दार्चुलामा जात्राबाट फर्किरहेका दशनार्थी सवार जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दुईजना भारतीय नागरिकसहित ६ जनाको मृत्यु पुष्टि भएको हो।
मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय महोमद सफिर, भारत उत्तरप्रदेशका १८ वर्षीय महोमद बसीम, दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलिप बिष्ट, शैल्यशिखर नगरपालिका–५ लेकका ३० वर्षीय बिरेन्द्र रावल, सोही ठाउँकी २८ वर्षीया शान्ति रावल र बैतडीको डिलाशैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदिप बोहरा छन्।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले नेपालखबरलाई दिएको जानकारी अनुसार मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ बकजेबलामा आज बिहान ४ बजेतिर दुर्घटनामा परेको हो।
जिपमा १३ यात्रु सवार थिए। ७ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ। मालिकार्जुन–३ मडमा लागेको रात्रिजात्रा हेरेर फर्किरहेका यात्रु सवार जिप सडकबाट डेढ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।
Shares

प्रतिक्रिया