खेल


सपना पूरा भएको दिन

सपना पूरा भएको दिन

यज्ञराज जोशी
कात्तिक २, २०७६ शनिबार ५:३५,

 ठिक एक वर्षअघि पोखरामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टले पुरुषहरुको फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग आयोजना गरेको थियो।

सो लिगमा देशका ६ शहरका ६ टोलीले प्रतिस्पर्धा गरेका थिए। घरेलु मैदानमा देशकै स्टार खेलाडीहरु बल र ब्याट लिएर उत्रेपछि पोख्रेली दर्शकहरुले पनि प्याराफिटमा खचाखच भरिएका थिए।

प्याराफिटमा प्रायः पुरुष समर्थकहरु हुन्थे। तीन-चार जनाको समूहका युवतीहरु पनि प्रायः सबै खेलका दौरान मैदान पुग्थे। पोखरेली भएका नाताले उनीहरुको समर्थन घरेलु टोली पोखरा पल्टनलाई थियो। प्याराफिटबाट उनीहरुले गर्ने हुटिङले धेरैको ध्यान खिच्थ्यो। अझै पोखराको खेलमा उनीहरुको हुटिङले स्टेडियम गुञ्जयमान हुन्थ्यो।

‘पोखरा हाईहाई....फलानो बाईबाई’, ‘लान्छ, लान्छ.... पोखराले ट्रफी लान्छ’, यतिमात्रै हैन, ती किशोरीहरुले टुक्का मिलाउँदै गीत गाएर पनि टोलीको समर्थनमा कुनै कसुर बाँकी राख्दैनथे। उनीहरु गाउथे, ‘पानको पात, पानको पात, पोखरा पल्टन तिमलाई छ हाम्रो साथ...।’ उनीहरुले घाँटी सुक्ने गरी हुटिङ गरेको देख्दा धेरैको प्रतिक्रिया हुन्थ्यो, ‘पुरै फाँडेका छन्।’

 दैनिक प्याराफिटमा पुगेर हुटिङ गर्ने युवतीहरु कम्तीमा क्रिकेट बुझ्थे भन्ने एक्कीन गर्न गाह्रो थिएन। मलाई उनीहरुको क्रिकेट साइनोबारे जान्न मन लाग्यो। उनीहरुसँग कुराकानी अगाडि बढाएँ। कुराकानीका क्रममा खुल्यो उनीहरु पनि क्रिकेटर रहेछन। पोख्रेली महिला क्रिकेटर।

शीला क्षेत्रीको अघिल्लो वर्ष महिलाको फेन्चाइजी लिग खेल्ने सपना यस वर्ष पूरा भएको छ।

पुरुषहरुको लिग पोखरा रंगशाला चलिरहँदा उनीहरु स्टेडियममै बसेर टुलुटुलु हेर्थे र सोच्थे, ‘हामीले यस्तो लिग कहिले खेल्न पाउने होला?’ ती मध्येकी एक थिइन्, शीला क्षेत्री। उनले भनेकी थिइन्, ‘हाम्रो पनि यस्तै लिग खेल्ने सपना छ नि तर के गर्ने यहाँ सामान्य गेम नभएको कति भैसक्यो, फ्रेन्चाइजी लिगको त झन के आशा गर्नु।’

शीलाले भनेको कुरा नेपाली क्रिकेटमा मेल खान्थ्यो। देशमा पोखरा प्रिमियर लिगसँगै तीनवटा (धनगढी, एभरेष्ट) व्यवसायिक ठूला पुरुषका क्रिकेट लिगहरु सञ्चालनमा भइरहेका थिए। लिग खेलेरै पुरुष खेलाडीहरुले लाखौं कमाउने अवस्था बनेको थियो। लिगकै प्रदर्शनका आधारमा पुरुषहरुले राष्ट्रिय टोलीसम्मको ढोका उघार्थे। विदेशी खेलाडीहरुसँग खेल्दै म्याच एक्स्पोजर लिन्थे। तर, महिला क्रिकेटरहरु भने फ्रेन्चाइजी क्रिकेट खेल्ने सपनामात्रै पालेर बसेका थिए।

ठिक एक वर्षपछि शीला जस्तै फ्रेन्चाइजी लिग खेल्ने नेपाली महिला क्रिकेटरहरुको सपना पूरा भएको छ। यसैहप्ता काठमाडौं क्विन्स इभेन्ट्स म्यानेजमेन्टले नै पहिलो पटक महिला क्रिकेटको फ्रेन्चाइजी क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग शुरु गरेको छ। देशका ५ शहरका ५ टोलीबाट ७० बढी महिला खेलाडीहरुले पहिलोपटक व्यवसायिक क्रिकेटको अनुभव लिइरहेका छन्। उनीले पनि खेलेर पारिश्रमिक बुझ्ने भएका छन्। जुनिएरहरुले सिनियरहरुबाट म्याच एक्स्पोजर पाएका छन्। प्रदर्शनकै आधारमा राष्ट्रिय टोलीको ढोका खोल्ने सपना पालेका छन्।

एकवर्ष अघि महिला फ्रेन्चाइजी क्रिकेट खेल्ने सपना पालेकी शीला पनि अहिले अहिले कीर्तिपुर मैदानमा पोखरा पल्टनकै महिला टोलीको प्रतिनिधित्व गरिरहेकी छन्। उनी भन्छिन्, ‘अहिलेसम्म महिला क्रिकेटमा यस्तो कुनैपनि गेम भएको थिएन। अहिले हुँदा निकै उत्साहित बनेका छौँ। पहिलो पटक झकिझकाउ मैदानमा टेलिभिजनमा लाइभ देखाइने खेलमा मैदान उत्रँदा भने केही नर्भस फिल पनि भयो। तर, अनुभव र एक्स्पोजर पनि बढाएको छ। यस्तै खाले प्रतियोगिताहरुमा राम्रो प्रदर्शन देखाए पक्कै पनि राष्ट्रिय टोलीको ढोका खुल्नेछ।’

गतवर्ष पोखरा प्रिमियर लिगको दर्शक बनेपछि शीलाले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै आठौं राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप तथा मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता खेलिन्। यी सबै प्रतियोगिता सरकारी निकायको संग्लनता र लगानी भएका प्रतियोगिता हुन्। धेरै प्रतियोगिता व्यवस्थापन र आयोजनाका दृष्टिकोणले त्यतिकै झारा टार्ने खालका भएको उनको बुझाइ छ।

तर, झकिझकाउ मैदान, चुस्त व्यवस्थापन र टेलिभिजनमा लाखौं दर्शकले हेर्ने गरी आयोजना भएको वुमन्स च्याम्पियन्स लिग खेल्न मैदान उत्रँदा शीलाको जस्तै सुरुमा नर्भस र उत्साहित दुवै अनुभव भयो एक दशक नेपाली महिला क्रिकेट टोलीको नेतृत्व गरिसकेकी रुविना क्षेत्रीलाई पनि।

रुविना क्षेत्री जारी वुमन्स च्याम्पियन्स लिगमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन्।

उनी भन्छिन्, ‘सुरुमा त नर्भसनेस र डर दुबै देखियो। पहिलो पटक यस्तो खाले गेममा मैदान प्रवेश गर्दा होला। अलिकति अप्ठ्यारो फिल भयो। तर, सबै जना हेर्छन्, बोल्छन्, आहा भन्छन्। सबैको अनुहारमा खुशी र चमक देख्दा यस्तो प्रतियोगिता खेल्ने सबै जनाको कति व्यग्र प्रतीक्षा रहेछ भन्ने कुरा बुझिन्छ। यत्रो ठूलो प्लेटफर्ममा खेल्न पाउने सबैको एउटा सपना पूरा भएको छ।’

मंसिर १५ देखि २५ सम्म नेपालमै दक्षिण एसियाली खेलकुद (साग) हुँदैछ। त्यसका लागि दुई महिना अघिदेखि नै नेपाली महिला टोली बन्द प्रशिक्षणमा थियो। स्वर्ण जित्ने सपना देखेको नेपाली टोलीका सदस्यहरु अहिले यो प्रतियोगितामा व्यस्त छन्। रुविना यस प्रतियोगिताले सागको स्वर्ण सपनालाई ठूलो सहयोग पुग्ने बताउँछिन।

‘यस्तो प्रतियोगिता चाहिँदो रहेछ हामीलाई। मैले यत्रो वर्ष राष्ट्रिय टोलीको कप्तानी गर्दा पनि पहिलो खेल खेल्दा म नर्भस भएको थिए,’ रुविनाले भनिन्, ‘तर, ठूला खेलमा नर्भसनेस एडजस्ट गर्न पनि हामीले यसै प्रतियोगिताबाट सिक्यौं। यो नभएर सिधैँ साग गेम्स खेलेको भए हामीलाई अप्ठारो हुनेरैछ। यो टुर्नामेन्टले साग खेल्ने सबै खेलाडीलाई फिटनेस र मानसिक रुपमा पक्कै बलियो बनाउँनेछ।’

यस्तै १२ वर्षदेखि निरन्तर नेपाली महिला क्रिकेट टोलीबाट खेल्दै आएकी नेरी थापा यस लिगले आउने पुस्तालाई राम्रो गर्ने र महिला क्रिकेटलाई माथि उठाउने बताउछिन।

‘महिला खेलाडीले १२ वर्षको अन्तरालमा फ्रेन्चाइज खेल खेल्न पाएका छन्। यसले हामीलाई उत्साहित बनाएको त छ नै आउँदो पुस्तालाई राम्रो हुन्छ,’ नेरीले भनिन्, ‘सुरुवाती खेलहरुबाटै नयाँ ट्यालेन्टहरु देखिएका छन्। अब महिला क्रिकेट जुर्मुराउने संकेत पाएकी छु।’

२००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाउँदा नै एसीसी वुमन्स ट्रफीमा उपविजेता बनेको नेपाली महिला क्रिकेटलाई विश्वकप खेल्ने प्रबल सम्भावना भएको टोली मानिन्छ।

गत फेबु्रअरी (२०१९)मा थाइल्यान्ड र २०२० मा अष्ट्रेलियामा हुने टी–२० महिला विश्वकपको एसिया छनोट थियो। ७ देश सहभागी प्रतियोगिताको फाइनलमा नेपाल थाइल्यान्डसँग रोकिँदै उपविजेता बन्यो। एक टिममात्रै अन्तिम चरणको छनोटमा पुग्ने भएकाले थाइल्यान्ड भाग्यमानी बन्यो। अगस्टमा भएको अन्तिम छनोटमा पनि शीर्ष दुईभित्र रहेपछि थाइल्यान्डले विश्वकप खेल्ने भएको छ।

जबकि एसिया छनोटमा थाइल्यान्डसँग पराजित भए पनि नेपाली खेलाडीहरुको प्रदर्शन सबैभन्दा उत्कृष्ट थियो। प्रतियोगितामा नेपालकी उपकप्तान सीता रानामगर सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन्। सीता पनि यस्ता प्रतियोगिताले नेपालको विश्वकप खेल्ने सपनालाई गन्तव्य दिने बताउँछिन्।

सिता रानामगर फ्रेन्चाइजी लिगले नेपालको विश्वकप सपनालाई सघाउ पुर्याउने बताउँछिन।

‘हामी यसअघि सामान्य प्रतियोगिता खेलेर पनि सबैलाई चुनौती दिइरहेका थियौं। के खेल्ने? कहाँ खेल्ने? खेलेर के गर्ने भन्ने नै टुंग्गो थिएन’, उनी भन्छिन, ‘तर, अब फ्रेन्चाइजी क्रिकेट शुरु भएको छ। यसले खेलाडीहरुलाई राम्रो एक्सोजर दिनुका साथै व्यवसायिक पनि बनाएको छ। यस्ता प्रतियोगिताको निरन्तरताको अपेक्षा राख्छु। यसले नेपाली विश्वकप खेल्ने सपनालाई साकार बनाउन ठूलो मद्दत मिल्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad