एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको छैटौँ संस्करण असोज दोस्रो सातादेखि सुरु हुने भएको छ।
नेपाल भलिबल संघको आयोजनामा हुने महिला तथा पुरुष दुवै स्पर्धाको एनभीए क्लब च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म हुनेछ।
यो च्याम्पियनसिप आगामी चैतमा हुने क्लब लिग च्याम्पियनसिपको छनोट प्रतियोगिताको रुपमा समेत रहने संघले जनाएको छ।
संघले यो संस्करणको च्याम्पियनसिपको पुरस्कार राशिमा दोब्बर वृद्धि गरेको छ।
च्याम्पियनसिपको विजेताले ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन्।
गत संस्करण २ लाख, १ लाख र ५० हजार रुपैयाँ पुरस्कार दिईएको थियो।
गत वर्ष चैतमा भएको क्लब लिगको विजेताले ३ लाख रुपैयाँ हात पारेका थिए। च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछ। हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) का उत्कृष्टले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
गत संस्करण टोलीको तयारी खर्च संघले उपलब्ध गराउने गरेकोमा यो पटक सहभागी टोलीले आफैँ खर्चको व्यवस्थापन गर्नुपर्नेछ।
च्याम्पियनसिपमा सहभागी हुन इच्छुक क्लबले आवेदन दिनसक्ने संघले जनाएको छ। नियम अनुसार हरेक टोलीले बढीमा ३ विदेशी खेलाडी राख्न पाउनेछन्।
पाँचौँ संस्करणमा पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेका थिए। लिग च्याम्पियनसिपको उपाधि भने पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ होंगान्जी न्यू डायमन्ड च्याम्पियन बनेका थिए।
Shares

प्रतिक्रिया