समाज


मिठा परिकारका लागि मुसाको सिकार!

मिठा परिकारका लागि मुसाको सिकार!

नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार ६:४२, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्न निकै निपुण छन्। उनी बिल (दुलो) हेरेर नै त्यहाँ मुसा भए/नभएकोपत्ता लगाउँछन्। मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन्। 

धान भित्र्याएर अहिले उनीहरू फुसर्दिला छन्। फुर्सदमा बन्धुराम मुसा मार्न व्यस्त छन्। उनले मुसा मार्न तीन जनाको टोली नै बनाएका छन्।

राजबहादुर, भागिराम पनि दिउँसोको खाना बोकेर मुसा मार्न काँधमा फरुवा राखेर बिहानै बन्धुरामसँगै निस्कन्छन्। साँझ अबेरसम्म मुसा मारेर तीनै जना घर फर्किन्छन्।उनीहरू मुसा मारेर त्यसबाट चटनी, टिना (तरकारी), पकुवा (ओगोमा पोलेको) लगायत परिकार बनाएर खान्छन्। 

पाहुनालाई अन्य परिकारसँगै मुसाका परिकार पस्किने चलन थारू समुदायको पुरानै हो।

 ‘मुसाको परिकार भएन भने खाना खाएकै रुच्दैन’, बुधरामले भने, ‘‘मुसा मार्ने परम्परा पुर्खौदेखि चल्दै आएको छ। त्यसलाई निरन्तरता दिएका छौँ।’ धान काटेर खाली भएका खेतमा मुसा पाइने गरेका छन्। दिनमा २० देखि ३० वटा मुसा मारेर ल्याउने गरेको उनी बताउँछन्। ‘मुसा धेरै मिले बाँडेर घरमै लैजान्छौँ’, भागिरामले भने, ‘थोरै भए खेतमै आगोमा पोलेर पकुवा बनाएर खाएर फर्कन्छौँ।’ 

बुबाबाजेसँग अण्डैया पटैयामा मुसा मारेर ल्याएको सम्झना अङ्गनु चौधरीसँग छ। अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रपर्ने अण्डैया पटैया पहिला निकै ठूलो गाउँ थियो। निकुञ्ज विस्तारका क्रममा त्यो गाउँ अहिले निकुञ्जभित्र पर्‍याे।  मुसा पाइने क्षेत्रका रूपमा परिचित थियो। समूह बनाएर मुसा मार्न खेत खन्न जानेको सङ्ख्या निकै बढी हुन्थ्यो। ‘एक जनाको हिस्सामा ५० देखि ६० वटासम्म मुसा आउँथे’, उनी  भन्छन्, ‘अहिले मुसाको सङ्ख्या निकै कम छ, दिनभर खन्दा पनि मुस्किलले थोरै मुसा पाइन्छ।’

अङ्गनुका अनुसार पहिला मुसा मार्नका लागि ओद्रा, खप्का, छन्नक्या लगाउने परम्परागत चलन थियो। समुहमा मुसा मार्न गए फरुवाले मुसाको दुलो खनेर र दुलोमा पानी खन्याएर मार्ने गरिन्छ। यी मुसा मार्ने विधि भने अहिले पनि चलनचल्तीमा छन्।

थारू समुदायमा मुसा शिकार (मार्ने) गर्ने कार्य सामूहिक र एकल रूपमा पुस्तौँदेखि चल्दै आएको छ। ‘पहिले मुसाको शिकार गर्न गाउँगाँउबाट हुलका हुल जाने गर्थे’, रामबहादुर चौधरीले भने, ‘हाल थोरै जनाले मात्रै मुसा मार्न जाने गर्दछन्, युवाले मुसा मार्न नै छाडिसके।’ थारू युवाहरू व्यावसायिक कार्यमा व्यस्त हुन थालेपछि पहिलाजस्तो मुसा मार्ने कार्य नहुने उनको भनाइ छ।

थारू समुदायले विशेषगरी गहुँबाली र धानबाली भित्र्याइसकेपछिको समय मुसाको सिकार गर्न जान्छन्। यसबेला खेतमा अन्नपात नहुने र वर्षाको मौसम समाप्त हुनेहुँदा सहज रूपमा मुसाको शिकारकार गर्न सकिन्छ। पहिला वन क्षेत्रमा समेत थारू समुदायका मानिस मुसा मार्न जाने गरेका थिए। 

हाल वन क्षेत्रमा मुसालगायत अन्य जीवजन्तुको शिकार गर्न प्रतिबन्ध लागेपछि उनीहरूखेतमै मुसा मार्ने कार्य गर्दै आएका छन्। थारू समुदायले विल खोदुवा, छपर, गोर्नी, खरकट्टी, चिड्डीलगायत जातका मुसाको शिकार गर्छन्। 

सिकार गरिएका मुसामा भाले (मुसण्डा), पोथी (मुसण्डी), वयस्क हुन लागेको बोर्टु, आँखा नखुलेको लाललाल बच्चा रहन्छन्। दुलो खन्ने क्रममा मुसाले धान, गहुँका बाला दुलोमै थुपारेर राख्ने गरेकाले दिनभरमा एक बोरा जति धान, गहुँका बाला पनि सङ्कलन हुने गरेको थारू समुदायका बूढापाका बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad