फ्रेन्च क्लब पीएसजीले यो समर सिजनमा खेलाडीका लागि सात करोड ६० लाख युरोमात्रै खर्च गरेको छ।
चर्चित खेलाडी लियोनल मेसी, जियानलुइगी डनारुमा, सर्जियो रामोस र जर्जिनियो विज्नाल्डुम सबै क्लबमा शुल्कविनै आइपुगेका हुन्।
ड्यानिलो १ करोड ६० लाख युरोमा र अस्रफ हाकिमी ६ करोड युरोमा क्लबले भित्र्याएको छ।
तर कमाइभन्दा धेरै खर्च गर्न नपाउने ‘फाइनान्सियल फेयर प्ले’ले क्लबलाई पछ्याइरहेको छ।
नयाँ खेलाडीको ठूलो तलबराशिको कारण पनि पीएसजीले धेरै खेलाडीलाई ट्रान्सफर गर्ने समय बन्द हुनुअघि नै बेच्न चाहेको हो।
ली पेरिसियनका अनुसार क्लबले अहिलेलाई कम्तीमा पनि पाँच खेलाडीलाई बेच्न चाहेको छ।
तीमध्ये आकर्षित गर्नसक्ने खेलाडी छन् दियो कहरर। २४ वर्षीय सेन्ट्रल डिफेन्डरलाई ट्रान्सफरमार्क्टले दुई करोड ५० लाख युरो मूल्यांकन गरेको छ। उनीपछि क्रमशः माक्र्विनोज, प्रेस्नल किम्पेम्बे र रामोस आउँछन्।
त्यस्तै, पाब्लो सराबिया युरो २०२० मा स्पेनका लागि सुरुवाती मौका पाउनेमा थिए। उनले पनि क्लब छोड्न सक्ने बताइएको छ। उनको मूल्य पनि साढे २ करोड युरो छ। उनी ३० वर्ष पुग्न लागे पनि महंगो मूल्यांकनमै परेका छन्।
यसबाहेक जुलियन ड्राक्सलर पनि पीएसजीको नियमित खेलाडी बन्न सकेका छैनन्। उनको मूल्य दुई करोड युरो छ। उनी चार वर्षदेखि पीएसजीमै छन्। त्यस्तै राफिन्हा र लाविन कुज्र्वावालाई पनि अगस्ट ३१ अगाडि नै बेच्न चाहेको बताइएको छ। मार्सा डटकमबाट।
Shares

प्रतिक्रिया