ad ad

खेल


पुनरागमनमा विक्रमको उत्साह

पुनरागमनमा विक्रमको उत्साह

लक्ष्मी जि.सी
मंसिर ६, २०७८ सोमबार १३:३३, काठमाडौँ

थ्री स्टारका कप्तान विक्रम लामाका लागि पछिल्लो ४ वर्ष संघर्षपूर्ण रह्यो। खुट्टाको चोटले उनलाई पटक पटक दुःख दियो। २०७४ को माघमा खुट्टा भाँच्चिएपछि ९ महिना मैदान बाहिर रहेका उनले पुनरामगन त गरे। तर फेरि उनलाई चोटले सतायो। यसपटक झण्डै एक वर्षपछि उनले गत साता सुरु भएको सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबविरुद्ध खेल्दै पुनरागमन गरेका छन्।

खुकुरीको चोट अचानोलाई के थाहा? भने जस्तै खेलाडीलाई लाग्ने चोट पनि अर्को त्यस्तै चोट बोक्ने खेलाडीले मात्र महसुस गर्न सक्छ। चोटले शारीरिक रुपमा त कमजोर बनाउँछ नै मानसिक रुपमा पनि दबाब बढाउँछ। 

शनिबार च्यासललाई ३–० ले हराएपछि विक्रमले आफ्नो भावना सामाजिक सञ्जाल फेसबुकमार्फत यसरी साटे, ‘आज १२ महिनापछि पहिलोपटक प्रतिस्पर्धात्मक फुटबलमा फर्कन पाउँदाको सुखानुभूति शब्दमा वर्णन गर्न सकिरहेको छैन ।’

पुनरागमनमा उनले उपचारमा सहयोग गर्ने र कठिन घडीमा हौसला दिनेलाई पनि स्मरण गरे। उनले अगाडि लेखे, ‘धन्यवाद, अखिल नेपाल फुटबल संघलगायत सम्पूर्ण सहयोगी वर्गहरु। सधैं साथ दिनुहुने नेपाली फुटबल प्रेमीबाट यति लामो समय मैदान बाहिर रहँदा तपाईंहरुको अमूल्य साथ, माया, शुभचिन्ता मेरो लागि सधैं हौसलाले भरिपूर्ण र विशेष रह्यो। त्यो निकै कठिन समयमा पाएको साथ सदैव स्मरण रहनेछ।

उनले सोही पोष्टमार्फत दृढता पनि प्रकट गरेका छन्। यहाँहरुको माया र साथलाई म मैदानभित्र सक्दो मेहनत गरेर न्याय गर्ने प्रयास गर्नेछु। यो अनवरत यात्राका सुखद पानामा अब हामी एकसाथ यात्रा गर्ने विश्वास दिलाउन चाहन्छु।’ उनले भनेका छन्।

विक्रमले पछिल्लो एक वर्ष फुटबलबाट बाहिर रहनु पर्दाको पीडा पुनरागमनबाट भुल्ने प्रयास गरे। ‘१ वर्षपछि मैदान फर्केर खेल्दा एक किसिमको पीडा थियो, त्योचाहिँ भुलेको जस्तो महसुस भयो’, उनले नेपालखबरसँग भने, ‘रिह्याबपछि पुनरागमनका लागि धेरै लामो समय लाग्छ। त्यस अर्थमा पनि सफलता पाएको महसुस भयो। समग्रमा भन्ने हो भने लामो समयपछि मैदान फर्किँदा एकदमै खुसी लागेको छ।’

उनको चार वर्षमा यो दोस्रो पुनरागमन कति सफल हुन्छ त्यसका लागि अझै केही समय पर्खनुपर्ने हुन्छ। यद्यपि जसरी उनी मैदान फर्किन सफल भए, त्यसले उनलाई भने थप उत्साहित बनाएको छ। उनले खेलमा गरेको अनुभव यसरी सुनाए, ‘खेल सुरु भएको १५ मिनेट संयमतापूर्वक खेलेँ। यसअघिको पुनरागमनको स्मरण पनि गरेँ। खेल्न सक्छु कि सक्दिनँ भनेर आफैले परीक्षण गर्नुपर्ने थियो। पहिलाकै अवस्थामा खेल्न सक्छु कि सक्दिनँ भन्ने द्विविधा मनमा थियो। १५ मिनेटपछि भने सहजतापूर्वक पहिलाकै जसरी खेलेँ।’

फुटबललाई उनले कति सम्झिए भन्ने उनको भनाइबाटै प्रष्ट हुन्छ। चोटपछि पुनरागमन गर्न नसक्दासम्मको पीडा घाइते खेलाडीलाई मात्र थाहा हुन्छ। त्यो पीडालाई शब्दमा व्यक्त गर्न गाह्रो छ।

कहिले बल छूँ, प्रतिस्पर्धात्मक फुटबलमा कहिले फर्कौं भन्ने हुने गरेको विक्रमले सुनाए। खेल्नका लागि आफू पूर्णरुपमा फिट भइसकेको उल्लेख गर्दै विक्रमले पुरानै लयमा फर्कन समने केही समय लाग्ने अनुमान गरेका छन्। शनिबारको आफ्नो प्रदर्शनबाट उनी सन्तुष्ट भने छन्।

पहिलोपटक २०७४ मा शल्यक्रिया गर्दा उनको खुट्टामा सर्पोट राखिएको थियो। गत वर्ष कतारस्थित अस्पेटार अस्पतालमा गत माघ २० गते शल्यक्रियाबाट त्यो सर्पोट निकालिएको थियो। दायाँ खुट्टाको टिबिया र फिबुलामा चोट लागेपछि उनको शल्यक्रिया गरेर सपोर्ट राखिएको थियो।

कतारमा झण्डै तीन महिना बिताएर उनी फर्केका थिए। गत वर्ष कार्तिकको अन्तिम र मंसिरको पहिलो साता बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको क्रममा खुट्टामा समस्याको समस्या बल्झिएपछि उनी पछिल्लो एक वर्ष मैदान बाहिर रहेका थिए।

२०६७ सालमा जावलाखेल युथ क्लबबाट थ्री स्टार पुगेयता विक्रम टोलीको मुख्य खेलाडीका रुपमा स्थापित भइसकेका छन्। राष्ट्रिय टोलीमा लामो समयदेखि रहँदै आएका उनी १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए।

आफ्नो पुरागमनबाट मात्र होइन, लिग पहिलोपटक फ्लड लाइडमा लिग खेल्दा पनि विक्रम उत्साहित देखिए। उनले भने, ‘झण्डै १६ वर्षको ए डिभिजन करियरमा पहिलोपटक फ्लडलाइटमा खेल भयो, यो कुराले अझ राम्रो महसुस गराएको छ।’

लिगमा चरणकै खेल जारी छन्। विक्रमको नजरमा भने सहभागी १४ टोली यसपटक समान किसिमका छन्। आफ्नो टोलीले भने उपाधिकै लागि प्रतिस्पर्धा गर्ने लक्ष्यका साथ तयारी गरेको उनले सुनाए। उनले भने, ‘हामी उपाधिको लागि लड्ने हो। अहिले जसरी टिम बनाएका छौँ। त्यसैले पहिलाको भन्दा अझ राम्रो नतिजा आउने विश्वास छ। पहिलो खेल जितेका छौँ। यो महत्वपूर्ण छ। यो नतिजालाई निरन्तरता दिन सके लक्ष्य प्राप्तिको सम्भावना बलियो रहन्छ ।’ 

विक्रमले लिगमा दर्शकको उल्लेख उपस्थितिको पनि अपेक्षा राखेका छन्। ‘राष्ट्रिय टिममा जसरी दर्शकले साथ दिएका छन्, त्यो समर्थन घरेलु फुटबलमा पनि सक्यो भने धेरै राम्रो हुन्छ’, उनले भने। 

२०७४ माघ २७ को त्यो दिन धरानमा थ्री स्टार पाँचौंपटक बुढासुब्बा गोल्डकप उपाधि जित्न नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दै थियो। थ्री स्टार उपाधि जित्न सफल त भयो तर, अन्तिममा विक्रम टोलीका साथमा थिएनन्। पहिलो हाफमै पुलिसका तेज तामाङसँग ठोक्किएका उनी घाइते भए। उनको नली खुट्टा भाँच्चिएको थियो। त्यहि साँझ काठमाडौंको ग्राण्डी अस्पतालमा उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .