले जुन भूमिका दिनुहुन्छ, त्यसलाई शतप्रतिशत दिएर निभाउने प्रयास गर्नेछु।’
Shares
प्रतिक्रिया