धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतको गाडीबाट आठ लाख रुपैयाँ घुस रकम बरामद भएपछि स्थानीयवासी आन्दोलनमा उत्रेका छन्।
कमिसनको रकम फालेर गाडीबाट हाम फाल्दै फरार भएका गाउँपालिका अध्यक्ष राउतलाई पक्राउ गरी कडा कारबाही गर्न स्थानीय राजनीतिक दल, नागरिक समाजसहित गाउँबासी मंगलबार बिहानदेखि आन्दोलनमा उत्रेका हुन्।
उनीहरुले गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दै विभिन्न मागसहित धर्नामा बसेका छन्। नेकपा प्रचण्ड माधव समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायत नागरिक समाज र गाउँबासी गाउँपालिका कार्यालय अध्यक्षको कार्यकक्ष, योजना, प्रशासन, लेखा लगायत शाखा तथा मूलगेटमै तालाबन्दी गरेका हुन्।
फरार गाउँपालिका अध्यक्ष राउतलाई तत्काल पक्राउ गरी कारबाही गर्न तथा सम्पति शुद्धीकरण, गाउँपालिकाको हरहिसाब सार्वजनिक, छानविन लगायतका माग राखेर आन्दोलनमा उत्रेका हुन्।
उनीहरुले गाउँपालिकाको भित्ता र ढोकामा ८ लाख घुस लिने घुसखोरी राउत मुर्दावाद, सम्पूर्ण विकासे योजना सार्वजनिक गर, भ्रष्टाचारी गाउँपालिका अध्यक्ष राउतलाई कारबाही गर लगायतको नारासमेत कागजमा लेखेर टाँसेका छन्।
बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले व्यापक कमिसन लिएको आरोप लगाउँदै उनीहरुले हरेक विकासे योजनाको फाइल नियन्त्रणमा लिई थप अनुसन्धान गर्न अख्तियारसँग माग गरेको स्थानीय युवा राममणि कुशवाहाले बताए।
‘एउटै योजनाको अन्तिम भुक्तानमीमा मात्र ८ लाख रुपैँया लिएका छन्। अध्यक्ष राउतले सुरुदेखि नै उपभोक्ता समिति, कर्मचारी र ठेकेदारलाई थर्काएर मोटो रकम कमिसन लिँदै आएका थिए’ आन्दोलनमा सहभागी स्थानीय नेकपा नेता कुशेश्वर महतोले भने, ‘अध्यक्ष राउतले भ्रष्टाचार गरी गाउँमा तथा काठमाडौंमा आफन्तको नाउमा करोडौं मूल्य बराबरको जग्गा जोडेका छन्। सम्पति शुद्धीकरण पनि हुनुपर्छ।’
व्यापक भ्रष्टाचारको आरोप लाग्दै आएका अध्यक्ष राउत कारबाहीबाट बाँच्नकै लागि नेकपा ओली पक्षमा लागेको स्थानीयको भनाइ छ।
तालाबन्दी र स्थानीयको धर्नाले गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले गाउँपालिका अध्यक्ष राउतले लिएको ८ लाख घुस रकम सोमबार साँझ बरामद गरको थियो भने उनी चढ्ने गाउँपालिकाको प्रदेश २–००२–००१ झ ०००२ नम्बरको गाडी र चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको थियो। गाउँपालिका अध्यक्ष राउत भने गाडीबाट कुदेर भाग्न सफल भएका छन्।
यसरी बरामद भयो ८ लाख घुस रकम र भागे अध्यक्ष
अध्यक्ष राउत मंगलबार ४ बजे गाउँपालिकाको भवन निर्माण योजनाको भुक्तानीमा ८ लाख रुपैयाँ कमिसन लिन धनुषाको महेन्द्रनगर पुगेका थिए। गाउँपालिकाकै गाडी चढेर पुगेका उनले कमिसन लिएपछि अख्तियारले पछ्याएको थाहा पाएर भाग्न खोजे।
भाग्ने क्रममा औहरी खोलाको किनारमा उनले पैसा भएको झोला फालेका थिए। चालकले तीव्र गतिमा गाडी कुदाएर अध्यक्ष राउतलाई बाटोबाटै भाग्न सघाए। त्यसपश्चात भाग्दै गर्दा गाउँपालिकाको कार्यालय पछाडिबाट गाडी र चालकलाई अख्तियारले नियन्त्रणमा लिएको थियो।
फरार गाउँपालिका अध्यक्ष राउतको खोजी भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया