समाज


सिमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा

सिमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा

फाइल तस्बिर


नेपालखबर
माघ १६, २०८१ बुधबार ७:४८, कञ्चनपुर

कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सिमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा परेको छ। अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनिक मलको प्रयोग, जलप्रदूषण, प्लास्टिक, सिँचाइका लागि पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्ने कार्यले चरा संरक्षणमा चुनौती थपिएको हो।

नेपाल पन्छी संरक्षण संघ (बीसीएन)का चराविद् हिरुलाल डगौराले सीमसार क्षेत्र खुम्चिँदै जाँदा चराको बासस्थानमा खलल पुगेको बताए।  ‘ताल तथा सीमसार क्षेत्र अतिक्रमण हुँदा ८६ प्रतिशत चरा जोखिमा रहेको पाइएको छ’, उनले भने, ‘चराको बासस्थानसँगै ताल तलैया तथा सिमसार क्षेत्रमा चरा मार्नका लागि विषादीको प्रयोग हुने गरेको पाइएको छ, त्यस कार्यले चराको अस्तित्व खतरामा परेको छ।’

उनका अनुसार बेलौरी नगरपालिका- ६ स्थित पुरैनी तालमा सन् २०१७ मा गरिएको सर्वेक्षणमा दुई हजार २०० जलपन्छी फेला परेका थिए। त्यसको नौ वर्षपछि सन् २०२५ मा आइपुग्दा चराको सङ्ख्या घटेर सात सय ५ पुगेको छ। चराको सङ्ख्या बर्सेनि घट्दै जानुमा बासस्थान विनाश प्रमुख कारणका रुपमा रहेको छ।  

बीउ छर्न र उमार्न, परागसेचन गर्न, परिस्थितिकीय प्रणालीमा सहयोग गर्न, कीरा फट्याङ्ग्रा नियन्त्रण गर्नमा चराले महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ। योसँगै पर्यापर्यटनमा टेवा, वातावरणको शोभा बढाउने कार्यसँगै चराको धार्मिक तथा सांस्कृति महत्व रहेको चराविद् डगौरा बताउछन्। 

विषादी प्रयोग गरी चरा मार्ने तथा शिकार गर्ने कार्यलाई स्थानीय सरकार, प्रशासनिक निकायले नियन्त्रण गर्नुपर्ने उनी बताउँछन्। बीसीएनको सहयोगमा चरा संरक्षणका लागि समुदाय स्तरमा सचेतना फैलाउनका लागि छलफल, गोष्ठी, बैठकसँगै चरा अवलोकनका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।  ती कार्यक्रममा चरा संरक्षण गर्नका लागि सीमसार क्षेत्र जोगाउनुपर्ने कुरामा जोड दिइँदै आएको छ। 

स्वस्थ्य, प्राकृतिक सिमसार क्षेत्र मानव अस्तित्वका लागि महत्वपूर्ण रहेको कुरा समुदायलाई सम्झाउने बुझाउने कार्य हुदै आएको कञ्चनपुर पंछी संरक्षण समूहका अध्यक्ष सन्देश चौधरी बताउँछन्। ‘सिमसारसँग मानव समाजको अत्यावश्यक र आधारभूत सम्बन्ध छ, उनले भने, ‘ताजा पानी आपूर्ति गर्ने कार्यसँगै सिमसार क्षेत्रले पानी भण्डारण गर्दछन, जसका कारण सीमसार क्षेत्र महत्वपूर्ण छ।’
 
एक सर्वेक्षणअनुसार आधाभन्दा बढी विश्वको मुख्य आहाराका लागि सिमसारमा उब्जाएको उत्पादनमा निर्भर छ। विश्वका एक अर्बभन्दा बढी मानिसका लागि सिमसार क्षेत्रका माछाहरु प्रोटिनका प्राथमिक स्रोत हुन्।

सीमसार क्षेत्रमा उब्जाएको धानले वार्षिक ३.५ अर्ब मानिसलाई खान पुग्छ। सीमसार क्षेत्रको महत्व नबुझ्दा अतिक्रमणको चपेटामा पर्दै गएको छ। प्रवासी चराचुरुङ्गी र अन्य जनावर यात्राका क्रममा आराम गर्ने, खाना खाने ठाउँ वा प्रजननका लागि सिमसारमा निर्भर हुन्छन्। 

रैथाने र प्रवासी चराको मुख्य बासस्थानका रुपमा रहेका सीमसार क्षेत्रलाई जोगाउन सबैको महत्त्वपूर्ण भूमिका हुने बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको भनाइ छ। बीसीएनसँग सहकार्य गरी नगरपालिका क्षेत्रभित्रका सीमसार क्षेत्र संरक्षण र जलपन्छी संरक्षणका लागि योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्न इच्छुक रहेको उनको धारणा छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad