समाज


१ वर्षअघि मृत भेटिएका थिए हरिकिसन राना: घटना छानबिन माग गर्दै महेन्द्रनगरमा प्रदर्शन (तस्बिरहरू)

१ वर्षअघि मृत भेटिएका थिए हरिकिसन राना: घटना छानबिन माग गर्दै महेन्द्रनगरमा प्रदर्शन (तस्बिरहरू)

गोकुल जोशी
बैशाख २६, २०८३ शनिबार १८:२३, कञ्चनपुर

एक वर्षअघि जलेको अवस्थामा मृत भेटिएका कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ कमरीका हरिकिसन रानाको मृत्यु घटनाको रहस्य अझै खुलेको छैन। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरसहित केन्द्रीय अनुसन्धान ब्यूरो  (सीआइबी) लगायतले पनि अनुसन्धान गरेको राना मृत्यु घटनाको गुत्थी अझै नसुल्झिएपछि पीडित परिवार स्थानीय आन्दोलित बनेका छन्। 

२०८२ वैशाख ९ मा राना बेलौरी नगरपालिका–१० शिवनगरमा मोटरसाइकलसँगै जलेको अवस्थामा मृत भेटिएका थिए। यो घटनाको कारण अझै यकिन हुन सकेको छैन। 

राना मृत्युको घटना हत्या, आत्महत्या वा दुर्घटना के हो ? भन्ने विषयमा अहिले पनि प्रहरी अन्योलमै छ। 

ठोस प्रमाण नभेटिएकाले केही भन्न सकिने अवस्था नरहेको र घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

शंकास्पद व्यक्तिलाई सोधपुछ गर्नेदेखि विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा प्रहरीले बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। 

एक वर्षै बितिसक्दा पनि घटनाको रहस्य नखुलेको विरोध र घटनाको छानबिन माग गर्दै रानाथारु समाज, आदिवासी जनजाति महासंघलगायत विभिन्न संस्थाले शनिबार महेन्द्रनगरमा संयुक्त प्रदर्शन गरेका छन्। 

जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको र्‍याली महेन्द्रनगर बजार परिक्रमा गरी मदन चोकमा पुगेर कोणसभा गरेको थियो। 
पटक पटक प्रहरी प्रशासन धाउदा लामो समय बितिसक्दा पनि न्याय नपाएको मृतकका छोरा भुवन रानाको गुनासो छ। 

‘अहिलेसम्म अनुसन्धान कहाँ पुग्यो? हामीले कहिले न्याय पाउँछौं? किटानी जाहेरी दिँदा पनि त्यो कोणबाट अनुसन्धान भएन,’ उनी भन्छन्, ‘सीआईबीको अनुसन्धानले के देखायो त्यो सार्वजनिक गनुपर्‍यो।’

रानाथारु सोझा जाति भएकै कारण एक वर्षसम्म न्याय नपाउने अवस्था आएको रानाथारु समाजका केन्द्रीय अध्यक्ष कमलसिंह रानाले बताए। 
‘राज्यले घटनाको सुक्ष्म अनुसन्धान गरेन। घटना लुकाउने छिपाउने प्रयास भयो। सत्यतथ्य बाहिर नआए कडा आन्दोलन गर्नेछौँ,’ उनले भने। 

विगतमा सीआईबीले गरेको अनुसन्धानको निष्कर्ष सार्वजनिक गरिनुपर्ने उनीहरूको माग छ। 

प्रतिनिधिसभा सदस्य समेत रहेको रानाथारु समाजका पूर्वअध्यक्ष कृपाराम रानाले न्यायको माग गर्दै सडकमा उत्रिनुपर्ने बाध्यता दुःखद भएको बताए। 

‘हरिकिसन रानाको मृत्यु कसरी भयो ? अहिलेसम्म प्रहरीले भन्न सकेको छैन,’ उनले भने, ‘यसको सत्यतथ्य छानबिन गर्नुपर्छ, अब पनि ढिलाई गर्नु हुँदैन।’

हेर्नुहोस् महेन्द्रनगरमा आज भएको प्रदर्शनको थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad