समाज


पत्रकार पुडासैनी आत्महत्या प्रकरणः न्युज २४ को टेलिफोनबाट अस्मितालाई पटक–पटक सम्पर्क

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः न्युज २४ को टेलिफोनबाट अस्मितालाई पटक–पटक सम्पर्क

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ५:२८,

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिन गरिरहेको प्रहरीले रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीको कल डिटेल निकालेर विश्लेषण गरेको छ।

प्रकरणको केन्द्रमा रहेकी युवती अस्मिता कार्कीको मोबाइलमा ‘सिधा कुरा जनतासँग’को प्रसारण संस्था न्युज २४ को ल्याण्डलाइन नम्बरबाट पटक–पटक सम्पर्क भएको देखिएको छ।

‘सिधा कुरा जनतासँगको प्रसारण संस्था न्युज २४ को टेलिफोन नम्बरबाट रुक भनिने अस्मिता कार्कीसँग पटक–पटक सम्पर्क भएको देखिएको छ। शालिकरामले न्युज २४ छोडिसकेको अवस्थामा समेत यसरी सम्पर्क हुँदा बढीमा ५ मिनेटसम्म कुराकानी गरेको भेटिएको छ’, घटना अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले नेपालखबरसँग भने।

पत्रकार शालिकराम पुडासैनीले ‘सिधाकुरा जनतासँग’ छोडेर माउन्टेन टेलिभिजन गइसकेपछि पटक–पटक सम्पर्क देखिएको विषयलाई अनुसन्धान अधिकारीहरुले अर्थपूर्ण रुपमा लिएका छन्।

स्रोतहरुका अनुसार रवि लामिछानेको मोबाइलबाट सिधै अस्मितालाई सम्पर्क गरिएको छैन। रविले सामान्यतः आफ्नो मोबाइलबाट कसैसँग पनि कुराकानी गर्दैनन्। फोन समेत रिसिभ गर्दैनन्। उनले सहयोगीमार्फत् मात्र मान्छेहरुसँग टेलिफोन कुराकानी गर्छन्।

रविको बयानमा के छ?
शालिकरामलाई आत्महत्या गर्न दुरुत्साहन गरेको कसुरमा चितवन प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रविले सरकारी वकिलको रोहबरमा प्रहरी समक्ष बयान दिएका छन्।

बयानमा उनले सबै किसिमका आरोप इन्कार गरेका छन्। पत्रकार पुडासैनीको आत्महत्यामा आफ्नो संलग्नता, योजना तथा सम्पर्क केही नरहेको उनको दाबी छ।

‘घटनाकी केन्द्रीय पात्र भनिएकी रुकु भनिने अस्मिता कार्कीलाई म चिन्दिनँ। उनीसँग कुनै किसिमले सम्पर्क पनि गरेको छैन’, उनको बयान उदृत गर्दै चितवन जिल्ला सरकारी वकिल कार्यालय स्रोतले नेपालखबरसँग भन्यो।

शालिकरामसँग न्युज २४ टेलिभिजन छोडेपछि कुनै सम्पर्क नभएको रविले बयानमा उल्लेख गरेका छन्। ‘मैले शालिकरामलाई कुनै किसिमको धाकधम्की दिएको छैन। घटनामा मेरो कुनै संलग्नता छैन’, रविले बयानमा भनेका छन्।

प्रहरीले घटना केन्द्रित रहेर तयार पारेका प्रश्नावली रविलाई सोधेको थियो। उनले सबै आरोपहरुको इन्कारी बयान दिए।

‘भिडियोमा के छ थाहा छैन’
रविसँगको बयानमा शालिकरामले मृत्यु पूर्वको बयान (डाइङ डिक्लिरेसन) मा उनको नाम र आरोपका विषयमा समेत प्रश्न सोधेको थियो। उनले सो भिडियोबारे आफूलाई कुनै जानकारी नभएको बयानमा उल्लेख गरेका छन्।

‘न्युज २४ छोडेर गएपछि मेरो शालिकरामसँग कुनै किसिमको सम्पर्क भएको छैन। भिडियोमा उनले मेरोबारेमा के बोलेका छन् त्यो मैले हेर्न पाएको छैन। त्यस विषयमा मलाई केही जानकारी भएन’, उनले बयानमा भनेका छन्।

शालिकराम आत्महत्या प्रकरणमा भिडियो सार्वजनिक भएपछि लामिछानेसहित तीनै जना पक्राउ  परेका हुन्। अर्थात् उनी प्रहरी हिरासतमा जानुअघि नै भिडियो बाहिरिएको हो।

भिडियो सार्वजनिक भएसँगै उनले फेसबुकमा स्ट्याटस लेखेरै शालिकरामले लगाएका आरोपको खण्डन गरेका थिए। ‘आरोप लगाउने मरेर गए पनि आरोप खेप्ने म जिउँदै छु। मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्’, उनले  भनेका थिए, ‘थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठूलो भ्रम परेछ।’

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भइसकेको छ। प्रहरीले यसअघि नै उनको मोबाइल सञ्चालन भएयताका सबै डाटा रिकोभर गरिसकेको छ। पुडासैनी मृत्यु घटनाको अनुसन्धानकै लागि भनेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी दीपक रेग्मी चितवनमै छन् ।

आइतबार मुद्दा बुझाउने तयारी
प्रहरीले दोस्रो पटक लिएको पाँच दिनको अनुसन्धान म्याद आइतबार सकिँदैछ। अनुसन्धान अधिकारीहरुले सोही दिन मुद्दा अदालतमा बुझाउने तयारी गरिरहेको जनाएका छन्। रविको विषयमा देशभर घटनाक्रम बढेपछि प्रहरीलाई चाँडो मुद्दा बुझाउन दवाब परेको छ।

प्रहरीले आरोपीको बयान, महत्वपूर्ण कल डिटेल, डिजिटल फरेन्सिक ल्याब(डिएफएल) को प्रतिवेदन र पोष्टमार्टम रिपोर्टलाई प्रमाण बनाउँदै मुद्दाको तयारी गरेको हो।

२०७५ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यही कानुनका आधारमा प्रहरीले रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्कीलाइ नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

सम्बन्धित लिंक:

१. रवि लामिछाने पक्राउपछि हुनुपर्ने बहस के हो?

२. 

३. 

४. 

५. 

६. 

७. 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .