खेल


कालो चिया खाएर एन्फा चलाएँ

कालो चिया खाएर एन्फा चलाएँ

गणेश थापा
कात्तिक ३, २०७६ आइतबार ११:५८,

बच्चामा म कसरी खेल्थेँ? पहिलो पटक राष्ट्रिय टिममा कसरी परेँ? सन्न्यास लिँदाको बखत, अनि फुटबल संघमा कसरी प्रवेश, त्यसपछि एन्फामा २२ वर्ष रहँदा राम्रो नराम्रो, विवादहरु, लेखा समिति, अख्तियार, एएफसी, फिफा, हमामसँगको सम्बन्ध आदिबारे सत्यकुरा इमान्दारिताका साथ मैले आफ्नो आत्मकथामा प्रस्तुत गरेको छु।

मैले लेखेका कुराहरु आउँदा कसैलाई पनि यो कुरा झुटो लेखियो भन्ने नलागोस् भनेर तथ्यपरक रुपमा लेखेको छु। पछिल्लो चरणमा किन म प्रति अन्याय भयो? सायद मेरै प्रस्तुतीले हुनुपर्छ। मेरै कमिकजोरीले हो कि? विगत ५ वर्षदेखि मेरो मनमा रहेका अत्यन्तै चिन्ता र पीडाहरु पनि मैले किताबमा लेखेको छु।

कहिलेकाहीँ म सोच्छु। यस्ता घटनाहरु घटे जसका कारण ३५ वर्ष मैले नेपाली फुटबलमा योगदान दिएपनि मेरो ठूलो चरित्र हत्या भयो। जुन मान–अपमान मैले सहेको छु। मेरो मृत्युपश्चात एन्फा र राखेपमा लगेर मेरो लास राखेर हसाउने काम नगर्नु भनेर लेखेको छु। मैले त्यति पीडा भोगेको छु।

लेखा समितिले किसिमको ममाथि अन्याय गरे। सायद नेपाली इतिहासमा हामीले पल्टाएर हेर्यौँ भने कुनैपनि व्यक्तिको छानबिन नै नगरिकन दुबै पक्षलाई बोलार दश–दश मिनेट कुरा गरि, त्यसैको भरमा निलम्बन गरिएको यो पहिलो उदाहरण हुनुपर्छ। कसैलाई निलम्वन गर्नुभन्दा अगाडि उपसमिति बनाइन्छ। छानविन हुन्छ। दोषी को छ त्यसलाई कारवाही हुन्छ। त्यसो केही गरिन।

मेरो अर्को पीडा के भने लेखा समितिले गर्दै नगरेको निर्णयलाई ‘गणेश थापाले ५८ करोड भष्ट्रचार गर्यो’ भनेर त्यसबेलाका माननीय रामहरी खतिवडाजीले पत्रपत्रिकामा आफ्ना धारणा राखे। यसका कारण आम मानिसमा ठूलो नकरात्मक धारणा बन्यो। त्यसबेला मैले यसका विषयमा खण्डन गर्दापनि कसैले सुनेन। अहिलेपनि लेखा समितिमा गएर हेरेहुन्छ। त्यहाँ कहाँ निर्णय भएको छ?

अख्तियारले छानविन गरेर सफाई दिएपनि अख्तियारले बचायो भनियो। सफाई पाए पनि न्याय पाएन। फलानोले बचायो भन्ने कुरा आयो। लेखा समिति भनेको सम्बैधानिक अंग हो। यदि उसलाई चित्त नबुझेको भए उसले अख्तियारलाई प्रश्न गर्नसक्थ्यो। किन गर्न सकेन? अख्तियारले गणेश थापालाई बचाउन खोजेको भए, निर्णय गर्नेहरु छानविनको दायरामा आउनुपर्ने हो? लेखा समितिले गर्न सक्थ्यो, किन गरेन।

नेपालको अख्तियारले गणेश थापालाई सफाई दियो तर फिफाले कारवाही गर्यो भन्ने पनि धैरै मानिसहरुलाई भ्रम परेको छ। यी फरक फरक विषय हुन। नितान्त रुपमा फिफाले गरेको अनुसन्धान भनेको पारिवारिक, व्यक्तिगत रुपमा गरेको सहयोगलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को रुपमा मात्रै छानविन गरेको हो। फिफाले ५८ करोड लगायत कुनैपनि छानविनमा कुरा गरेको हैन। त्यसलाई पनि मिसलिड गरियो, फिफाले १० वर्ष कारवाही गर्यो तर अख्तियारले सफाई दियो भनियो।

यहाँ विभिन्न मिडियामा आएका यस्तै मिसलिड गर्ने समाचारहरु वर्तमान एन्फाका अध्यक्ष(कर्माछिरिङ शेर्पा) ज्युले बारम्बार पठाइसकेपछि फिफाले आफूले पठाएको सम्पूर्ण स्रोतको बारेमा ६ महिना लगायर जाँचबुझ गर्दा पनि कुनै किसिमको हिनामिना भएको भेटाएको थिएन।

मैले ५ वर्षअघि छाडेपछि फुटबलमा के राम्रो भयो? एकाध मैले त्यस्तो स्वीकारेको छु, जस्तो नेपालको जर्सी अहिले राम्रो बनेको छ। अष्ट्रेलियामा पनि तारिफ भयो अरे। साँच्चकै राम्रो भएको होला। अहिले राम्रो टिमले गरेको प्रदर्शनलाई वर्तमान कार्यसमितिले कुनैपनि कोणबाट जस लिने ठाउँ छैन। उहाँहरुले पछिल्लो ५ वर्षमा तयार गरेको टिम भनेको यू–१५, यू–१८ हो। त्यसमा उहाँले सफलता हासिल गर्नुभयो भने पक्कै पनि उहाँहरुको सफलता मान्नेछौं। तर अहिले चाँहे महिला होस या पुरुष होस राष्ट्रिय टिममा एकजना पनि उहाँहरुले नयाँ खेलाडी उत्पादन गर्नसक्नु भएको छैन। सबै खेलाडीहरु मेरो कार्यकालमा उत्पादन भएका हुन। त्यसकारण त्यसको हार र जितको जस मैले पाउनुपर्ने ठानेको छु।

निष्पक्ष रुपमा मेरो २२ वर्षको कार्यकाल र अहिलेको कार्यकालमा छानविन होस। त्यसपछि थाहा हुन्छ, मेरो पालामा के भएको छ र अहिले कति बदमासी भएको छ। होटलबाट ल्याएर दनादन पैसा खाने, टिममै नपरेका खेलाडीलाई देशको प्रतिनिधित्व गराउने, चुनावमा भएको आर्थिक चलखेल अडियोमै आइसक्यो। यस्ता कुरालाई पनि हामीले छुट दिएका छौं। यी सबै मैले कितावमा लेखेको छु।

एफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामसँगको सम्बन्धमा पनि मैले प्रष्ट रुपमा राखेको छु। मानिसहरुले हमामले त्यसबेला दिएको दुई लाख डलरको बारेमा प्रश्नहरु गरिहरको छन। तर कसलाई थाहा छ, हमामले मलाई अहिलेपनि कति सहयोग गरिरहेको छ? हिजो त मलाई भोटका लागि भनेर कारवाही गरियो। तर अहिले हामी दुबै फुटबलमा छैन। अहिलेपनि निरन्तर उहाँले सहयोग गरिहरनुभएको छ। के अहिलेपनि भोटका लागि सहयोग भएको छ त?

भष्ट्रचार गर्ने मान्छेले एन्फामा २२ वर्ष बस्दा पनि भष्ट्रचार गथ्र्यो होला नी। तर नेपालमा पाँचवटा आयोग मेराविरुद्ध गठन भए। सायद नेपालको खेलकुद इतिहासमा पार्टी रुलिङ गर्दै गणेश थापालाई कारवाही गर्नुपर्छ भनेर पाँचवटा आयोग गठन भएको यो पहिलो पटक हो। तर खै कारवाही भएको? अहिले कति ठूल्ठूला मान्छेहरु कारवाहीमा परेका छन। अहिले पनि कारवाही गरे हुन्छ। अहिलेपनि छानविन गर्दा हुन्छ। यदि छानविनमा मैले एन्फामा बसेर भष्ट्रचार गरेको भेटिए सबै तिर्न तयार छु। म मर्नु भन्दाअघि सबै तिरेर जान तयार छु। मैले एन्फामा बसेर इमान्दारीपूर्वक काम गरे। कालो चिया खाएर काम गरे। अहिले एउटा होटलमा २५ लाख खर्च गरेर पार्टी गरिन्छ। मेरो कार्यकाल भरि नै पार्टीका लागि २५ लाख खर्च भएन होला।

ठूला ठूला नेताहरुसँगको मेरा अनुभवहरु छन। माधव नेपालसँग राति अबेर दुई बजेसम्म चाइनाको एउटा होटलमा एक्लै बसेर राजनैतिक अवस्था, माओवाद तथा ज्ञानेन्द्र शाहको चर्चापनि गरेको थिए। सारी किन्न पनि हामी दुई जनासँगै बजार गएका छौं। प्रचण्डसँगको पहिलो भेट, गिरिजाप्रसाद कोइरालासँगको भेट, फुटबल हेर्दा म वर्तमान प्रधानमन्त्रीसँग रिसाएका घटनाहरु, जुन अहिले सम्झदाखेरि मलाई डर पनि लाग्छ, जस्ता कुराहरु पनि मैले किताबमा समेटेको छु।

यो किताब केही कमाउन भन्दा पनि आफ्ना पीडाहरु र ममाथि परेका अन्यायहरु, मेरा केही गल्ती कमजोरीहरु र गुनासोहरुमा केन्द्रीत गरेको छु। मलाई परेको अन्यायलाई इमान्दारीका रुपमा मैले प्रस्तुत गरेको छु। फेरि मलाई लागेको अन्याय अरुलाई नलाग्न सक्छ।

(एसियाली फुटबल महासंघ(एएफसी)का पूर्व उपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ(एन्फा)का पूर्वअध्यक्ष गणेश थापाको आत्मकथा आगामी फागुनमा बजारमा आउँदैछ। बुकहिलले प्रकाशन गर्न लागेको आत्मकथा वरिष्ठ खेलपत्रकार हिमेशरत्न बज्राचार्यको सहलेखनमा बजारमा आउन लागेको हो। पुस्तकको कभर सार्वजनिक कार्यक्रममा गणेश थापाले दिएको मन्तव्यको सम्पादित अंश)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad