पोखरा। गण्डकी प्रदेशमा साहसिक खेलकुद अगाडि बढाउनेबारे प्रदेश खेलकुद परिषदले तयारी थाल्ने भएको छ।
परिषदद्वारा आइतबार आयोजित सरोकारवालाहरुसँगको प्रारम्भिक छलफलमा प्रदेशमा साहसिक खेलकुदसँगै वाटर स्पोर्टसलाई अघि बढाउन तयारी थाल्ने भएको हो।
प्रदेशका भौगोलिक तथा प्राकृतिक स्थानहरुको समुचित उपयोग गरी साहसिक खेलकुदका गन्तव्यको पहिचान गर्नेसँगै एक जिल्ला एक साहसिक खेलकुदको गन्तव्यको रुपमा अघि बढाउन छलफलमा सहभागी वक्ताहरुले जोड दिएका छन्।
साहसिक खेलकुदमार्फत रोजगारीको अवसरसँगै त्यसको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी नेपाल आउने पर्यटकहरुको बसाइ समेत लम्ब्याउन सकिने विषयमा आफ्ना भनाइ राख्दै सहभागीहरुले प्रदेशको विकास र समृद्धि आधार नै दिगो खेलकुद भएको बताउँदै दिगो खेलकुदमार्फत नै दिगो पर्यटनको परिकल्पना गर्न सकिने बारे समेत उनीहरुले छलफलमा उठाएका थिए।
सो अवसरमा आफ्ना भनाइ राख्दै गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले मुस्ताङमा हाई अल्टिच्युड स्पोर्टस ट्रेनिङ सेन्टरको निर्माणका लागि कुराहरु अघि बढे पनि प्रक्रियागत रुपमा ढिलाइ हुँदा काम अघि बढ्न नसकेको बारे चिन्ता व्यक्त गरे।
उनले भने, ‘हामीसँग प्रकृतिले नै उपहारको रुपमा दिएका पूर्वाधारहरु छन् तर हामीले टुलुटुलु हेरेर बस्नेबाहेक केही गर्न सकेनौँ।’
उनले मुस्ताङको ४६४५ मिटरको उचाईमा गल्फ सेन्टरको निर्माणका लागि अध्ययन गरिने बताउँदै पोखरालाई केन्द्र विन्दु मान्दै ३ देखि १८ घण्टासम्म प्रदेशभित्रका जिल्लाहरुमा साहसिक खेलकुदका गन्तव्यहरुको अध्ययन, अनुसन्धान तथा पहिचान गरिनुपर्ने कुरामा जोड दिए। उनले मुस्ताङमा साहसिक साइक्लिङ र र्याफटिङका लागि समेत आफूले पहल गरिरहेको बताए।
कार्यक्रममा आफ्ना भनाइ राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले ओलम्पिक खेलसँग सम्बन्धित खेलबारे धेरे चर्चा हुने गरे पनि प्रदेशको समृद्धीमा मुख्य भूमिका निर्वाह गर्ने साहसिक खेलकुद बारे ठोस रुपमा चर्चा नभएको बताए।
उनले परिषदले प्रदेशलाई साहसिक खेलकुदको गन्तव्यको आधारशिला स्थापित गर्न छलफल सुरु गरिएको बताए।
उनले प्रदेशको साहसिक र वाटर स्पोर्टसबारे अध्ययन अनुसन्धान गरी त्यसलाई मूर्तरुप दिन लागिएको उल्लेख गरे।
कार्यक्रममा आफ्ना भनाइ राख्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य गोविन्द प्रसाद भट्टराईले मुलुकको समृद्धिको प्रमुख आधार दिगो खेलकुद भए पनि राज्यले त्यसबारे निति निर्माणमा समेत चासो नदिएको बताउँदै त्यसमा भएको ठूलो जनशक्ति समेत खेर गइरहेको बताए।
पर्यटनविद समेत रहेका डा.रामजी शर्माले प्रदेशको साहसिक खेलकुदलाई स्थापित गराउन विशेष गरी एयर, वाटर, सर्फेस र अल्पाइन स्पोर्टसमा ध्यान पुर्याउनुपर्ने बताए।
यसैगरी कार्यक्रममा आफ्ना भनाई राख्दै श्रीकान्त खतिवडाले दिगो विकासका लागि भएका अध्ययनहरु समेत राज्यको दराज भित्र थन्किनु दुःख लाग्दो विषय रहेको उल्लेख गरे। उनले दिगो विकासका लागि १० वर्ष अघि नै हाई स्पोर्टस अल्टिच्यूड बारे अध्ययन भएको बताउँदै बागलुङको ढोरपाटन प्रदेशको साहसिक खेलकुदको मुख्य गन्तव्य बन्न सक्ने उल्लेख गरे।
छुम्देमा बन्द अवस्थामा रहेको माउन्टेनियरिङ प्रशिक्षण केन्द्रलाई यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्नेतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले प्रदेशलाई स्पोर्टस हवको नारामा मात्रै सीमित नराखी त्यसलाई सार्थक तुल्याउन पर्ने बताउँदै स्पोर्टस भिलेजको अवधारणामा अघि बढ्नुपर्ने बताए ।
यस्तै वाटर स्पोर्टसमा लामो समय काम गरेका नेपाल र्याफटिङ संघका निवर्तमान अध्यक्ष निम गुरुङले साहसिक खेलकुदमा भएका गतिविधिहरुको संरक्षण हुन नसक्दा दुःख लागेको बताए।
कार्यक्रममा नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले प्रदेशका हरेक जिल्लामा कम्तिमा एक खेललाई साहसिक खेलकुदको गन्तव्यको रुपमा अघि बढाउनुपर्ने बताउँदै त्यसको ब्राण्डिङ गरिनुपर्ने कुरामा जोड दिए।
सो अवसरमा प्रदेश खेलकुदका सदस्य एवम साहसिक खेलकुद तथा वाटर स्पोर्टसका उपसमितिका संयोजक बसन्तराज दवाडीले परिषदले नितिगत रुपमा यसको अध्ययन अनुुसन्धान तथा खोजीका लागि आफ्नो वार्षिक कार्यक्रममा अघि बढाएको बताउँदै प्रदेशको साहसिक खेलकुदको विकासका लागि आगामी वर्षमा ठोस कार्यक्रम र योजनाका साथ अघि बढ्ने बताए।
कार्यक्रममा परिषदका सदस्य गिरी प्रसाद गुरुङ, सदस्य योगेन्द्र शेरचन, सदस्य केशव पाठकलगायतको सहभागिता रहेको थियो।
Shares
प्रतिक्रिया