ad ad

खेल


प्रशिक्षक तिम्सिनाले खोलेको सम्भावनाको ढोका

आई लिग च्याम्पियनसँग आवद्ध
प्रशिक्षक तिम्सिनाले खोलेको सम्भावनाको ढोका

लक्ष्मी जि.सी
भदौ ३, २०७८ बिहिबार २२:४४, काठमाडौँ

भारतको शीर्ष डिभिजनको आई लिगमा नेपाली खेलाडी सहभागी हुन थालेको धेरै भइसकेको छ। 

पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवम् गोलरक्षक किरण चेम्जोङ आई लिग खेलिरहेका छन्। 

राष्ट्रिय महिला टोलीका सावित्रा भण्डारी र अनिता बस्नेतले पनि गत वर्ष भारतीय महिला लिग खेलेर फर्केका थिए।

खेलाडीको उपस्थिति बढेका बेला पहिलो पटक नेपालको प्राविधिक जनशक्ति पनि आई लिग क्लबमा जोडिन थालेको छ। 

नेपाली प्रशिक्षक मनीष तिम्सिना आई लिगको च्याम्पियन टोली गोकुलम केरेला एफसीको गोलकिपिङ प्रशिक्षकका रुपमा आवद्ध भएका छन्। आई लिग क्लबमा कुनै नेपाली प्रशिक्षक आवद्ध भएको यो पहिलो पटक हो। 

गत सिजन गोकुलमको महिला र पुरुष दुवै टोलीले  लिगको उपाधि चुमेका थिए। गोकुलमको महिला टोलीले आई लिग जित्दा सावित्रा सर्वाधिक गोलकर्ता समेत बनेकी थिइन्।

एएफसी ए लाइसेन्स कोर्समा सहभागी ३३ वर्षीय तिम्सिना र गोकुलमबीच यसै साता नयाँ सिजन २०२१/२२ का लागि सम्झौता भयो। तिम्सिनाले महिला वा पुरुषमध्ये कुनलाई हेर्ने तय हुन बाँकी छ।

गोलकुलमको महिला पुरुष दुवैतर्फ गोलकिपरलाई प्रशिक्षण दिनुपर्ने सम्भावना रहेकोले आफू मानसिक रुपमा त्यसरी नै तयार रहेको उनले बताएका छन्। 

‘सम्झौतामा कुन टिम हेर्ने भनेको छैन। त्यसैले क्लबले मलाई दुवै टोलीमा प्रयोग गर्न सक्छ’, उनले भने, ‘बाँकी कुरा त्यहाँ गएर नै तय हुनेछ।’ 

उनी र क्लबबीच नौ महिनाको सम्झौता भएको छ। तिम्सिनाले सम्झौतापछि अन्य प्रशिक्षकलाई पनि बाटो खुल्ने आशा लिएका छन्।  

अखिल नेपाल फुटबल संघले धरानमा सञ्चालन गरेको एन्फा एकेडेमीका गोलकिपर प्रशिक्षक हुन तिम्सिना। 

‘यो नेपाली फुटबलका लागि खुसीको कुरा हो, यसले नेपालमा पनि स्तरिय प्रशिक्षक छन् भन्ने विश्वास बढ्नेछ’, उनले भने, ‘हाम्रो कामको पनि मूल्याङ्कन भएको छ महसुस गरेको छु।’

आई लिगमा मनीष आफूलाई कामले चिनाउने प्रयास गर्ने बताउँछन्। ‘मैले आफूलाई प्रमाणित गर्न सकेमा अन्य प्रशिक्षकबारे पनि राम्रो सन्देश जान्छ’, उनले अगाडि भने, ‘त्यसैले नेपालका प्रशिक्षकले राम्रो गर्न सक्छन् भने विश्वास दिलाउने प्रयास गर्नेछु।’  

खेलाडी, प्रशिक्षक हुँदै आई लिगसम्मको यात्रा तय गर्नुलाई तिम्सिनाले अवसर मात्रै नभई चुनौतीका रुपमा पनि बुझेका छन्।  

लिग विजेता भएका नाताले क्लबमाथि ‘टाइटल होल्ड’ गर्ने चुनौती छ। ‘क्लबलाई उपाधि रक्षाको चुनौती छ’, उनले भने, ‘म त झन् पहिलो पटक आवद्ध भएको छु। मेरो जिम्मेवारीमा खरो उत्रन चुनौती हुनेछ।’

यो सिजन गोकुलमले अनुभवी गोल रक्षकहरु भित्राएको प्रसंग उनले कोट्याए। ‘उनीहरुलाई मानसिक रुपमा पनि धेरै प्रभाव पर्छ’, उनले भने, ‘त्यसका लागि उनीहरुलाई कसरी तयार पार्न भन्ने विषयमा पनि सोचिरहेको छु।
...........

तिम्सिना आठ वर्षदेखि प्रशिक्षणमा छन्। यसबीचमा उनले थुप्रै प्रशिक्षण लिइसकेका छन्। एएफसी सी, बी लाइसेन्स उत्तीर्ण गर्दै ए लाइसेन्स कोर्सको परीक्षा दिइसकेका छन्। 
प्रशिक्षणकै क्रममा सन् २०१८ मा भारतको पटियालामा गरेको कोर्ष र त्यस क्रममा जोडिएका सम्बन्धले अहिले उनलाई आई लिगमा अवसर जुर्यो। 

त्यही प्रशिक्षण उनका लागि भारतीय प्रशिक्षकसँग चिनजान गर्ने माध्यम बन्यो। त्यही माध्यमबाट उनले इण्डियन फुटबल एशोसियसनमा लाइसेन्स दर्ता गराए। 

त्यही ए लाइसेन्सदेखि डि लाइसेन्स सम्मका  करिब साढे ३ सय प्रशिक्षकहरु रहेको ग्रुपमा उनी पनि थपिए। ग्रुपबाटै चिनजान भएका उनका साथीहरु आईएसएलमा प्लेयर र कोचका लागि काम गर्छन्। 

त्यही समूहका प्रशिक्षकका माध्यमबाट जानकारी पाएपछि तिम्सिनाले गोकुलमको गोलकिपर प्रशिक्षकको लागि आवेदन दिए। उनले आवेदन दिएपछि त्यहाँको एकेडेमी र हेड कोचले फोन गरेर व्यक्तिगत विवरण मागे।

‘बायोडाटा पठाएपछि मलाई फोन आयो, फुटबलका विषयमा अनौपचारिक कुराकानी भयो। कोचले यो कुरा क्लबमा राख्छु भन्नुभयो’, त्यो क्षण सम्झँदै उनले भने, ‘त्यसपछि क्लबका सिईओ डा. अशोकले फोन गर्नुभयो। हामी त्यहाँ विदेशीको रुपमा जानुपर्ने भएकाले १ हप्ता माग्नुभयो। त्यसपछि फाइनल भयो। 

अन्य क्लबसँग पनि आफ्नो छलफल चलिरहेको उनले बताए। ‘अरु क्लबले समय लिइरहेका थिए। गोकुलमले छिटो निर्णय दिएकाले त्यहीँ आव भएँ’, उनले भने।  
.............

खेलाडीका रुपमा औसत पूर्व गोलकिपर तिम्सिनाले थ्री स्टार, आरसिटी, हिमालयन शेर्पा, बाँसबारी, स्वयम्भु र ब्रिगेड ब्वाइजको पोष्ट सम्हालेका थिए। 

भारत गुहावटीस्थित सनराइज एथ्लेट क्लब र पश्चिम बगांलको सिलिगुडीस्थित उल्के क्लबबाट पनि खेलेको अनुभव उनीसँग छ। 

२०६५ मा काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा पूर्वाञ्चलले स्वर्ण पदक जित्दा तिम्सिना टोलीका गोलरक्षक थिए। 

विराटनगरका उनी साफ यू–१५ मा नेपाली टोलीको गोलकिपर प्रशिक्षक थिए। तिम्सिनाले प्रशिक्षकका यात्रामा एन्फाको ठूलो सहयोग रहेको बताए। 

‘खेलाडीदेखि प्रशिक्षकसम्मको यात्रामा एन्फा साथमा छ’, उनले खुसी हुँदै सुनाए, ‘एन्फाले नै मलाई प्रशिक्षकका रुपमा यहाँसम्म ल्याएको हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .