किशोर किशोरीदेखि वृद्धवृद्धा सबै गर्मीले असिनपसिन छन्। पालो कुर्न बनाइएको लाइन असरल्ल छ। ‘मेरो पालो, मेरो पालो’ भन्दै कराउनेको कारण वातावरण कोलाहलपूर्ण छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सेवाग्राही खचाखच भरिएका छन्। कतिपय भुइँमै निधाएका देखिन्छन्। दुधे बच्चा बोकेर पुगेका कतिपय आमाहरु गर्मी हम्किँदै पालो कुरेर बसिरहेका छन्।
प्रशासनस कार्यालयकोे बरण्डा, भुइँ, सिँढी जताजतै मानिसको भीडभाडले खुट्टा टेक्न ठाउँ पाउनै मुस्किल छ। कोही रुखको छहारीमा ओत लागेका छन्। कतिपय हातमा नागरिकता बोकेर भीडमा ठेलमठेल गर्दै यताउता गरिरहेका छन्।
राष्ट्रिय परिचय पत्र बनाउनेको असरल्ल भीडभित्र घुस्न खोजिरहेको अवस्थामा भेटिए, बेदकोट नगरपालिका–१० चतरीका ७६ वर्षीय सर्पसिंह कठायत। दार्ही फुलेर सेतै भएका उनी राष्ट्रिय परिचय पत्र बनाउनका लागि तीनदिन देखि प्रशासन कार्यालय धाइरहेका छन्।
भीडभाडले ढिलो हुन्छ भनेर आइतबार बिहान उनले खाना खाएनन्। सबेरै उठेर खाना टिफिनमा राखेर उनी अटो चढेर प्रशासन आए। बिहान ८ बजे प्रशासन पुगेका उनले परिचय पत्रका लागि फोटो खिचाउन पाएका छैनन्।
राष्ट्रिय परिचय पत्रका लागि अनलाइनमार्फत भरिएको फाराम र नागरिकता उनले हातमै बोकेका छन्।
‘तीन दिनदेखि प्रशासन आउँदैछुँ। भीडभाडले फाराम नै बुझाउन सकेको छैन,’ सर्पसिंहले भने्, ‘अझै कति दिन लाग्ने हो थाहा छैन। बिहान खाना नखाएर यतै खान बोकेर ल्याएको छु।’
शुक्लाफाँटा नगरपालिका–४ आशापुरका ७१ वर्षीय दीर्घबहादुर लुहारको खेतमा रोपाइँ सुरु भइककेको छ। तर उनी रोपाइँ छोडेर आइतबार बिहान जिल्ला प्रशासन कार्यालय पुगे।
राष्ट्रिय परिचय पत्र बनाउन दीर्घबहादुर र उनकी श्रीमती ५० वर्षीया जानकीदेवी प्रशासन कार्यालय आएका हुन। ‘एक पटक नागरिकता बनाउन सास्ती खेप्नुप¥यो। नागरिकता त छँदै थियो, अहिले राष्ट्रिय परिचय पत्र पाउनका लागि सास्ती भोगिरहनु परेको छ,’ दीर्घबहादुरले भने, ‘यो भएन भने भत्ता पाइदैन भन्छन्। बनाउनै पर्याे।’
गत जेठ २४ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। त्यसपछि गृह मन्त्रालयले पहिलो चरणमा २८ जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गरी ज्येष्ठ नागरिकहरूले असार मसान्तभित्र परिचयपत्र बनाउन समय तोकेको छ। नभए सामाजिक सुरक्षाभत्ता रोक्ने चेतावनी गृहले दिएको छ।
पहिलो चरणका २८ जिल्लामा कञ्चनपुर कैलाली पनि परेका छन्। त्यसैले सुदूरपश्चिमका तराईका यी दुई जिल्लामा राष्ट्रिय परिचय पत्र बनाउनेहरुको प्रशासन कार्यालयमा चाप बढेको छ। जसमा अधिकाँश जेष्ठ नागरिक छन्।
प्रशासन कार्यालयहरुमा जनशक्ति अभाव छ। परिचय पत्रको लागि सेवाग्राहीको चाप बढेपनि जनशक्ति थप भएको छैन। तीव्र गतिमा सेवा प्रवाह हुन नसक्दा ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकहरूलाई सास्ती भएको छ।
‘परिचयपत्रका लागि निकै दुःख रहेछ। गर्मीमा भोकभोकै दिनभर लाइनमा बस्नुपर्छ। अन्तिममा पालो नआए खाली हात घर फर्कनु परेको छ,’ वाणीकी ८२ वर्षीया नरपता कमलाकारले भनिन्।
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरमा राष्ट्रिय परिचय पत्रका लागि दैनिक सयौँ मानिस आइरहेका छन्। त्यसमा अधिकांश जेष्ठ नागरिक छन्। कतिपय विदेश जाने तयारी गरिरहेका किशोरकिशोरी पनि रहेका छन्।
आएकामध्ये दैनिक तीन सय ५० जनाको मात्रै राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्न सकिएको कन्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए।
सेवाग्राहीको चाप बढेपछि सेवामा तीव्रता दिनका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सेवा दिइरहेको उनको भनाइ छ। ‘प्रशासनलाई राष्ट्रिय परिचय पत्रको जिम्मेवारी थपिएको छ। तर जनशक्ति थप भएको छैन। सेवाग्राहीको अत्याधिक चापले चाहेजती चाँडो सेवा दिन सकिएको छैन,’ उनी भन्छन्, ‘अहिलेकै जनशक्तिलाई प्रयोग गरेर सेवामा तीव्रता दिइरहेका छौँ।’
उनका अनुसार सुरुमा दैनिक एक सयदेखि एकसय ५० जनालाई मात्रै परिचय पत्रको सेवा प्रदान गर्न सकिएको थियो। अहिले त्यो संख्या बढेर दैनिक तीन सय भन्दा बढीलाई सेवा प्रदान भइरहेका छ।
राष्ट्रिय परिचय पत्र बाँड्न खटिएको टोलीलाई पनि फोटो खिच्नका लागि प्रशासनमै खटाउने तयारी भइरहेको छ। यस्तै, स्थानीय तहसँग समन्वय गरेर कर्मचारी थपेर शनिबार पनि सेवा दिएर दैनिक एक हजार भन्दा बढीलाई सेवा दिने लक्ष्यका साथ प्रशासन अघि बढेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए।
नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको विद्युतीय चिप्स र सुरक्षणसहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो, राष्ट्रिय परिचयपत्र।
वि.सं. २०७६ सालमा राष्ट्रिय परिचय पत्रका टोली वडा वडामा परिचालन भएको थियो। राष्ट्रिय परिचय पत्रका लागि सुरुमा अनलाइन फाराम भर्नुपर्छ। जेष्ठ तथा अपांगता भएका नागरिकको प्रशासनले फाराम भर्ने व्यवस्था गरेको छ।
त्यसपछि प्रशासनले ती फारम संकलन गरेर नम्बरिङ गरेर फोटो खिच्नका लागि बोलाउने गरेको छ। कागजात रुजु गरेर खटिएका कर्मचारीले सबै कागजात मिलेको भए फोटो खिच्छन्।
नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, बसाईँसराई गरेको हकमा बसाईँसराईको सक्कल प्रमाणपत्र र विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खुलेको भएमा सोही प्रमाणपत्र अन्यथा विवाह दर्ता, विवाह प्रमाणित÷नाता प्रमाणितको सक्कल प्रमाणपत्र आवश्यक पर्छ।
यस्तै, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाण तथा विवरण पुष्टि हुने अन्य कागजातहरु आवश्यक पर्छ।
परिचयपत्र लागू भएपछि सरकारबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा परिचयपत्र पेश गर्नुपर्छ। साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्र कार्ड आवश्यक छ।
हेर्नुहाेस् तस्बिर
Shares
प्रतिक्रिया